अख्तियार प्रमुख र कर्मचारी बनेर पैसा असुल्ने ‘ज्योतिष’ अर्जुन थापाको समूह पक्राउ


२६ असार २०७७, शुक्रबार
Arjun Chhetri

काठमाडौं, २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम लिँदै जग्गा व्यवसायीसँग गैरकानुनी रुपमा पैसा असुल्नमा सक्रिय आफूलाई ज्योतिष भन्ने अर्जुन थापा क्षेत्री समूह पक्राउ परेको छ ।

काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–२ चपलीका जग्गा व्यवसायीसँग पैसा असुल्ने क्षेत्री समूहका ९ जना पक्राउ परेको हो ।

आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले आफूलाई ज्योतिष बताउने अर्जुनकुमार थापा क्षेत्री, विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शङ्करविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेललाई बिहीबार पक्राउ गरिएको हो ।

आयोगले उनीहरुको अनुसन्धान जारी राखेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।उनका अनुसार आरोपीमाथि आयोगमा उजुरी परेको छ भनी आपराधिक लाभ लिन खोजी मोबाइल फोनबाट सूचनाकर्तालाई पटकपटक मिसकल गरेको, फोन रिसिभ गर्दा आफूहरु अनुसन्धान अधिकृत भनेको पाइएको छ ।

आयोगमा उजुरी परेको, अनुसन्धान प्रक्रिया जारी रहेको, अनुसन्धान रोक्ने भए मलाई भेटनुस् भन्नेजस्ता एसएमएस पठाएको, फोन गरी भेट्न बोलाई डर धम्की दिएको पाइएको छ ।

ओरोपीले डरधम्की दिई बार्गेनिङ गरेर रकम मिलाएको भन्ने सूचनाका आधारमा आयोग र महानगरीय अपराध महाखाशाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

आरोपीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पठाइएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७