बाढीले बगाउँदा एक महिला बेपत्ता, पहिरोले आठ परिवार विस्थापित


२४ असार २०७७, बुधबार
bajang pahiro

प्युठान, २४ असार । प्युठानमा खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । स्वर्गद्वारी नगरपालिका –३ भाजुरीवाङ बस्ने ५६ वर्षीया हेमा कुँवर मङ्गलबार बेपत्ता भएको प्रहरीले जनाएको छ ।

रोल्पाबाट घर आउने क्रममा स्थानीय घोरखोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी नायब निरीक्षक बुद्धि रानाको नेतृत्वमा चार प्रहरी खटेको बताइएको छ ।

यता डोटीमा तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी वर्षाका कारण उक्त गाउँको बस्ती माथिबाट पहिरो आएपछि आठ परिवारका ४० सदस्य घरबार छोडेर विस्थापित भएका हुन् ।

पहिरोका कारण विस्थापित परिवारका सदस्य पाल टाँगेर बस्न बाध्य छन् । गाउँ माथिबाट पहिरो आएपछि पहिरोमा च्यापिने डरले उनीहरू घरबार नै छाडेर विस्थापित भएको स्थानीयवासी तेज डुम्रेलले जानकारी दिए । ‘गाउँ माथिबाट पहिरो आएपछि आठ परिवारका ४० जना विस्थापित भएका छन्, उनीहरुलाई सुरक्षित बासस्थानका लागि समस्या भएको छ’, उनले भने ।

बाढी पहिरोबाट विस्थापित परिवारलाई स्थानीय सरकारले समयमै व्यवस्थापन गर्नुपर्ने पहिरो पीडितमध्येका एक नरबहादुर ओलीले बताए । उनले भने, ‘अविरल वर्षासँगैको पहिरोले घरनै पुर्ने डरले हामीहरु चौपाया, खाद्यान्न सरसामान छाडेर आफन्तको घरमा सरेका छौं, अब हाम्रो व्यवस्थापन गर्न ढिलो गर्नु भएन ।’

गाउँमाथिको पूरै जमीन फाटेका कारण सिर्मा गाउँका अन्य ६० भन्दा बढी घर परिवार पहिरोको उच्च जोखिममा रहेको उनले जानकारी दिए । बर्षेनी बाढी पहिरोका कारण सायल गाउँपालिकामा स्थानीयले अकालमै ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७