ओली अडानमै, प्रचण्ड भन्छन्, ‘एउटा पद त छाड्नुस्’, हिजो यस्तो भयो तिक्त संवाद


२५ असार २०७७, बिहीबार
kp oli prachanda 1
फाइल फोटो

काठमाडौं, २५ असार । नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार छलफल हुन्छ–हुन्न भन्ने टुंगो पनि छैन ।

आइतबार आरोप–प्रत्यारोप चल्यो । सोमबार प्रधानमन्त्री ओली र मंगलबार अध्यक्ष दाहालले आफ्ना कुरा खुलस्त राखे । सहमतिको उपाय खोज्न बुधबार साँझ दुई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो ।

‘बुधबारको छलफल झन् बिग्रियो । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड (दाहाल) दुवै जना आआफ्नै अडानमै रहनुभयो’, नेकपा सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि प्रधानमन्त्रीले पार्टी बैठक राखेर बहुमतबाट निर्णय गर्नुहोस् न किन पछि हटिरहनु भएको छ भन्नु भएछ । फेरि चर्काचर्की भएर उहाँहरू उठनु भएछ ।’ दाहालले बुधबार प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोड्न ओली समक्ष माग गरे । तर, ओलीले पार्टीका नेताहरूले भनेकै आधारमा आफूले दुवै पद नछोड्ने अडान लिए ।

‘तपाईंले केही पनि छोड्दिनँ भनेर कहाँ छुट पाउनु हुन्छ, एउटा पद स्वेच्छाले त्याग्नुस्, दुवै त्याग्नुपर्छ भनेका छैनौं । प्रधानमन्त्री पद त्याग्नुस् । सहमतिमा निकास दिनुहोस्’, दाहालले छलफलमा ओलीलाई भनेको उद्धृत गर्दै ती सचिवालय सदस्यले भने, ‘प्रधानमन्त्रीले पनि पार्टी बैठक राखेरै बहुमतको निर्णय गरेर देखाउन चुनौती दिनु भएछ । त्यसपछि हिजोअस्ति बनेको छलफलको वातावरण झन् बिथोलिएछ ।’

ओलीले २०७६ मंसिर ४ कै सहमतिभन्दा अगाडि जान नसकिने बटमलाइन दाहाललाई सुनाए । त्यसबेला नेकपा सचिवालयमा दाहाललाई दल (पार्टी) र ओलीलाई पाँच वर्ष प्रधानमन्त्री चलाउन दिने गरी दुई अध्यक्षको कार्यविभाजनमा सहमति बनेको थियो ।

‘तपाईंहरूको बटमलाइन दुईमध्ये एक पद बनाउन खोज्नु भएको हो भने मेरो पनि बटमलाइन एउटै छ । त्यो भनेको मंसिर ४ कै सहमतिको थप व्याख्या आवश्यक भए गरेर जाने, त्यसभन्दा अगाडि धेरै बढ्न अहिले सकिँदैन । सहमति खोज्ने हो भने यसमै आउनुस्, होइन भने थप केही कुरा छैन’, ओलीले दाहालसँग बुधबार भने ।

उनले महाधिवेशनपछि आफू नेतृत्वमा नआउने, अर्काे चुनावपछि प्रधानमन्त्री बन्ने रहर पनि नगर्ने भन्दै अहिले जस्तो गरी कार्यविभाजन भएको छ दुई अध्यक्षबीच उसरी जान दाहालसँग आग्रह गरेको पनि ती नेताले बताए । ‘अहिले केही पनि हुँदैन । जसो छ उसैगरी जाऔं । महाधिवेशनपछि तपाईं (दाहाल) हुनुहोला नि अध्यक्ष । अर्काे चुनावपछि बन्नुहोला नि प्रधानमन्त्री’, दाहालसँग ओलीले व्यक्त गरेको भनाइ उद्धृत गर्दै छलफलको ब्रिफिङ सुनेका एक सचिवालय सदस्यले भने ।

त्यसपछि भने दुई नेताबीच चर्काचर्की परेको थियो । दुवै जना अडानमा टसमस नभएपछि प्रधानमन्त्रीले दाहालसँग भने, ‘तपाईंहरू स्थायी समितिमा बहुमत भएको मान्छे, बैठक राख्नुहोस्, म छोड्नेवाला छैन ।’

दाहालले ओलीलाई भने, ‘तपाईंले के गर्न खोज्नु भएको ? मिल्ने कुनै बिन्दुमा लचक हुने कुरै गर्नु हुन्न ? पार्टी एकता गर्न मन छैन तपाईंलाई ? ’

ओलीले पनि दाहाललाई भने, ‘के गर्न खोजेको भन्ने त देखिहाल्नु भएको छ नि ! पार्टी एकता भए त हुन्छ नि तर हुँदैन भने के गर्ने ? ’

दाहालले प्रधानमन्त्रीको पक्षमा देशभर भइरहेको प्रदर्शनप्रति आपत्ति जनाएका थिए । सडकमा आफ्ना मान्छे उतार्ने र पार्टी नेताहरूविरुद्ध नाराबाजी गर्ने काम भइरहेको भन्दै दाहालले त्यस्तो नाराबाजी र प्रदर्शन रोक्न ओली समक्ष आग्रह गरेका थिए । दाहालले भने, ‘देशभर प्रदर्शन गर्न लगाएर तपाईंले के गर्न खोज्नु भएको ? यो राम्रो भएन ।’

जवाफमा ओलीले भने, ‘दुईतिहाइ झन्डै जनमत भएको प्रधानमन्त्री, राष्ट्रवादी प्रधानमन्त्रीलाई जबरजस्ती फाल्न खोजेपछि प्रदर्शन हुनु स्वाभाविक हो । प्रदर्शन हुन्छ, जनताले स्वाभाविक रूपमा जुलुस निकाल्छन् ।’ यसरी बुधबारको बैठक बिना निष्कर्ष टुंगियो ।

१८ असारयता स्थायी समिति बैठक मिति तोक्दै शुक्रबार (असार २६ सम्म) सारेर दुई नेता सहमति खोज्न छलफलमा बसेका थिए । छलफलको वातावरण झनै बिग्रिएपछि बिहीबार थप छलफल हुने-नहुने टुंगो छैन । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल) ले नेताहरूका अडान यथावत् रहेको बताए । ‘बिहीबार छलफल हुने–नहुनेसम्म टुंगो लागेको छैन’, उनले भने ।

१० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले लिम्पियाधुरासम्मको नक्सा सार्वजनिक गरेपछि आफूलाई सरकारबाट हटाउन भारत लागेको र त्यसका लागि नेपालका नेताहरू पनि सक्रिय रहेको आरोप १४ असारमा लगाएका थिए ।

त्यसपछि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायत आक्रोशित बनेका थिए । उनीहरूले १६ असारको बैठकमा ओलीबाट अब पार्टी पनि नचल्ने, सरकारको नेतृत्व पनि गर्न नसक्ने भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका थिए ।

दुई दिन ओलीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले नामक दल दर्ताका लागि परेको आवेदनमा केन्द्रित छलफल हुँदै गर्दा १८ असारमा सरकारले संसद्को जारी अधिवेशन अन्त्यको निर्णय लिएको थियो । त्यसपछि ओली र दाहाल नेपाल पक्षबीचको सम्बन्धमा थप तिक्तता आएको थियो ।

त्यसयता चार पटक स्थायी समितिको मिति सार्दै सहमतिको खोजीका लागि दुई अध्यक्षको तहमा, दोस्रो पुस्ताका नेताहरूको तहमा अनेक वार्ता भए पनि सहमति जुटन सकेको थिएन । आइतबारयता लगातार ओली र दाहालले बालुवाटारमा नियमित दुई घण्टा छलफल गर्दै आएका थिए ।

‘उहाँहरू (ओली र दाहाल) बीच छलफल भए पनि कुरा मिलेको छैन । बुधबारको छलफल पनि निकास दिने खालको भएन’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अर्को बैठकको पनि टुंगो लागेको छैन ।’

ओलीले दाहालसँगको भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । नियमित भेटघाट भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । छलफल सकारात्मक नदेखिएपछि अब बैठक धेरै रोकिनराख्न दाहाल–नेपाल पक्षलाई आफ्नै समूहका नेताले दबाब बढाउन थालेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७