कम्युनिष्टहरुलाई धाँधली सिकाए कसले ?


२४ असार २०७७, बुधबार
nekapa 1

काठमाडौं, २४ असार । हामै देशको राजनीतिमा के–के रमिता देखिन्छ, उही व्यक्ति एकबेला एउटालाई र अर्को बेला अर्कोलाई काखी च्याप्दै– पछार्दै हिँड्छन् । सडकमा सिठ्ठी फुक्ने र ढुंगा हान्ने हैनन्, ज्ञान, अनुभव र विवेकले युक्त भनिएका मानिसहरु नै यस्तो काममा लाग्ने गरेका उदाहरण अनेक छन् ।

०४६ को जनआन्दोलनपछि परिवर्तित राष्ट्रिय सन्दर्भमा कुन रणनीति अपनाउने भन्ने अन्योलमै थियो, तत्कालिन नेकपा (एमाले) । जनआन्दोलनलगत्तैको अन्तरिम सरकारमा केही नेता मन्त्री बन्न जानुपर्ने भयो ।

कल्पना गरौं त, तीन दिनअघिसम्म ज्यान हत्केलामा राखेर आन्दोलनमा हिंडेका र अघिल्लो दिन जेलबाट छुटेका नेताहरु भोलिपल्टै मन्त्री खान जानुपर्ने भएपछि के हुन्छ होला ? त्यस्तो स्थितिमा संसदीय अभ्यास, अर्थतन्त्र, खुला समाजसँग घुलमिल हुन सिकाउने विद्वान थिए, महेश्वरमान श्रेष्ठ र मंगलसिद्धि मानन्धरहरु ।

पछि महेश्वरमान पूर्वाञ्चल विश्वविद्यालयको उपकूलपति भए । भूगोलका प्राध्यापक मंगलसिद्धि त एमाले, माले हुँदै माओवादीका नेता भैदिए । केही वर्षअघि दिवंगत मंगलसिद्धिहरुकै समूहले माओवादी शान्तिप्रक्रियामा आएपछि उनीहरुलाई ०४७ मा एमालेहरुलाई सिकाएकै पाठ पढायो ।

उपयोगको नीतिअन्तर्गत पञ्चायती चुनावमा भाग लिँदा संगठित योजनाले हैन, हुलमुलमा जितेबाहेक ०४८ देखिका चुनावमा कसरी जाने भन्ने रणनीतिको अभाव थियो, एमालेलाई ।

भोट तलमाथि कसरी पार्ने ? मतदातामाझ कसरी प्रस्तुत हुने ? सुरक्षा निकायसँग के–कस्तो सम्बन्ध राख्ने ? मतगणनामा कस्तो चातुर्यता प्रदर्शन गर्दा चुनाव जित्न सकिन्छ ? पैसा कहाँ खन्याउने ? कसरी र कोमार्फत खर्च मिलाउने ? मुख्य–मुख्य चन्दादाता को–को हुन् ? यस्ता विषयका गुरु थिए, भूपू अञ्चलाधीश सूर्यबहादुर सेन ओली र गुप्तचरका हाकिम श्रीपुरुष ढकालहरु ।

यिनै सूर्य सेन र श्रीपुरुषहरुले त्यही काम माओवादी शान्तिप्रक्रियामा आएपछि पनि गरे । यिनीहरुले अशोक श्रेष्ठ, गोपालमान श्रेष्ठ र सुधिरकुमार शाहहरुसँग मिलेर ०६४ को चुनावमा भाग लिनका लागि माओवादीलाई ३४ बुँदे रणनीति नै बनाइदिए । जंगलबाट फर्किएको वर्ष दिन

नपुग्दै जनताको बीचमा चुनाव लड्न जानुपर्ने स्थिति माओवादीका लागि जटिल थियो पनि । माओवादीले पनि रातारात ३४ बुँदे कण्ठ पार्न सबैतिर प्रशिक्षण कार्यक्रम चलायो । बुथ क्याप्चर कसरी गर्ने ? विपक्षीलाई कुन तरिकाले हमला गर्ने ? सुरक्षा निकायबाट कसरी सहयोग लिने ? यस्ता विषयसहित कण्ठ पारेपछि मात्र उम्मेदवार र तिनलाई परिचालन गर्ने टिम बनाई गाउँ–गाउँ पठाइएको थियो ।

उनैको हालिमुहाली

पूर्व एमालेको सत्ता राजनीतिको आधार हो, मध्यमवर्ग । उसले भूमिगतकालका गरिव–गुरुवा (सर्वहारा, निम्नवर्ग) सँगको सम्बन्ध खुलाकालमा गुमाउँदो स्थितिमा गयो । अर्थात्, एनजिओ, व्यापारिक घराना, अवकाशप्राप्त कर्मचारी, भूपूसेना, प्रहरीसमेत संसदीय राजनीतिमा पूर्व एमालेको आधार बने ।

कार्यकर्तालाई पनि उद्यमशील, अर्थात् धनी बन भन्ने लाइन आयो । पहिला गरिवका घरमा जाऊ, गरिवका दुःखलाई सुखमा परिणत गर भन्ने पार्टी पछि आफ्ना कार्यकर्तालाई पैसा कमाऊ, आफैँ उत्पादन गर भन्नेमा पुग्यो । गरिवलाई के गर्ने ? यसबारे भन्न छाड्यो । किनभने, तलको आधार उसले गुमाइसकेको थियो ।

०४६ अघिको वर्गआधारमा ऊ थिएन । मध्यमवर्गको मूल चरित्र हो, ऊ जहिल्यै पनि सत्ता हेर्छ । सत्ता छैन भने साइत, घडी र पला नहेरी साथ छोड्छ । ०४७ पछि आधी पञ्च काँग्रेस र एमालेमा छिरेझैं ०६४ मा एमालेको ती वर्गका आधा मान्छे माओवादीमा गए । त्यसैले माओवादी ठूलो पार्टी बन्नमा योगदान गर्‍यो ।

त्यो वर्गले माओवादीको सरकार भएपछि आफू सुरक्षित होइन्छ भन्ने अनुमान गरेर त्यस्तो भूमिका खेल्यो । र, एमालेलाई तेस्रो बनाइदियो । उनीहरु ‘माओवादी’ भएर होइन, सरकार कसको बन्छ भनेर लागे ।

सत्ता नहुने भएपछि वरिपरिको भीड त्यता जान्छ नै । एमाले निरन्तर सरकारमा रहिरह्यो । केपी ओलीले यही तत्व बुझेर भारत, चीन र बाहिरी मुलुकबाट समेत आर्थिक सहयोग जुटाउँदै मदन भण्डारी फाउण्डेशनमार्फत् समानान्तर सत्ताको अभ्यास गरिरहे ।

अप्ठ्यारोमा आफूलाई गुण लगाउने मान्छेले सप्ठ्यारोमा सत्ताबाट रिटर्न खोज्छ । जस्तो कि श्रीपुरुष अहिले लोकसेवामा छन् । सुधिरले ६ वर्ष निर्वाचन आयोगमा बिताए । एमालेले सबैलाई रिझाउन सकेन, मान्छेहरु धमाधम माओवादी बन्न थाले । सत्ता वा सरकारको वरिपरि बस्न रुचाउने मध्यवर्ती तप्काको चंगुलमा माओवादी पनि विस्तारै फस्यो ।

आम चुनावपछि पनि सरकारमा बसिरहने हो भने मिल्नुको विकल्प छैन भनेर एमाले–माओवादी गठबन्धन निर्माण भई त्यसकारण सत्ता हासिल भएको हो । यदि त्यो गठबन्धन नभएको भए सरकार के हुन्थ्यो ? त्यसैले त केपी ओलीलाई आजकल नेताहरुले भन्ने गरेका छन्, ‘स्वर्ग जोगाउनु भयो भने भोग्ने तपाईंहरुले हो, जोगाउनु भएन भने सबभन्दा पहिला ढल्ने पनि तपाईंहरु नै हो ।’ जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७