कोरोनाको ‘हट स्पट’ बन्ने खतरा बढेपछि उपत्यकामा एक सातामा ४५ हजार नमुना संकलन गरिंदै


२५ असार २०७७, बिहीबार
korona 1

काठमाडौं, २५ असार । काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिएसँगै सरकारले परीक्षणको दायरा बढाउने भएको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले चार महिनाका लागि पुग्ने परीक्षण किट भएको जानकारी दिँदै उपत्यकाको अवस्था बुझ्न परीक्षण दायरा बढाउने जानकारी दिए ।

उनले उपत्यकाको अवस्था बुझ्न एक हप्ताभित्र कम्तीमा ४५ हजार नमुना संकलन गर्न निर्देशन दिएको बताए । ‘४५ हजारको परीक्षण गर्दा उपत्यकाको एउटा फिगर अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘मैले सबै निर्देशन दिइसकेको छु । यदि टार्गेटअनुसार र समयमा काम भएन भने जिम्मेवार कर्मचारीमाथि कारबाही हुनेछ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.वासुदेव पाण्डेले उपत्यकामा बिहीबारदेखि नमुना संकलनको संख्या बढाउने जानकारी दिए । नेपालका ९४ प्रतिशत संक्रमित बाहिरबाट आएका छन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार एक लाख ९५ हजार पिसिआर किट केन्द्रमा मौज्दात छ । आरएनए एक्स्ट्राक्सन किटको संख्या एक लाख चार हजार र भिटिएम ७८ हजार आठ सय ६९ मौज्दात छ ।

केन्द्रको अनुमतिमा आवश्यकताअनुसार प्रदेश र स्थानीय तहले समेत भिटिएम खरिद गरेका छन् । जनमुक्ति हेल्थकेयरले एक लाख बढी किट दिन बाँकी छ । त्यसैगरी, युनिसेफ र विश्व बैंकबाट साढे तीन लाख किट आउँदै छ ।

थप दुई सय ५५ नयाँ संक्रमित फेला
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा २५५ नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १६ हजार चार सय २३ पुगेको छ । जसमध्ये सात हजार सात सय ५२ जना निको भएर घर गएका छन् । हालसम्म ३५ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हाल देशभर आइसोलेसनमा आठ हजार ६ सय ३६ जना संक्रमित छन् ।

हालसम्म दुई लाख ६६ हजार चार सय ५७ जनाको पिसिआर परीक्षण भएको छ । बुधबार उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६ र ललितपुरमा सात जना संक्रमित थपिएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमितको संख्या दुई सय ९० पुगेको छ ।

प्रतिदश लाखमा हुने मृत्युदर नेपालमा विकसित देशभन्दा कम
नेपालमा कोरोनाको संक्रमण सुरु भएको पाँच महिना पूरा भएको छ । यस अवधिमा आरटी पिसिआर जम्मा दुई लाख ६६ हजार चार सय ५७ परीक्षण भएको छ । पाँच महिनामा कुल परीक्षण गर्नेमा नेपाल सार्क राष्ट्रहरूमा निकै अगाडि छ ।

सार्क राष्ट्रहरूसँग नेपाललाई तुलना गरेर हेर्दा नेपाल आरटी पिसिआर परीक्षण गर्ने मुलुकहरूमध्ये अफगानिस्तान, बंगालदेश, श्रीलंका, पाकिस्तान र भारतभन्दा अगाडि रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए ।

त्यस्तै, कोभिड–१९ बाट प्रति १० लाखमा हुने मृत्युदर बंगलादेश, भारत, माल्दिभ्स, अफगानिस्तान र पाकिस्तानभन्दा नेपालमा कम रहेको छ । अमेरिका, बेलायत, जापान र चीनभन्दा नेपालमा मृत्युदर कम रहेको अधिकारीले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७