व्यवसायी हेमबहादुर गुरुङद्धारा वैदेशिक रोजगार बोर्डको नियुक्ती अस्वीकार


२३ असार २०७७, मंगलवार
Hem Gurung

काठमाडौँ, २३ असार । वरिष्ठ म्यानपावर व्यवसायी हेमबहादुर गुरुङले वैदेशिक रोजगार बोर्डको सदस्य पद अस्वीकार गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको असार १८ गतेको निर्णयानुसार गुरुङलाई बोर्ड सदस्यको रुपमा दोस्रो पटक नियुक्त गरेको थियो ।

गुरुङले मंगलबार मन्त्रीलाई पत्र लेखेर बोर्डको सदस्य पदमा नबस्ने जानकारी गराएका छन् । उनले कोभिडको कारण वैदेशिक रोजगारको क्षेत्रमा जटिलता देखिएको र व्यक्तिगत अस्वस्थताको कारणले सदस्य पदमा रहेर काम गर्न असमर्थ रहेको भन्दै श्रम मन्त्रालयलाई पत्र बुझाएका हुन् । बोर्ड सदस्यमा बसेर काम गर्न असहज हुने देखेर पद अस्वीकार गरेको गुरुङले बताए । उनले भने, ‘यो अवस्थामा बोर्डमा रहेर काम गर्न असहजता देखेँ । त्यसैले मैले काम गर्न नसक्ने जानकारी सहित पत्र बुझाएको हुँ ।’

गुरुङसँगै अर्बौँ ठगीका आरोपी कैलास खड्का पनि सदस्य पदमा नियुक्त भएका थिए । खड्काको नियुक्तीसँगै म्यानपावर व्यवसायीहरु तरंगित भएका थिए । नेकपा निकट म्यानपावर व्यवसायीहरुले खड्काको नियुक्तीको तिव्र बिरोध गरेका थिए ।

Hem Gurung 1

नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्न, मर्यादित बनाउन र बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको हो । तर ठगीका आरोपमा सरकारले नै मुद्दा चलाएका विवादित व्यक्तिलाई यो बोर्डमा ल्याएपछि व्यवसायीहरु रुष्ट बनेका थिए ।

स्रोतका अनुसार आफूसँगै विवादित व्यक्ति नियुक्त भएपछि सदस्य पद अस्वीकार गरेका हुन् । श्रममन्त्रीको अध्यक्षतामा रहने बोर्डमा राष्ट्रिय योजना आयोगको सदस्य, श्रम सचिव, गृह, परराष्ट्र, अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव वा प्रथम श्रेणीको प्रतिनिधि, वैदेशिक रोजगार विभागका महानिर्देशक, स्वास्थ्यकर्मी, म्यानपावर व्यवसायी, ट्रेड युनियन, नेपाल उद्योग वाणिज्य संघ लगायतको प्रतिनिधि रहने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७