आईएलटीएसको प्रश्नपत्र ‘किनबेच’ गरेको प्रमाणित, पुस २२ को परीक्षा रद्द


१४ माघ २०७४, आईतवार
ilt

काठमाण्डौं, १४ माघ : ब्रिटिस काउन्सिल र आइडीपीले काठमाण्डौंमा लिने अंग्रेजी भाषा परीक्षाको प्रश्नपत्र परीक्षा अगावै ‘किनबेच’ गरेको पुष्टि भएको छ ।ilt

आईएलटीएस परीक्षामा सोधिएका प्रश्न र लाखौं रुपैयाँ लिएर ‘लिक’ गरिएको प्रश्नलाई दाँजिएको र अधिकांश प्रश्नहरु मिल्न गएको अनुसन्धान जुटेका प्रहरीले जानकारी दिएका छन् । ती प्रहरी अधिकारीका अनुसार आईएलटीएस परीक्षाको प्रश्नमा लिसनिङतर्फ ४० वटामध्ये ३८ वटा हुबहु मिलेको छ । ‘राइटिङतर्फ हुने दुवै प्रश्न पनि मिलेको पाइयो’–अनुसन्धानमा खटेका एक प्रहरी अधिकारीले भने । यसअघि गत २१ पुसमा प्रहरी परिसर, काठमाण्डौंले सुन्धारामा प्रश्नपत्र लेनदेन हुँदै गर्दा एक कन्सल्टेन्सीका सञ्चालक र विद्यार्थीसहित १३ जनालाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट २२ पुसमा आईएलटीएस परीक्षाको मिति तोकिएको थियो ।

प्रहरीका अनुसार आईएलटीएस परीक्षाको प्रश्नपत्रको तीनवटा खण्डमध्ये दुई खण्डको मिलेपछि २२ पुसमा लिइएको परीक्षा रद्द गर्न प्रहरीले पत्र काटेको र अदालतमा समेत बुझाएको छ । प्रहरीले शनिबार आईएलटीएस परीक्षा लिने ब्रिटिस काउन्सिल र आईडिपीको प्रश्नपत्र र ‘लिक’ भएको प्रश्नपत्रलाई दुवैको रोहवरमा दाँजेको थियो । यता प्रहरी स्रोतका अनुसार काउन्सिलले घटना अनुसन्धानमा सहयोग गर्नुको साटो उल्टै प्रहरीलाई प्राप्त भएको प्रश्न आफूहरुलाई दिन भनेको थियो । काउन्सिलले आफैं अनुसन्धान गर्ने भन्दै प्रहरीलाई असहयोग जनाइएको छ । ‘हामीले काउन्सिलले प्रश्नपत्र उपलब्ध नगराए अरु परीक्षा पनि रोक्नु पर्ने व्यवहोराको पत्र पठाएका थियौं । त्यसपछि निकै कसरतबाट प्रश्न प्रहरीलाई प्राप्त भयो’–एक प्रहरी अधिकारी भन्छन्–‘ब्रिटिस काउन्सिलका जिम भनिने एक विदेशी नागरिक र आईडीपीका विदुर खड्कीलाई ल्याएर बयान समेत लियौं । तर, उनीहरुको संलग्नता देखिएन ।’

यसरी लिक भयो प्रश्नपत्र

आईईएलटीएस परीक्षाको प्रश्नपत्र आउट भइरहेको छ भन्ने सुराकीका आधारमा २२ पुसमा काठमाडौं प्रहरी परिसरले अपरेशन चलायो । अनुसन्धानका क्रममा सुन्धारास्थित होटल सप्तरङ्गीको कोठा नं. ३१० मा बिहान ४ बजे आर्थिक ‘डिलिङ’ हुँदाहुँदै प्रहरीले १३ जनालाई पक्राउ गर्न सफल भयो ।

पक्राउ परेकामध्ये ३ जना कन्सल्टेन्सी सञ्चालक थिए । बयानपछि ८ जनालाई छाडियो भने घटनामा प्रत्यक्ष संलग्न देखिएका ३ जनामाथि प्रहरीले अनुसन्धान थाल्यो । झापा घर भई बालुवाटार बस्दै आएका ३९ वर्षीय सुरज लामा, महेन्द्रनगर–७, हल्दुखाल घर भइ काठमाण्डौंको लैनचौर बस्ने २० वर्षीय गणेशराज उपाध्याय र स्याङ्जाको चापाकोट–९ घर भई हाल काठमाण्डौंको सामाखुशी बस्दै आएका २० वर्षीय विधान आचार्यबिरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान शुरु ग¥यो । पक्राउ परेका लामा पुलतीसडकमा सञ्चालित नेपाल वल्र्डवाइड एजुकेशन कन्सल्टेन्सीका सञ्चालक हुन् ।

सुरजले भाइबरमा प्रश्नपत्र पाएपछि कञ्चनपुरको महेन्द्रनगर–७, हल्दुखाल घर भइ काठमाण्डौं लैनचौर बस्ने २० वर्षीय गणेशराज उपाध्यायलाई प्रश्नपत्र भाइबरमार्फत पठाएका थिए । उपाध्यायले स्याङ्जाको चापाकोट–९ घर भई हाल काठमाण्डौं सामाखुशी बस्दै आएका २० वर्षीय विधान आचार्य र रुपन्देहीका निकेश न्यौपानेलाई त्यो प्रश्नपत्र पठाएका थिए । उनीहरुले आईईएलटिएस परीक्षाको प्रश्नपत्र विद्यार्थीलाई दिने प्रलोभन देखाएर १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म लिएको प्रहरी अनुसन्धानले देखाएको छ । भारतका काउन्सिल एजेन्ट हनी सिंहले प्रश्नपत्र पठाएको पाइएपछि प्रहरीले थप अनुसन्धानका लागि दिल्ली प्रहरीमा समेत उजुरी हाल्न ब्रिटिस काउन्सिललाई पत्र लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७