प्रचण्डले ओलीलाई भने, ‘छलफल भइरहेका बेला सडकमा प्रदर्शन हुनु राम्रो भएन रोक्नुस्’

बुधबार डेढ घण्टाको छलफल निष्कर्षविहीन, बिहीबार फेरि बस्ने


२५ असार २०७७, बिहीबार
thumb 1

काठमाडौं, २५ असार । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाललगायतका नेताले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि चर्केको आन्तरिक विवाद समाधानको विन्दु अझै भेटिएको छैन ।

चार दिनदेखि ओली र दाहाल दोहोरो संवादमा छन् तर उनीहरू अडानबाट पछि हटेका छैनन्, जसका कारण नेकपाको स्थायी कमिटी बैठक धकेलिएको धकेलियै छ ।

बुधबारका लागि बोलाइएको स्थायी कमिटी बैठक दुई दिन पर सारेर छलफलमा बसेका ओली र दाहालबीच झन्डै डेढ घण्टा भएको छलफल निष्कर्षमा पुग्न सकेन । स्रोतका अनुसार बुधबारको छलफलमा ओलीको पक्षमा भन्दै विभिन्न स्थानमा केही व्यक्तिले गरेको प्रदर्शनबारे दाहालले प्रश्न उठाएका थिए ।

पार्टीभित्र सर्वसम्मत र संसद्मा झन्डै दुई तिहाइको समर्थन पाएर प्रधानमन्त्री बनेको व्यक्तिको समर्थनमा भन्दै केही दिनयता सडकमा केही दर्जन मानिस प्रदर्शनमा उत्रिरहेका छन् । सामाजिक सञ्जालमा समूह बनाएर ओलीको समर्थनमा युवा, विद्यार्थीलगायतका नेता–कार्यकर्ताले प्रदर्शन गर्ने गरेका हुन् । बुधबार देशव्यापी प्रदर्शन भन्दै विभिन्न ठाउँमा स–साना प्रदर्शन गरिए ।

सप्तरीमा प्रदर्शन गर्ने विषयमा ओली र दाहाल पक्षका कार्यकर्ताबीच भनाभन भएको थियो । नेपालको नक्सा र ओलीको तस्बिर अंकित ब्यानरमा ‘भारतीय दलाल होसियार’ जस्ता नारा लेखेर प्रदर्शन गरिएका छन् । लकडाउनका बेला प्रधानमन्त्रीको तस्बिर अंकित टिसर्ट लगाएर गरिएको प्रदर्शनको आलोचना भइरहेको छ ।

यही विषयलाई दाहालले बुधबार ओलीको ध्यानाकर्षण गराएका हुन् । पार्टीभित्रको विवाद मिलाउने प्रयास भइरहेका बेला सडकमा प्रदर्शन गर्नु ठीक नभएको भन्दै दाहालले यस्ता काम रोक्न ओलीलाई आग्रह गरेका थिए । ओलीले भने यस्तो काम आफूले गर्न नलगाएको उल्लेख गर्दै कोही स्वतः आए आफूलाई जानकारी नहुने भन्ने जवाफ फर्काएका थिए ।

ओली र दाहालबीच योबाहेक सहमति खोज्ने विषयमै कुरा भएको छ । तर अडान नबदलिएकाले निकास निस्कन सकेको छैन । ओली कुनै हालतमा प्रधानमन्त्री छाड्न तयार छैनन्, बरु अध्यक्षको काम थप परिभाषित गर्ने पक्षमा छन् ।

यता दाहालले प्रधानमन्त्री पद नै छाड्नुपर्ने बरु अध्यक्ष पद स्विकार्न सक्ने धारणा राखिरहेका छन् । दाहाललाई नेता नेपाल, खनाललगायतले प्रधानमन्त्री पदकै विषयमै टुंगोमा पुर्‍याउन भन्दै ओलीसँग वार्ता गर्ने म्यान्डेट दिएका छन् । त्यसैले दाहाल नेपाल र खनालसँगको परामर्शसहित ओलीसँग छलफलमा प्रस्तुत भइरहेका छन् । न

पालनिकट एक नेताले ओलीसँग भाका राखेर गरिने खालका कुनै पनि सहमति यस पटक नहुने बताए । विगतमा गरेका सहमतिमा ओलीले धोका दिएकाले यस पटक उधारो नभई हातहाती सहमति गर्ने ढंगले दाहालले अडान राखेको उनको भनाइ छ ।

बुधबार पनि कुरा नमिलेपछि दुई अध्यक्षबीच बिहीबार पुनः कुरा हुने भएको छ । सहमति बन्ने अवस्थामा मात्र स्थायी कमिटीको बैठक शुक्रबार बस्ने नभए सर्ने सम्भावना रहेको एक नेताले बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७