अझै सँगै हिडनुछ, नेताहरुमाथि अपमान र गाली बन्द गरौं : राजेन्द्र राई


२५ असार २०७७, बिहीबार
rajendra Rai scaled

काठमाडौं, २५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य राजेन्द्र राईले नेताहरु विरुद्ध अपमान गर्ने, गाली गर्ने र अनेकन आरोप लगाउन बन्द गर्न कार्यकर्ताहरुलाई अपिल गरेका छन् । अझै सँगै हिड्नु रहेको उल्लेख गर्दै नेता राईले कित्ता छुट्याएर नेताहरुमाथिको गाली हानिकारक हुने बताएका छन् ।

नेता राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कमबेसी गाली दोहोरो छ तर गालीको पनि विश्लेषण गर्ने हो भने पूर्वमाओवादी भन्ने कित्ता छुटयाएर गाली गरिएको छ । पार्टीलाई पनि र नेकपा अध्यक्ष प्रचण्डलाई पनि तर प्रतिक्रिया स्वरूप बाहेक (पूर्व माओवादी भनी गरिएको गालीलाई जवाफ दिँदा बाहेक) पूर्वएमाले भनी कित्ता छुट्टयाएर गाली गरेको पाइन्न, पार्टीलाई पनि, व्यक्तिलाई पनि र गाली त सबै बेठीक छन् ।’

नेता राईले पार्टी एकताको जस लिने, फल खाने, अनि एकीकरणको चाहिँ विरोध गरिएको भन्दै रोक्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘अझ एकताले दिएको सफल परिणामको जस चाहिँ लिन खोज्ने, त्यो सफलताको फल पनि खाइरहने अनि एकताको विरोध गर्ने, एकता गर्नु नै बेठीकथ्यो भन्ने, एकताको सह–पार्टनरलाई गाली, अपमान गर्ने, यो किमार्थ न्यायोचित हुन सक्दैन, दोहोरो चरित्र हुन जान्छ ।’

नेकपाको प्राप्त उपलब्धी तत्कालिन एमाले र माओवादी तालमेलको उपलब्धी भएको उनले लेखेका छन् । दुबै पार्टीबीच तालमेल नभएको भए यो उपलब्धी नआउने उल्लेख गर्दे एकजनाले मात्रै जस लिनु गलत हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘पूर्व एमाले र माओवादी चुनावी तालमेल गरेर सफलता हासिल गर्ने, पार्टी एकता गरेर बलियो बहुमतको सरकार बनाउने, प्रम बन्ने, बनाउने, त्यसको रस्वादन गर्ने अनि पूर्व माओवादी भन्दै गाली गर्ने, पार्टी, व्यक्ति, आफ्नै पार्टीको एक अध्यक्ष प्रचण्डलाई, अनि एकता गल्ती भयो भन्ने, यस्ता कुरा किमार्थ उचित भएन, होइन ।’

नेता राईले पश्चिम बंगाल, पूर्वी युरोप र सोभियत युनियन विघटनबाट पाठ सिक्न आग्रह गरेका छन् । भनेका छन्, ‘चुनावकै माध्यमबाट जगजगी मच्चाएको छिमेकमा, पश्चिम बङ्गालमा कम्युनिष्टको पतन, साम्राज्यवादी अमेरिकालाई उछिनेर विश्वको पहिलो शक्ति बन्दै गरेको सोभियत संघ को लगायत पूर्वी युरोपको समाजवाद ढलेको पनि देख्यौ ।’

उनले थप लेखेका छन्, समाजवादी रोमानिया को राष्ट्रपतिले आज भन्दैथिए, सत्ता परिवर्तन हुनु भनेको सुन्तलाको रुखमा स्याउ फल्नु जस्तै हो, उनले भनेको भोलिपल्ट जनताले सुन्तलाको रुखमा स्याउ झुन्डयाई दिए र समाजवादी सत्ता उडाई दिए, यो पनि देख्यौ, हामी त सत्तामा भर्खर आको हो, फेरि गो देशमा क्रान्ति भयो भनिए पनि हो कि होइन जस्तो, कम्तीमा रूस, र चीनको भन्दा, हाम्लाई दिँदै आएको परिभाषा भन्दा धेरै दुब्लो अथवा सामन्तवाद बिरुद्दको वा पुँजीवादी क्रान्तिको नेतृत्व श्रमिक वर्ग वा त्यसको अगुवाइ गर्ने कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्र हुन्छ र क्रान्ति पछिको सत्ता पनि श्रमिक वर्ग वा त्यसको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको हातमा आउँछ, नेपालमा त्यो दुवै भएन त्यसैले गर्नु मात्र होइन टिक्न को लागि पनि सुदृढ एकता चाहिन्छ, त्यसैले कसैले कसैलाई गाली नगरौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७