नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध


प्रकाशित मिति : 8 July, 2020 9:34 am

फाइल फोटो

रुकुम, २४ असार । रुकुम (पूर्व) को भूमे गाउँपालिका–८ कुचिबाङमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा गाउँ अन्धकार भएको छ । लगातार रुपमा परिरहेको वर्षाका कारण जमिन भासिएर नहर भत्कँदा यही असार १६ गतेदेखि कुचिबाङमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

चौबीस किलोवाट क्षमताको कुचिबाङ खोला लघुजलविद्युत् आयोजनाको नहर भत्किएपछि कुचिबाङबासी अन्धकारमा बस्न बाध्य भएका छन् । नहरबाट चुहिएको पानीले जमीन भिजेर गत फागुन महिनामा नहर नजीकैबाट पहिरो झरेको थियो । नहर मर्मतसम्भारका लागि गाउँपालिकाले रु २३ लाख बजेटसमेत विनियोजन गरेको र नहर मर्मतको काम चलिरहेका आयोजनाका अध्यक्ष भरत बुढाले जानकारी दिए ।

विद्युत् अवरुद्ध भएर गाउँ नै अन्धकार भएपछि बिजुली बाल्न वैकल्पिक उपाय अवलम्बन गरिए पनि सम्भव नभएको बताइएको छ । विद्युत् सेवा अवरुद्ध भएसँगै कुचिबाङका २५० घरधुरी समस्यामा परेका छन् ।

स्थानीयवासीलाई अहिले साँझबिहानको दैनिक काम गर्न तथा मोबाइल चार्ज गर्न निकै समस्या हुने गरेको स्थानीयवासी तीर्खमान रोकाले बताए । जमीन भासिएर नहर भत्किएपछि फेरि अर्को नहर निर्माणको काम भइरहेको आयोजनाका अध्यक्ष बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्