चार दिन देशभर भारी वर्षा : बाढी, पहिरो र डुबानबाट सतर्क रहन आग्रह

कहाँ–कहाँ छ बढी जोखिम ? सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसलाई ‘अलर्ट’ रहन आग्रह


२५ असार २०७७, बिहीबार
raining

काठमाडौं, २५ असार । नेपालमा हिजो (बुधबार) रातिदेखि नै मनसुन थप सक्रिय भएको छ ।
आज (बिहीबार) देखि तीन दिनसम्म देशभर भारी वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् ।

दक्षिण भारतीय क्षेत्रमा रहेको मनसुनको न्यून चापीय रेखा उत्तर अर्थात् नेपालतर्फ नजिकिएकाले कम्तीमा अबका चारन दिन लगातार भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् ।

‘पानी त पहिलादेखि नै परिरहेकै छ, तर अबका तीन–चार दिन मनसुन बढी सक्रिय हुने देखिएको छ,’ मौसमविद् पौडेलले भने, ‘जसले गर्दा वर्षा अझ बढ्ने र कतिपय स्थानमा दुई–तीनसम्मै नउघ्रिएर झरी परिरहने सम्भावना समेत छ ।’

तर कतिपय सञ्चारमाध्यमले भनेजस्तो यो वर्षकै बढी वर्षा हुने भन्ने कुरा चाहिँ सत्य नभएको पनि उनले बताएका छन् । ‘वर्षा अलि बढ्छ भन्न खोजिएको हो,’ उनले भने, ‘तर यो वर्षकै बढी वर्षा हुन्छ भनेर अहिल्यै नाप्न सकिने कुरा होइन ।’

उनका अनुसार न्यून चापीय रेखा जति नेपालतर्फ नजिकिँदै जान्छ, त्यति नै यहाँ वर्षाको मात्रा बढ्दै जान्छ । यसआधारमा आजदेखि नेपालमा यसअघि भइरहेको वर्षाभन्दा अलि लामो समय र ठूलो वर्षा हुने अनुमान छ ।

केहि दिन देशभर भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले समेत सर्वसाधरण नागरिकलाई आग्रह गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो । प्राधिकरणका अनुसार आजदेखि आइतबारसम्म प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रमा साना खोला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।

भोलिदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्छ । विषेशगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउन सक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई थप सर्तक रहन सूचनामार्फत आग्रह गरिएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुबानको खतरा रहेको पनि प्राधिकरणले जनाएको छ ।
ठूला नदीमा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ उपलब्ध हुने जनाएको छ ।

यसैबीच अबको चार दिन अहिलेसम्मकै धेरै पानी पर्ने भन्ने कुरा गलत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष मनसुन सुरु भएदेखि नै राम्ररी पानी परिरहेको र आजदेखि मनसुन थप सक्रिय मात्रै हुने महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
लगातार पानी परिरहेकाले हिजो अस्तिदेखि नै बाढी, पहिरो र डुबान भइरहेको र मनसुन थप सक्रिय हुँदा अझै सतर्कता अपनाउन मात्र आग्रह गरिएको उनको भनाई छ ।

सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसलाई ‘अलर्ट’ रहन आग्रह
मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सूचना जारी गर्दै २५ देखि २८ असारसम्म यस वर्षको सबैभन्दा धेरै वर्षा हुने अनुमान गरेको छ ।

सम्भावित विपत्तिपछिको उद्धारका लागि ‘अलर्ट’ रहन प्राधिकरणले नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटीलगायतका निकायलाई पनि आग्रह गरेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा हुन सक्ने भएकाले यस क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढ्न सक्ने प्राधिकरणको अनुमान छ ।

वर्षाकै कारण पहाडमा पहिरो तथा तराई क्षेत्रमा बाढी र डुबानको खतरा रहेको प्राधिकरणले जनाएको छ । ‘पहाडी क्षेत्रको खोलानाला तथा खहरेमा बाढी आउने सम्भावना छ । पहाडको माटो लामो वर्षाका कारण गलिसकेको हुँदा पहिरो जान सक्छ । त्यसैले चनाखो रहन आग्रह गर्दछौँ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७