आइजिपी शैलेश थापा क्षेत्री : इमानको पदचाप पछ्याएर शिखरमा

शैलेश थापा क्षेत्रीले प्रहरीको कमाण्डमा सम्हालेपछि प्रहरी संगठनको गुमेको विश्वास फर्किएने आशा


२५ असार २०७७, बिहीबार
IGP shailesh Thapa

काठमाडौं, २५ असार । बुबा अर्थात् नेपाल प्रहरीको इतिहासमा एकजना आर्दश प्रहरी अवकाशप्राप्त नायब महानिरीक्षक (डीआईजी) शम्भु थापा क्षेत्रीको पदचाप पछ्याएर प्रहरी सेवामा प्रवेश गरेका शैलेश थापा क्षेत्रीले विहिबारदेखि प्रहरीको कमाण्ड सम्हालेका छन् । बुबाले हिडेको पदचाप पछ्याउदैं जादा बुवाले नपाएको अवसर उनले पाएका छन् ।

प्रहरी निरीक्षकका रुपमा १९ वैशाख २०४९ मा फौजमा प्रवेश गरेका थापा क्षेत्री प्रहरीको २८ औं आइजिपी बन्दै गर्दा उनको मात्रै होइन प्रहरी संगठनकै सकरात्मक सन्देश प्रवाह भएको छ । सबैले लेखेका छन्, ‘इमानदार नेतृत्व प्रहरीको सर्वोच्च पदमा ।’ सँगै सकरात्मक आशा पनि पलाएको छ, ‘इमानको साथ काम गर्दा पनि सर्वोच्च पदमा पुग्न सकिन्छ ।’ सायद, उनको सफलता इमानको साथमा काम गर्नेहरुका लागि उत्प्रेरणाको बिषय बनेको छ । 

आइजिपी ठाकुर प्रसाद ज्ञवालीले ३० वर्षे सेवाहदका कारण २४ असार २०७७ बुधबारदेखि अवकाश पाएपछि सरकारले थापा क्षेत्रीलाई वरिष्ठताको आधारमा २३ असार २०७७ मा आइजिपिमा नियुक्त गरेको हो ।

नेपाल प्रहरीको २८ औं प्रहरी आइजिपी थापा क्षेत्रीलाई गृह मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दज्र्यानी चिह्न प्रदान गरे । सधैं हुने आइजिपीका दज्र्यानी कार्यक्रमभन्दा विहिबारको फरक थियो । कारण थियो, आइजिपी थापा र आइजिपीको प्रतिस्पर्धामा रहेका उनका सहकर्मी एआइजी हरि पाल ।

IGP Nepal

सधैं आइजिपी बढुवामा अस्वस्थ्य प्रतिस्पर्धा हुन गरेको थियो । तर थापा क्षेत्री र पालबीच यति सौहाद्र थियो, की थापा क्षत्रीले आफ्ना सहकर्मीको नाम लिएर मिलेर काम गर्ने बताए । एआइजी पालले पनि साथीलाई आइजिपी भएकोमा खुलेर बधाई दिए । एआइजी पालले नेपाल प्रहरीमा देखाएको यो संस्कारको पनि उत्तिकै प्रशसा भएको छ ।

थापा क्षेत्रीले दज्र्यानी चिह्न प्राप्त गरेपछि पूर्ण इमानका साथ काम गर्ने प्रतिबद्धता जनाए । विधान, ऐन र नियमले निर्दिष्ट गरेको सिमाभित्र आफ्नो क्षमता र विवेकले भ्याएसम्म निस्वार्थरुपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उनको भनाई थियो । थापाले विहिबार नै प्रहरी मुख्यालय पुगेर कार्यभार सम्हाले । थापा क्षेत्रीले २२ महिना अर्थात् १८ वैशाख ०७९ सम्म प्रहरीको नेतृत्व गर्नेछन् ।

इमानको तागत
२०२५ मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका–५ मा जन्मिएका थापा क्षेत्री २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका हुन् । नेपाल प्रहरीमा १६ जना इन्स्पेक्टर खुला प्रतिस्पर्धाबाट पहिलो नम्बरमा भर्ना भए । त्यसयता उनले जुन ठाउँमा कमाण्ड गरेर बसे प्रसंशा र सम्मान पाए । सहकर्मीदेखि सामान्य जनताले समेत थापा क्षेत्रीको कामलाई भने, ‘आहा ।’

थापा क्षेत्री २०५८ फागुन १० गते डिएसपी, २०६७ पुस २० गते एसपी, २०७४ साउन १९ गते एसएसपी, २०७५ असोज २८ गते डिआइजी र २०७६ चैत ९ गते एआइजीमा बढुवा भएक थिए ।

एसएसपीमा देखि यता उनी निरन्तर पहिलो नम्बरमा बढुवा भए । कामको आधारमा पाएको वरियता नै उनको लागि आइजिपी भन्ने पहिलो आधार बन्यो । अर्को आधार उनको इमानदारिता हो, सेवामा प्रवेश गरे यता थापा क्षेत्री कहिल्यै विवादमा परेनन् । उनका सहकर्मी तथा पूर्व प्रहरी अधिकारीहरु भन्छन्, ‘उनीमाथि कहिल्यै प्रश्न उठेनन् ।’

उनका सहकर्मीहरुका अनुसार थापा राजनीतिक दौडधुप र लबिङ्गमा कहिल्यै लागेनन् । उनी काम र इमानकै आधारमा वरियतामा अग्रस्थानमा रहे । जानकारहरु शालिन र भद्र छविका थापा क्षेत्रीले प्रहरीको गरिमा गुम्ने गरी केही काम नगर्ने बताउँछन् । कार्यरत एक प्रहरी अधिकृत भन्छन्,‘राम्रो हुने धेरै ठुलो आशा छ, धेरै राम्रो नभएपनि प्रहरीको गरिमा गुम्ने गरी नराम्रो चै केही हुन्न यो चै म ढुक्क साथ भन्न सक्छु ।’  राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापा क्षेत्रीले कमाण्ड र स्टाफ कोर्ष, लिडरसिप एण्ड म्यानेजमेन्ट ट्रेनिङ प्रोग्राम लगायत विभिन्न १७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त गरेका छन् ।

थापा क्षेत्रीले दुर्गम सेवा पदक, दैवीप्रकोप पिडीतोद्वार पदक, गद्दी आरोहण रजत पदक, प्रसिद्ध सेवा पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथो लगायतका विभूषणबाट पाएका छन् ।

फर्किएला विश्वास ?
पछिल्लो समयमा प्रहरीप्रतिको विश्वास गुमेको छ । प्रहरीभित्रको गुटबन्दी कुनै पार्टीको जन वर्गिय संगठनभन्दा बढी रहेको बताइन्छ । आइजिपी सर्वेन्द्र खनाल महानिरीक्षकमा नियुक्ति हुँदा प्रतिष्पर्धी डीआईजी रमेश खरेलले राजीनामा दिए ।

त्यसपछि दोस्रो वरीयतामा रहेका एआइजी पुष्कर कार्कीलाई पनि खनालले सँगै लिएर अघि बढ्न चाहेनन् । बरु कार्कीलाई सकेसम्म निषेध गर्न चाहे । खनालको बिरुद्दको मुद्दा अहिले पनि अख्तियारले हेरीरहेको छ । खनालका पालमा प्रहरीलाई बदनाम गर्ने गरी अनेकौ काण्ड भयो । अवकाशपछि खनालले जे गरे त्यसलाई प्रहरीलाई नै बदनाम बनायो ।

प्रहरीमा सबैभन्दा बढी गुटबन्दी भएको समय हो, उपेन्द्रकान्त अर्यालका पालामा । उपेन्द्रकान्तको पालामा प्रतिष्पर्धी राजेन्द्रसिंह भण्डारीसँग बढो तिक्त्ततापूर्ण सम्बन्ध रह्यो । भण्डारी प्रहरी मुख्यालय जाने वाताबरण नै भएन । पूर्व प्रहरी अधिकृतहरु अर्यालको कार्यकाललाई बिर्सनलायक समयको रुपमा व्याख्या गर्छन् ।

अर्यालपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले जयबहादुर चन्दलाई वरियता मिचेर आइजिपीमा बढुवा गर्‍यो । त्यसपछि अन्याय भयो भन्दै प्रतिस्पर्धी नवराज सिलवाल सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगे । मुद्दा दायर गरे । त्यसपछि सरकारले तेस्रो वरीयताका प्रकाश अर्याललाई प्रमुख बनायो । सिलवालले सर्वाेच्च अदालतमा रिट निवेदन दिए । अदालतले खारेज गरीदियो । यसपछि सिलवाल राजिनामा दिएर राजनीतिमा आए । उनी अहिले सत्तारुढ नेकपाका सांसद छन् ।

त्यसयता प्रहरीमा असाध्यै अस्वस्थ्य प्रतिस्पर्धा चलिरहेको छ । वरियता मिचेर अर्थात् नेताको शक्तिको बलमा ‘जम्प’ गरेर बढुवा हुने क्रम चलिरहेको छ । निवर्तमान आइजिपिसँगै दुई एआइजीहरु घर गएका छन् । अब दुई डिआइजीलाई तुरुन्तै एआइजी नियुक्ती हुनेछ ।

सम्भवत उनको इमानको पहिलो परिक्षा यहीबाट सुरु हुनेछ, वरियताले उनका ब्याचमेटमा डिआइजी निरजबहादुर शाही र प्रद्युम्न कार्की एआइजीमा नियुक्त गर्नुपर्ने हुन्छ । तर शक्तिकेन्द्रको दबाबमा वरितायामिचेर आएकाहरु फेरि एआइजी बन्ने दौडमा छन् ।

वरियता मिच्नका लागि उनीमाथि अनेकौ दबाब पर्ने निश्चित छ । तर उनले त्यो अनुचित दबाब अस्वीकार गर्न सक्छन् वा सक्दैनन् ? उनको परिक्षा यहीबाट सुरु हुने सुरक्षा मामिलमा जानकारहरुको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७