पटक–पटक सीमा अतिक्रमण हुँदै आएका चार स्थानमा सशस्त्र प्रहरीको बिओपी स्थापना


प्रकाशित मिति : 10 July, 2020 7:42 am

फाइल फोटो

कञ्चनपुर, २६ असार । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले बिहीबार कञ्चनपुरका विभिन्न स्थानमा चार वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ ।

सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुर्नवास नगरपालिका–१० दोधा, बेलौरी नगरपालिका–२ थापा चोक, सोही नगरपालिकाको वडा नं १० को भुडा र महाकाली नगरपालिका–१ बैलबन्दमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट स्थापना गरिएका हुन् ।

सशस्त्र प्रहरीको ७ नम्बर बाहिनीका बाहिनीपति (डिआइजी) हरिशङ्कर बुढथोकीले चारवटै बिओपीको उद्घाटन गरे । बिओपी उद्घाटन गर्दै उनले सीमा क्षेत्रमा भारतीयतर्फबाट हुने घुसपैठ रोक्नका लागि सहज हुने बताए ।

सीमा अपराध र सीमा अतिक्रमणलगायत समस्या समाधानका लागि सशस्त्र प्रहरीले चौबीसैं घण्टा गस्ती गर्दै आएको बताए । स्थापना गरिएका बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जवानलाई खटाइएको छ ।

सीमा क्षेत्रमा केही दिनभित्रै थप चार वटा बिओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुले बताए । उनका अनुसार सीमा क्षेत्रमा यसअघि १० वटा सशस्त्र प्रहरीका बिओपी रहेका थिए ।

चार वटा थप भएपछि बिओपीको संख्या १४ पुगेको छ । सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ गरिएपछि चोरी, तस्करी, सीमा अतिक्रमणलगायत समस्या हट्दै गएका छन् । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्