प्रहरीको जागिर खत्तम छ हजुर


२४ असार २०७७, बुधबार
Nepal police

काठमाडौं, २४ असार । चोरलाई समातेर सोधपुछ भइरहँदा ललितपुर प्रहरी इञ्चार्जको फोन बज्यो । ‘कहाँ हो ? मेरो घरमा टयापेले हैरान दियो । पुलिस पठाउनुस् ।’

ठाडो आदेश आएपछि इञ्चार्जले ‘ठूलै प्रहरी हाकिम’ हुनसक्ने अड्कल काट्दै सोधे, ‘हजुर, को बोलिबक्सेको ?’ प्रश्न पूरा नहुँदै जवाफ आयो, ‘म डिएसपी, भूपू डिएसपी, मैले माथि कुरा गर्नुपर्छ र ?’ यति भनेपछि सुरक्षाको रफ्तारसहित प्रहरी टोली डिएसपीको घरतिर मुभ गर्‍यो, एक घण्टामै फर्कियो । सबै प्रहरीको मुड आक्रोशित थियो ।

एक जना प्रहरीले गाडीबाट झर्दै भने, ‘डिएसपी भन्दैमा उसको घर नजिकबाट मान्छे हिंड्न नपाउनु ? एक जना चुरोट खाने मान्छे हिँडेको देखियो भनेर प्रहरीलाई व्यर्थैमा दुःख दिने ?’ प्रहरीमाथिको हैरानीको कथा धेरै छन् । यसमा थप एउटा कथा झन् रमाइलो छ ।

प्रहरीको एक जना ठूलै फुलीका हाकिमले प्रहरीकै सात्तो लिएको चर्चा प्रहरीमाझ हिट छ । ती प्रहरीको घरबाट एउटा ठाडो उजुरी आयो । ‘मेरो घरमा सुरक्षित भएन, बन्द गरिएको ढोका बिहान खुल्लै हुने । हामी असुरक्षित भयौं ।’

उताबाट प्रहरी अड्डामा यो टिपाइयो । त्यसपछि प्रहरी हाकिमको उर्दीमा प्रहरी सिभिलमा खटियो । हाकिमले प्रहरीको सुरक्षा नदेखेपछि पुनः सात्तो लिए, ‘मेरो सुरक्षाको ख्याल छैन, मैले माथि जाहेर गर्नुपर्ने हो ?’ त्यसपछि प्रहरी इञ्चार्जले विनम्रतापूर्वक भने, ‘होइन हजुर, हामी रातभर सिभिलमा खटेका हौं, हजुरको सुरक्षाका कारण हामीले गोप्य ढंगले नै सुरक्षा दियौं ।’

प्रहरी हाकिमलाई चित्त बुझेन । त्यसपछि फेरि इञ्चार्जले रातारात निगरानी बढाए । घटनाक्रमको चुरो इञ्चार्जले बुझेर प्रहरी हाकिमलाई सुनाए, ‘हजुर, घरको ढोका खुला हुनुमा पारिवारिक गडबडी छ, यो भित्रै मिलाउनुपर्ने विषय जस्तो देखियो ।’ यति सुनेपछि उनी पड्किए, ‘के रे, मेरो परिवारमाथि अनेक शंका गर्छस्, तँलाई ठाउँका ठाउँ हटाइदिऊँ ?’

यति पड्किएको पाँच दिनपछि रहस्य खुल्यो । घटनामा परिवारभित्रकी प्यारी छोरीको ‘लभ कनेक्सन’ देखियो । प्रमाणसहित प्रहरी हाकिमले सत्य कुरा बुझेपछि ती इञ्चार्जलाई फोनमा निर्देशन दिँदै भने, ‘जे भयो, भयो । यताउता हल्ला नगर । यो आन्तरिक समस्या हो । म सुल्झाउँछु ।’ जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७