८५ वर्षका वृद्ध दलाई लामासँग किन भड्किएको छ चीन ? को हुन् दलाई लामा ?


२२ असार २०७७, सोमबार
dalai lama

काठमाडौं, २२ असार । बौद्ध धर्मगुरु दलाई लामा सोमबार ८५ वर्षको भए । उनी ६१ वर्ष पहिले सन् १९५९ मा तिब्बतबाट भाग्नु परेको थियो ।

त्यसयता उनी भारतमा बस्दै आएका छन् । हाल भारत र चीनबीच जारी सीमा विवादबीच दलाई लामाको यो ८५ औं जन्मदिनलाई चासोका साथ हेरिएको छ । गलवान उपत्यकामा दुई देशका सेनाबीच भएको झडपपछि चीनले दलाई लामामाथिको आफ्नो नीति फेरि परिवर्तन गर्नेसक्ने अनुमान गरिएको छ ।

के भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई सार्वजनिक रुपमा बधाई दिन्छन् ? मानिसहरुले यस विषयमा मोदीमाथि पनि आफ्नो नजर राखेका छन् । हालै तिब्बतका निर्वासित राजतीतिज्ञ डाक्टर लोबसाङ्ग सांगेयले भारतले चीन सामु तिब्बतको मुद्दा उठाउनुपर्ने माग गरेका थिए ।

सन् १९५९ मार्च ३१ मा दलाई लामा भारतको शरण लिन आइपुगेका थिए । १७ मार्चमा तिब्बतको राजधानी ल्हासाबाट पैदल हिँडेका लामा हिमाली क्षेत्रको पहाड पार गर्दै १५ दिनपछि भारतीय सीमामा पुगेका थिए । यात्राका दौरान उनको र उनका सहयोगीको कुनै खबर आएन । उनको मृत्यु भएको आशंका पनि गरिएको थियो । दलाई लामाको साथमा केही सैनिक र केही मन्त्रीहरु आएका थिए । चिनियाँ सेनाको नजरबाट बच्न उनीहरु राति मात्र हिंड्थे।

को हुन् दलाई लामा ?
दलाई लामा ८५ वर्षका तिब्बती आध्यात्मिक नेता हुन् । आखिर ८५ वर्षका एक वृद्धसँग चीन किन यति धेरै भड्किएको छ ? जुन देशमा दलाई लामा जान्छन् त्यहाँको सरकारसँग चीन किन रुष्ट हुन्छ ? आखिर किन यस्तो भएको हो ?

वास्तवमा चीनले तिब्बतमा आफ्नो दाबी प्रस्तुत गर्दछ । चीनले दलाई लामालाई अलगाववादी मान्दछ । लामा चीनको लागि समस्या भएको बेइजिङको ठहर छ ।

सन् २०१० मा दलाई लामा अमेरिका पुगेका थिए । चीनले विरोध गरेता पनि तत्कालिन राष्ट्रपति बाराक ओबामाले लामालाई भेटेका थिए । चीन र दलाई लामाको इतिहास नै चीन र तिब्बतको इतिहास हो । सन् १४०९ मा जे सिखांपाले जेलग विद्यालयको स्थापना गरेका थिए र सोही विद्यालयबाट बौद्ध धर्म प्रचार गर्ने गरिन्थ्यो ।

विद्यालय भएको स्थान चीन र भारतको बीचमा थियो जसलाई तिब्बत भनिन्थ्यो । यस विद्यालयका सबैभन्दा चर्चित छात्र थिए गेन्दुन द्रुप.गेन्दुन जो पछि दलाई लामा बने । बौद्ध धर्मका अनुयायीले दलाई लामालाई प्रतिनिधि पात्रको रुपमा हेर्दछन् । दलाई लामालाई करुणको प्रतिकको रुपमा पनि हेरिन्छ ।

दोस्रोतर्फ यिनका समर्थकले दलाई लामालाई आफ्नो नेताको रुपमा हेर्छन् । दलाई लामालाई मुख्य रुपमा शिक्षकको रुपमा हेरिन्छ। लामाको मतलब गुरु हुन्छ भने लामाले आफ्ना मानिसलाई सही बाटोमा हिँड्न प्रेरणा दिन्छ । तिब्बती बौद्ध धर्मका नेताले विश्वभरका सबै बौद्ध धर्मावलम्बीलाई मार्गदर्शन गर्दछन् ।

सन् १६३० को एकीकरणको समयदेखि नै बौद्ध धर्मावलम्बी र तिब्बती नेतृत्वबीच विवाद छ । मान्चु, मंगोल र ओइरात गुटबीच तिब्बतमा सत्ताको लागि लडाइँ हुँदै आएको छ । अन्ततः पाँचौ दलाई लामाले तिब्बत एकीकरण गर्न सफल भए । यसपछि तिब्बत साँस्कृतिक रुपमा सम्पन्न बनेको थियो । तिब्बत एकीकरण भएपछि यहाँ बौद्ध धर्मको समृद्धि भयो । जेलग बौद्ध धर्मावलम्बीले हालका १४ औं दलाई लामालाई पनि मान्यता दिए ।

चीन र दलाई लामाबीचको समकालीन सम्बन्ध
दलाई लामाको छनौट प्रक्रियाको विषयमा विवाद छ । १३ औं दलाई लामाले सन् १९१२ मा तिब्बतलाई स्वतन्त्र घोषणा गरेको थियो । त्यसको ४० वर्षपछि चीनले तिब्बतमाथि आक्रमण गरे । चीनले त्यसबेला आक्रमण गरेको थियो जुनबेला १४ औं दलाई लामा छनौट प्रक्रिया चलिरहेको थियो । उक्त लडाइँमा तिब्बत हार्‍यो ।

केही वर्षमै तिब्बतका नागरिकले चिनियाँ शासकविरुद्ध विद्रोह गरे । उनीहरुले स्वतन्त्रता र सार्वभौमिकताको माग गरेका थिए । तर विद्रोह सफल हुन सकेन । दलाई लामाका अनुयायीहरुलाई चीनको चंगुलमा पूर्ण रुपमा परियो भन्ने लाग्यो । त्यसपछि उनीहरु भारत भागे ।

हालका दलाई लामासँग सन् १९५९ मा धेरै तिब्बती नागरिकहरु पनि भारत आएका थिए ।
दलाई लामालाई भारतले शरण दिएको विषय चीनलाई राम्रो लागेन । त्यसबेला माओत्से तुंग चीनका शासक थिए ।

दलाई लामा र चीनको कम्युनिस्ट शासनबीच लगातार तनाव बढ्दै गयो । उता दलाई लामालाई भने विश्वभरबाट सहानुभूति प्राप्त भयो । हालसम्म पनि १४ औं दलाई लामा निर्वासित जीवन व्यतित् गरिरहेका छन् ।

दलाई लामाको छवि शान्तिको प्रतीक बन्यो
सन् १९८९ मा दलाई लामालाई शान्तिको लागि नोबल पुरस्कार प्रदान गरियो । दलाई लामा यतिबेला तिब्बतले चीनबाट स्वतन्त्रता नचाहने तर स्वायत्तता चाहने बताउँछन् ।

सन् १९५० को दशकमा दलाई लामा र चीनबीच सुरु भएको विवाद अझै अन्त्य भएको छैन । दलाई लामाको विषयमा चीन र भारतबीचको सम्बन्ध बारम्बार खराब हुँदै आएको छ । तिब्बतको सन्दर्भमा भारतको दृष्टिकोण पनि परिवर्तन हुँदै आएको छ । बीबीसी हिन्दी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७