एक वर्षदेखिको अन्योल अन्त्य, बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस


२३ असार २०७७, मंगलवार
9ae36efd2b74be40aa868970897a7344 w1000 h500 cp

काठमाडौं, २३ असार । बैंकका सहायक कम्पनीले अन्ततः ब्रोकर लाइसेन्स पाउने भएका छन् ।
योसँगै एक वर्षदेखि हुँदै आएको विवाद अन्त्य भएको छ ।

संघीय संसदको अर्थ समिति बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने सम्बन्धमा अध्ययन गर्न गठन गरेको समितिले बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन हुने सुझावसहितको प्रतिवेदन मंगलबार समितिलाई बुझाएको हो ।

नेपाल धितोपत्र बोर्डको नीतिगत व्यवस्था अनुसार बैंकहरुले ब्रोकरको काम गर्ने सहायक कम्पनी खोलेर नेप्सेहुँदै नेपाल राष्ट्र बैंकसँग समेत स्वीकृति लिइसकेको अवस्थामा अर्थ समितिले तत्काल लाइसेन्स दिने प्रक्रिया अघि नबढाउन भन्दै नेप्सेलाई निर्देशन दिएको थियो । अर्थ समितिको निर्देशनसँगै नेप्सेले लाइसेन्स दिने प्रक्रिया स्थगित गरेको थियो ।

सो प्रक्रिया स्थगित भएसँगै समितिले अध्ययन गर्न उपसमिति गठन गरेको थियो । २ महिनाभित्र प्रतिवेदन बुझाउने म्यान्डेड दिएको उपसमितिले ११ महिनापछि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिए फरक नपर्ने आशयसहितको प्रतिवेदन बुुझाएको उपसमितिकी संयोजक रामकुमारी झाँक्रीले जानकारी दिएकी छिन् ।

शुरुमा त्यसरी बैंकलाई लाइसेन्स दिँदा इन्साइडर कारोबार हुनसक्ने आशंका गरिएको थियो । उदाहरणका लागि कुनै बैंकले उच्च लाभांश घोषणा गर्दैछ, तर लाभांश घोषणाको त्यो जानकारी बाहिर नै नल्याइकनै बैंकका सञ्चालकहरुले बैंकको शेयर बजारबाट उठाउन थाले भने त्यस्तो गतिविधिले इन्साइडर ट्रेडिङ गर्नेलाई अनधिकृत लाभ हुने तर साधारण लगानीकर्तालाई भने घाटा हुने औंल्याइएको थियो ।

तर उपसमितिको अध्यनले त्यस्तो सम्भावना नरहने देखेको हो । लगानीकर्ताहरुले भने बजारको विकासका लागि तत्कालै त्यस्ता कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने बताएका थिए । ढिलै भए पनि उपसकितिले यस्तो प्रतिवेदन दिएपछि अब बजारमा नयाँ ब्रोकर थपिने र यसले पुँजीबजारको विकासमा तीव्रता आउने विश्वास लगानीकर्ताहरुले गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७