काजकस्तानमा देखियो कोरोनाले भन्दा बढी मृत्यु गराउन सक्ने घातक अज्ञात ‘निमोनिया’


२६ असार २०७७, शुक्रबार
d2aa7a126b6928736888d51d9fd9fff1 w1000 h500 cp

काठमाडौं, २६ असार । संसारभर कोरोना महामारी फैलिरहेका बेला काजकस्तानमा कोभिड–१९ भन्दा पनि झन् खतरनाक प्रकृतिको ‘अज्ञात निमोनिया’ रोग शुरु भएको बताइएको छ ।

पूर्व सोभियत मुलुक काजकस्तानमा सो रोग जुन महिनादेखि शुरु भएको भन्दै त्यहाँस्थित चिनियाँ दूतावासले सबैलाई सतर्क रहन आह्वान गरेको छ ।

‘यो रोगका कारण हुने मृत्युु दर कोरोना भाइरसले हुने भन्दा बढि छ । काजकस्तानका स्वास्थ्य विभागहरुले यो निमोनिया भाइरसबारे अध्ययन अनुसन्धान गरिरहेका छन् तर त्यसको कारण पहिचान अझै हुनसकेको छैन,’ सो दूतावासले त्यहाँ रहेका चिनियाँ नागरिकहरुलाई सचेतनाका लागि जारी गरेको सूचनामा भनिएको छ ।

चिनियाँ दूतावासले यसलाई ‘अज्ञात निमोनिया’ भनेको छ भने काजकस्तानकै अधिकारी र मिडियाले भने यसलाई निमोनिया मात्र भनेका छन् । चिनियाँ दूतावासले यसलाई फरक ढंगबाट व्याख्या गर्नुको आधार भने प्रष्ट्याएको छैन ।

दूतावासले त्यहाँका अत्यरउ र एक्तोवे प्रदेशहरु र श्येमकेन्ट शहर लगायतमा त्यस्ता बिरामीको संख्या जुनको मध्यदेखि ह्वात्तै बढेको जनाएको छ । दूतावासका अनुसार ती ठाउँहरुमा अहिलेसम्म निमोनियाका बिरामीको संख्या ५०० पुगेको र तीमध्ये ३० जना गम्भीर अवस्थामा छन् ।

नुर–सुल्तान शहरको हेल्थकेयर विभागका प्रमुख सउले किसिकोभाले त्यहाँ दैनिकरुपमा ‘करिब ३०० जना मानिसलाई निमोनिया भएर अस्पताल भर्ना हुने गरेको’ बताएका छन् । त्यहाँको एक समाचार एजेन्सीका अनुसार जुन महिनामा देशभर १७ सय निमोनियाका बिरामी भेटिएको र सो संख्या गत वर्ष सोहि अवधिको भन्दा दोब्बर हो ।

काजकस्तानमा कोरोना संकट सामना गर्न मार्च १६ मा आपतकाल लगाइएको थियो । मे ११ मा लकडाउन हटाइएको थियो । तर निमोनियाको समस्या देखिएपछि फेरि क्वारेन्टिन लगायतका निषेधात्मक व्यवस्था शुरु गरिएको छ ।

त्यहाँका राष्ट्रपतिले बुधबार विशेष सम्बोधन गर्दै कोभिड–१९ को समस्या नसुल्झिँदै ठूलो संख्यामा निमोनियाका बिरामी देखिएपछि थप जटिलता देखिएको बताएका थिए । स्रोत : साउथ चाइना मर्निङ पोस्ट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७