पहिरोका घाइते भन्छन्, ‘राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होशमा आउँदा हिलोमा गाडिएका रहेछौं’

कास्की, लमजुङ, म्याग्दी गरी हालसम्म ११ जनाको मृत्यु, १६ को उद्धार, १० घर पूर्ण क्षति


२६ असार २०७७, शुक्रबार
Pahiro Ghaite scaled

पोखरा, २६ असार । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही छमेकीलाई निम्ता गरिएको थियो ।

सराङकोटको तल्लो भाग सेदीका १९ वर्षीय अनिस तामाङ पनि पिङ्की दिदी (मितबाबुको छोरी) को जन्म दिन मनाउन साँझ गोठादी पुगेका थिए । साँझदेखि नै निरन्तर पानी परिरहेको थियो । जन्मदिनको ‘सेलिब्रेसन’ सकिएपछि राति १०ः३० बजेतिर खाना खाएर केही छिमेकीहरु आ–आफ्नो घरतिर लागे ।

परिवारका सदस्य तथा आफन्त भने १२ बजे मध्यराति पिङ्कीलाई अन्तिम पटक शुभकामना दिएर मात्र सुत्ने योजनामा डेढ घण्टा गफ गरेर बसे । ‘सेलिब्रेसन सकिएपछि कोही आफ्नो घर जानु भयो भने हामी भने ठ्याक्कै १२ बजे दिदीलाई अन्तिम पटक शुभकामना दिएर सुत्ने योेजनाअनुसार गफ गरेर बस्यौं ।’ पहिरोमा परी घाइते भर्ई मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका तामाङले भने, ‘१२ बजे राति सबैले दिदीलाई ‘लास्ट बर्थ डे वीस’ गरेर आ–आफ्नो कोठामा सुत्न गयौं ।’

अनिससहित सात जना एउटै कोठामा सुतेका थिए भने आठ जना अन्य कोठामा थिए । तर उनीहरुको सुतेको दुई घण्टामा नै घर पहिराले बगायो । माथिबाट पानीको भेलले पर्खाल भत्किएपछि घरसमेत सँगै पहिराले बगाएको थियो । पहिरो आएसँगै आफू बेहोश भएको र घरमुनिको बारीको बाँसको झ्याङ नजिक कुनामा हिलोमा गाडिएको अवस्थामा होशमा आएको तामाङले बताए ।

BasudevPaudel Pokhara RSS 26 20200710 0837271

घटनाको स्मरण गर्दै उनले भने, ‘सुत्ने बेलामा ठूलो पानी परिरहेको थियो, अरु केही थाहा भएन, पछि होसमा आउँदा हिलोमा गाडिएको र टाउको चलाउन नसक्ने अवस्थामा रहेछु, घर भत्किएको रहेछ, उठेर अलि माथि गएको रश्मी भाइ (अर्का घाइते) रहेछ, उसलाई लिएर गएर उसको बाबालाई घटनाबारे भन्यौं ।’ अन्य घाइतेसँगै आफूलाई बिहान ५ बजेतिर अस्पताल ल्याइएको उनको भनाइ छ ।

अर्का घाइते रश्मी थापामगरले पनि होशमा आएपछि मात्र घटनाबारे जानकारी भएको बताइन् । ‘केही पनि थाहा भएन । पछि एक्कासी बारीमा रहेछु, टाउकोबाट रगत आइरहेको रहेछ, पिङ्की दिदी,अनिस दाइ, कृपा, इसिका भाञ्जीसहित हामी सात जना एउटै कोठामा थियौं’ थापाले भनिन् ।

छिमेकी चिजा गुरुङले आफू र छोरी राति १० बजे जन्मदिनको कार्यक्रममा सहभागी भएर फर्किएको र थापाका परिवारका सदस्य तथा दमौलीबाट आएका सालीको परिवारसहितका व्यक्ति घरमा रमाइलो गरेर बसिरहेको बताए । पहिरोमा परी पिङ्कीका बाबु, आमा ४५ वर्षीया सोममाया थापा, आफन्त ११ वर्षीया इशिका थापामगर र छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको थियो ।

BasudevPaudel Pokhara RSS 26 20200710 0837272 1

घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएको र उनीहरुको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

सोही वडाका वडाध्यक्ष रणबहादुर थापाले ठूलो पानी परेपछि कृषि सडक भन्दा माथि पहिरो गएको र त्यसले नालाको पानी बन्द भएको र शाखाबाटामा लगाएको पर्खालसहित भत्किएर घर पहिरोले क्षति पुर्‍याएको बताए । उनले भने, ‘बाढीका कारणले नै घटना घटेको हो, पहाडको आडमा जोडिएको घर भएकाले पहिराले बगाएपछि हार गुहार समेत भएन ।’

यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्राकृतिक विपत्तीबाट प्रभावितहरुका लागि उद्धार र राहतका लागि सरकारले जिल्लास्थित सबै निकायहरुलाई परिचालित गरिएको बताएका छन् । प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोका कारण जनधनको क्षति भएपछि आज एक विज्ञप्ती जारी गरी उनले पहिरो र बाढीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट व्यक्त गरेका छन् ।

प्रदेशका कास्की, लमजुङ, म्याग्दीलगायतका जिल्लामा गरी हालसम्म ११ जनाको मृत्यु भएको तथा १६ जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए । पहिरोका कारणले १० घर पूर्ण क्षति भएको र तीन घरमा आंशिक क्षति भएको तथा कतियपय मानिस अहिले पनि बाढी र पहिरोमा हराइरहेकाले उनीहरुको खोजविन तथा उद्धारमा सुरक्षाकर्मी परिचालन गरिएको मन्त्री चुमानले विज्ञप्तीमा उल्लेख गरेका छन् । समस्याग्रस्त क्षेत्रहरुमा विपद् व्यवस्थापन समितिमार्फत खाद्यान्न, त्रिपाल तथा बन्दोबस्तीका सामानहरुको व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७