प्रहरी प्रमुखमा विवादरहित बढुवा


२४ असार २०७७, बुधबार
shailesh Thapa chhetri

काठमाडौं, २४ असार । सरकारले नेपाल प्रहरीको २८औं महानिरीक्षक (आइजिपी) पदमा अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २८औं महानिरीक्षकमा एआइजीको वरीयतामा पहिलो नम्बरमा रहेका थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनीसँगै महानिरीक्षक बन्ने दौडमा अर्का एआइजी हरिबहादुर पाल थिए । सरकारले दुई जनामध्ये कार्यक्षमता तथा वरिष्ठताका आधारमा थापालाई प्रहरी महानिरीक्षक बनाएको हो । प्रहरी प्रमुखमा बढुवा भएका थापाको कार्यकाल १९ वैशाख २०७९ सम्म हुनेछ । उनले बिहीबार कार्यभार सम्हाल्ने छन् ।

२७ औं महानिरीक्षकका रूपमा बढुवा भएका ठाकुर ज्ञवालीले आज (बुधबार)बाट ३० बर्से सेवा हदका कारण अनिवार्य अवकाश पाउँदै छन् । ज्ञवाली अवकाश हुने भएपछि सरकारले नयाँ प्रहरी प्रमुख नियुक्त गरेको हो । ज्ञवालीसगै एआइजी तारिणी लम्साल र डिआइजी सूर्य उपाध्यायले पनि ३० बर्से सेवा अवधिका कारण अवकाश पाउँदै छन् ।

सरकारले यसअघि एआइजी पद रिक्त हुँदा डिआइजीबाटै सिधै प्रहरी महानिरीक्षक बनाउँदै आएको थियो । ज्ञवालीसमेत डिआइजीबाटै प्रहरी प्रमुख बनेका थिए । तर, यसपटक भने थापालाई चार वर्षपछि एआइजीबाटै प्रहरी प्रमुख बन्ने अवसर जुरेको हो ।

यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र वर्तमान आइजिपी ज्ञवालीले एआइजीको अनुभव नै प्राप्त नगरी सिधै डिआइजीबाटै प्रहरी प्रमुख बन्ने अवसर पाएका थिए । प्रहरी नियमावलीमा प्रहरी महानिरीक्षकमा एआइजीबाट वा एआइजी नभएको अवस्थामा डिआइजीबाट बढुवा गर्न सकिने उल्लेख छ ।

त्यसअघि २०७० मंसिरमा आइजिपी बनेका उपेन्द्रकान्त अर्यालले १४ दिन मात्रै एआइजीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि प्रहरीको २५औं महानिरीक्षकमा प्रकाश अर्याल डिआइजीबाट सिधै आइजिपी बनेका थिए । आइजिपी हुनुअगाडि अर्यालले करिब ४ वर्ष ४ महिना डिआइजीको जिम्मेवारी सम्हालेका थिए ।

को हुन् थापा ?

प्रहरी संगठनमा शालीन र व्यावसायिक छवि भएका प्रहरी अधिकृतका रूपमा शैलेश थापा क्षेत्रीलाई लिइन्छ । १९ वैशाख २०४९ बाट प्रहरी निरीक्षक हुँदै प्रहरी सेवामा प्रवेश गरेका थापा भक्तपुर कटुन्जेका स्थायी बासिन्दा हुन् । उनी २३ मंसिर २०२५ मा जन्मिएका हुन् ।

थापाले संगठनमा व्यावसायिक कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतको परिचय बनाएका छन् । डिआइजी हुँदा थापाले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व सम्हालेका छन् ।

थापाको व्यावसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ । उनले इन्स्पेक्टर, डिएसपी, एसपी, एसएसपी र डिआईजी हुँदा प्रतिष्ठान र महानिरीक्षकको सचिवालयमा बसेर अनुभव बटुलेका छन् ।

इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोकमा काम गरेका छन् । त्यस्तै, डिएसपी हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमान्ड सम्हालेका थिए भने एसपी हुँदा कास्की र झापाको कमान्ड सम्हालेका थिए ।

एसएसपीमा बढुवा भएपछि थापा प्रहरी प्रधान कार्यालयको प्रवक्ता बनेका थिए । उनले डिआइजी बनेपछि समेत प्रहरी प्रधान कार्यालयको प्रवक्ताको जिम्मेवारी पाएका थिए । थापाले राजनीतिशास्त्रमा एमए गरेका छन् । थापाका बुबा पनि अवकाशप्राप्त डिआईजी हुन् ।

सधैं पहिलो

प्रहरी संगठनमा शैलेश थापा क्षत्री र हरिबहादुर पाल एकै मितिमा भर्ती भएका हुन् । थापा पाललाई उछिँन्दै सधैं बढुवामा पहिलो हुँदै अघि बढे । जागिर सुरु गर्दा उनको पहिलो दरबन्दी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा भएको थियो ।

प्रहरी संगठनमा एआइजीसम्म आइपुग्दा नै पालभन्दा थापा अगाडि छन । १८ वैशाख २०५८ मा डिएसपीमा बढुवा हुँदा थापा २ नम्बर र पाल १३औं नम्बरमा झरे । तर, त्यसको ८ वर्षपछि एसपीमा बढुवा हुँदा थापा एक अंक पछि धकेलिँदा पाल ८ अंक अगाडि आए ।

२० पुस २०६६ को एसपी बढुवामा थापा तेस्रो नम्बर र पाल पाँचौं नम्बरमा बढुवा भए । १९ साउन २०७४ मा एसएसपीको बढुवा सूची सार्वजनिक हुँदा समेत थापा पहिलो नम्बरमा परे भने पाल चौथो नम्बरमा झरे । डिआइजी र एआइजीसम्म आइपुग्दा पाल थापा पछिको वरीयतामा परेका छन् ।

पाँच जना महानिरीक्षकसँग काम गरेका थापा नीति निर्माण, अनुसन्धान र चेनअफ कमान्डको कार्यान्वयनमा सफल मानिन्छन् । थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा समेत खटिएका थिए ।

सहमतिमै आइजिपी

सरकारले यस पटक बिनाविवाद सहमतिमै एआइजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक बनाएको हो । यसअघि प्रहरी महानिरीक्षक नियुक्तिका क्रममा प्रधानमन्त्री, गृहमन्त्री र सरकारमा सहभागी दलका नेताबीच नै पक्ष विपक्षमा खिचातानी चल्ने गरेकामा यसपटक विवादबिना नै प्रहरी संगठनले नेतृत्व पाएको हो ।

एआइजी थापा र पालबिच यसपटक प्रहरी महानिरीक्षकको दौडमा कुनै वैमनस्य उत्पन्न भएन । बरु उनीहरू दुवै संगठनको हितका लागि आफूहरूमध्ये जो महानिरीक्षक बने पनि मिलेरै अघि बढ्ने प्रतिबद्धतासहित अन्तिम अवस्थासम्म पनि सहकार्यमै रहिरहे । प्रहरी प्रमुखको चर्चा सुरु भएपछि उनीहरू दुवै एक कार्यक्रममा सहभागी हुन जाँदा एउटै गाडीमा गएका थिए ।

थापाले एआइजी बनेसँगै मानवस्रोत एवं प्रशासन विभागको नेतृत्व सम्हालेका थिए भने पालले कार्य एवं अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७