अदालत हो हजुर, यहाँ ‘कोतपर्व’ चलिरहन्छ


२४ असार २०७७, बुधबार
sarbochha 1

काठमाडौं, २४ असार । सर्वोच्च अदालतको न्यायाधीश हुने हृदयभरिको धोको साँचेका उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल लकडाउनकै बीचमा अधुरो सपना बोक्दै भारी मनले घर गए ।

बस्यालले असार १ गते ६३ वर्षे उमेर हदका कारण अवकाश पाएका हुन् । सर्वोच्च पुगेको भए ६५ वर्षसम्मै न्यायाधीश खान पाउँथे । लकडाउनको कारण देखाएर परिषद्को बैठक नबसेपछि बस्यालको धोको अधुरै रह्यो । उनी सरदर न्यायाधीशमध्ये इमान्दार र न्यायका मर्मज्ञको रूपमा चिनिन्छन् ।

संविधानतः प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने सर्वोच्चमा दुई पद रिक्त छ । साउनसम्म परिषद् बैठक बसेन भने अर्का मुख्य न्यायाधीश हरिकुमार पोखरेलले पनि बस्यालकै नियति भोग्नुपर्ने छ । पोखरेल साउन ५ गते ६३ वर्ष पुग्दैछन् ।

सेवाभित्रैबाट सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका अर्का मुख्य न्यायाधीश कुमार चुडाल, तिलप्रसाद श्रेष्ठ र रमेश पोखरेल पनि प्रबल दाबेदारका रूपमा उभिएका छन् ।

न्यायपालिकाभित्रको राजनीतिलाई नजिकबाट नियालिरहेका एक जानकार अधिवक्ताका अनुसार सर्वोच्च जाने भनेर परिषद् सदस्यबाट राजीनामा दिई दौरासुरुवाल समेत सिलाई बसेका पदम वैदिकको पनि सम्भावना टरेको छैन ।

उनलाई न्यायाधीश बनाउने सबै चाँजोपाँजो मिलाएर बैठक बस्नै लागेका बेला नेपाल बार एशोसिएसनको भैरहवा राष्ट्रिय भेलामा चर्को विरोध भएपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा पछि हटेका थिए ।

बारले न्यायपरिषद्बाट राजीनामा दिई बसेका उपेन्द्रकेशरी न्यौपानेलाई सर्वोच्चमा ल्याउन नमिल्ने, वैदिकलाई चाहिँ कसरी मिल्ने ? भन्दै प्रश्न खडा गरेपछि मुखैको न्यायाधीश पद उम्केको थियो । त्यसपछि हरि फुँयाल, मनोज शर्माहरू न्यायाधीशमा उक्लिए पनि वैदिक भने अड्किए ।

समकक्षी मुख्य न्यायाधीश सुष्मालता माथेमा सर्वोच्च पुगिसक्दा पनि उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश कुमार चुडाल भने तलै छन् । चुडाल यसअघिकै नियुक्तिमा पर्ने आंकलन थियो । काठमाडौं राजश्व न्यायाधीकरणमा रहँदा मुद्दाको विषयमा गाइँगुइँ सुनिएको हो ।

यही मेसोमा कानुन व्यवसायी वृत्तका डा. दिनमणि पोखरेलले सर्वोच्चको न्यायाधीशमा लाइन मिलाउन लबिङ तीव्र पारेको निकटस्थहरू बताउँछन् । पोखरेल पूर्व माओवादी नेता वर्षमान पुननिकट भनेर चिनिन्छन् । नेपाल बारको महासचिवमा लगातार दुई पल्ट पराजित पोखरेल २०३० सालमा जन्मेका हुन् । अहिले सर्वोच्च पुगे भने पूरा ६ वर्ष प्रधानन्यायाधीश खान भ्याउने छन् ।

पोखरेलको पक्षमा परिषद्मा रहेका सरकारी प्रतिनिधि लक्ष्मीबहादुर निराला पनि सकारात्मक देखिएको बारकै एक पदाधिकारी बताउँछन् । यता, सर्वोच्चकै मुख्य रजिष्ट्रार नृपध्वज निरौला पनि जब्बर दाबेदार देखिएको बताइन्छ । निरौला यतिबेला प्रधानन्यायाधीशको निकट सहयोगीको हैसियतमा छन् ।

न्यायसेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिको पदमा कम्तीमा १२ वर्ष काम गरेको व्यक्ति सर्वोच्चको न्यायाधीश बन्न पाउने संवैधानिक व्यवस्था छ । तर, निरौलाले त्यो योग्यता भेट्न असोजसम्म कुर्नुपर्ने हुन्छ ।

प्रधानन्यायाधीशले त्यहाँसम्म परिषद् बैठक लट्काएको खण्डमा उनको सम्भावना देखिन्छ । हाल नेपाल बार प्रतिनिधिको रूपमा परिषद् सदस्य रहेका रामप्रसाद सिटौलाको पनि असोजमै कार्यकाल समाप्त हुँदै छ ।

सिटौला नहुँदा निरौलालाई झन् सोझो पर्ने सम्भावना छ । किनभने सिटौलाको पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसँग तिक्त सम्बन्ध रहेका कारण त्यतिबेला कार्कीको कित्तामा उभिएका निरौलासँग पनि हित्तचित्त फाटेको थियो । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७