नेकपामा यसरी फाट्यो बादल, यसरी बर्सियो पानी


२४ असार २०७७, बुधबार
Prachand Badal 1

काठमाडौं, २४ असार । यो हो, सिनेमाको अन्तिममा गुण्डालाई हिरोले जसरी पनि सिध्याउँछ भन्ने फर्मुला जस्तो नेपाली राजनीतिमा हालै एउटा ‘बादल’ फाटेको कथा ।

मान्छे तान्न, अन्तरविरोधमा खेल्न र आफू हावी हुन खप्पिस मानिने प्रचण्डलाई पनि माथ खुवाएर केपी ओलीले पूर्व माओवादी केन्द्रका दुई नेतालाई आफूतिर तान्नु भयो । यसरी कि, ऐन–मौकामा तिनले चटक्कै साथ छाडिदिए । प्रचण्डभन्दा पनि उग्र रुपमा केपीको विरोधी भएर निस्किए ।

सन्दर्भ गृहमन्त्री रामबहादुर थापा (बादल) को हो । मन्त्री भएपछिका दुई वर्षमा पूर्व माओवादीभित्र आन्तरिक सन्दर्भहरु चल्दा पनि बादलले प्रचण्डलाई साथ दिएनन् । त्यसैले पछिल्लो हेरफेरमा प्रचण्डले हटाउनका निम्ति कुरा राख्दा प्रधानमन्त्रीले मानेनन् । बरु, सुनाए, ‘तपाईंलाई त प्रचण्डले हटाउनु भनेका छन् । मलाई साथ दिनु हुन्छ भने हटाउँदिन ।’

०६८ सालमा मोहन वैद्य, विप्लवहरुसँग माओवादी फुटाएर गएका बादल ०७४ को निर्वाचनपूर्व फर्किंदा उनीसँग १३ जना घाघडान नेता थिए, अहिले पनि छन्– देव गुरुङ, पम्फा भुषाल, सूर्यप्रसाद सुवेदी (पथिक), हितमान शाक्य, सरस्वती पोखरेल (१ नं. प्रदेशकी उपसभामुख), महेश्वर दाहाल, अमृता थापा, यशोदा गुरुङ सुवेदी, ५ नं. प्रदेशका सभामुख पूर्ण घर्ती, त्यहींकै आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीसहित बादलसहित यी १३ जनाले पार्टी एकताअघि प्रचण्डलाई भेटे ।

प्रचण्डले पम्फाजीलाई प्रवक्तालगायत ‘पार्टी छाडेर जाँदा तपाईंहरु जे–जे पदमा हुनुहुन्थ्यो, त्यही–त्यही पद दिन्छु । तर, एउटा शर्त छ, मेरो नेतृत्वलाई च्यालेञ्ज गर्न पाइँदैन । मैले त वैद्य, बाबुराम छोडें । मलाई ठीकै छ । पार्टीभित्र विचार राख्न पाइन्छ, छलफलमा भाग लिन पाइन्छ । तर, निर्णायक घडीमा मलाई साथ दिनुपर्छ’ भने ।

बादलहरुसँग यी शर्त मान्नुको विकल्प थिएन । किनभने, उता पार्टी छाडेर हिंडिसकियो, यता शर्त छ । उता फर्किनुभन्दा यतैको शर्त स्वीकारे, एकता भयो । नत्र, माले खोल्ने ऋषि कट्टेल र सिपी मैनालीहरु झैं राजनीतिक ढाक्रे हुनुपर्ने खतरा थियो ।

अहिले बादलले प्रचण्डका कुराहरु नमान्ने, केपीकै गुणगान गाउने भएपछि प्रचण्डले बादल बाहेक १२ जनालाई खुमलटार बोलाएर २ दिन लगातार छलफल गरे । १२ भाइले ‘हामी तपाईंलाई भेट्न आउने, छोरी गंगालाई भेटेर जानुपर्ने ?’ यीसहित भए भरका गुनासो राखे ।

कतिपयमा प्रचण्डले क्षमा मागे । कतिपयमा जवाफ दिए । र, अन्तिममा सोधे, ‘अब भन्नुस्– बादल तपाईंहरुसँग रहने कि केपीसँग जाने ? यदि बादलले हामीलाई साथ नदिने हो भने तपाईंहरुले केपीलाई रोज्ने कि मलाई ?’

यी १२ जना फेरि पुगे, बादलकहाँ । प्रचण्डले सोधेका प्रश्न बादलसमक्ष पनि राखिरहे । सबै कुरा सुनिसकेपछि र सोधेका कुराको जवाफ दिनुपर्ने भएपछि बादलले भने, ‘केपी नोकरशाही प्रवृत्तिका रहेछन् । यिनलाई हामी जस्ताले धान्न सक्ने रहेनछौं । कि, दास भएर, जीहजुरी गरेर, २४ घण्टा दशऔंली तेस्र्याएर उभिनुपर्‍यो । त्यसो गर्न सकिन्नँ । त्यसैले म कहाँ केपीलाई रोज्छु त ? जे–जसो भए पनि हाम्रो नेता त प्रचण्डै हुन् नि ! हामीले त्यतै रोज्ने हो !’
यसरी बल्लतल्ल बादल फाट्यो ।

प्रतीक्षा रह्यो, अब यो फाटेको बादलले कस्तो वर्षा ल्याउँछ ? सिमसिमे कि मुसलधारे ? अन्तरविरोध बाक्लिँदै गएपछि ललितपुरको धोवीघाटस्थित अगेनो लाउञ्जमा गत बुधबार माधव–प्रचण्ड पक्षधर नेता र मन्त्रीहरु जुटे । अनि, बादलको वर्षा त्यहाँ देखियो ।

उनले भने, ‘केपी ओलीमा पार्टी र सरकार चलाउने ल्याकतमै समस्या रहेछ । सोच्ने दृष्टिकोणमै समस्या देखें । गृहमन्त्री भएको हुनाले मैले विश्वासको वातावरणमा काम गरेको हुँ । दिनदिनै प्रधानमन्त्रीसँग राय बझाएर काम गर्न पनि सकिँदैन थियो ।

त्यसैले म यताको कि उताको भन्ने पर्‍यो होला । साथीहरुसँग सल्लाह भयो । कुराकानी हुँदा अब चाहिँ निर्णायक पोजिसनमा जानुपर्छ भन्ने भयो । त्यसैले म मेरै मौलिकताअनुसारको लाइनमा आएँ ।’ उनले यसो भनेपछि हलमा गुञ्जिएको ताली पार्किङसम्म प्रष्ट सुनियो । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७