धर्ना, जुलुस र वादप्रतिवाद छोडेर पीडामा रहेका जनताको सेवामा जुटौं : शंकर पोखरेल


२६ असार २०७७, शुक्रबार
Shankar Pokhrel 1

काठमाडौं, २६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य तथा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले धर्ना, जुलुस र वादप्रतिवादका सबैखाले गतिविधिहरु स्थगन गरेर पीडामा रहेका जनताको सेवामा जुट्न नेकपाका कार्यकर्ताहरुलाई अपिल गरेका छन् । पोखरेलले जनता कोभिड–१९ र वाढी पहिरोको पीडामा रहेको उल्लेख गर्दै उनीहरुको सेवाको अपिल गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री पोखरेलले पार्टीको आन्तरिक विवाद छोडेर जनताको सेवामा लाग्न अनुरोध गरेका हुन् । उनले भनेका छन्, ‘ वेमौसमी बाजाको कर्कस धुन कसैलाई प्रिय हुदैन ।’ पार्टी भित्र तिव्र विवाद भएपछि प्रदेश ५ बाट काठमाडौं आएका मुख्यमन्त्री पोखरेल विवाद समधानको बाटो तर्फ लागेपछि कार्यक्षेत्र वुटवल गएका छन् ।

पार्टीको विवाद समधानको बाटोतिर उन्मुख भएपछि आफू वुटवल फर्किएको पनि बताएका छन् । उनले लेखेका छन्, ‘पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरुको सकारात्मक साथ सहयोग रहने विश्वासका साथ म आजै कार्यक्षेत्रमा (वुटवल) फर्किएको छु । पार्टी एकतालाई दुर्घटनामा पर्नवाट जोगाउदै सम्वादको प्रकृयालाई अघि वढाउन भूमिका खेल्नुहुने सबै धन्यवादको पात्र हुनुहुन्छ ।’

मुख्यमन्त्री पोखरेलले पार्टी एकताले नै आजको शक्ति आर्जन भएको उल्लेख गर्दै पार्टी एकताको रक्षावाट नै उज्यालो भविष्य सुनिश्चित हुने बताएका छन् । भनेका छन्, ‘पार्टी एकताको रक्षाका लागि एकताको मुलमर्म र भावनाको अनुशरण गरौ। निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन सक्दैन ।’

मुख्यमन्त्री पोखरेलले नेपाल–भारत बीचको सिमाविवाद समाधानगर्ने उद्देश्यकासाथ नेपालका सबै भूभाग समेटिएको नक्सा प्रकाशन पछि मुलुक सम्वेदनशील मोडमा उभिएको बताएका छन् । भनेका छन्, ‘सबै राजनीतिक दलको समर्थनमा संविधानको अनुसूचीमा त्यसलाई समावेश गरिएको छ ।’

यो ऐतिहासिक कदम नेपाली स्वाभिमान र अखण्डताको रक्षाको राष्ट्रिय संकल्प भएको उनको भनाई छ । भनेका छन्, ‘छिमेकी भारत त्यसवाट आक्रोसित बनेका वेलामा त्यसको नेतृत्वगर्ने प्रधानमन्त्रीलाई सिंगो राष्ट्र एकभएर साथ दिनेवेलामा पार्टीमै विवाद देखिनु राम्रो होइन । यसप्रति सबैको ध्यान अवश्य गएको हुनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७