नेकपा विवाद हल गर्न धैर्य र संयम आवश्यक : प्रधानमन्त्री


२७ असार २०७७, शनिबार
kp oli2020 07 11 05 55 25

काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी ओलीले नेकपाभित्र शक्ति संघर्ष चर्किएका वेला पार्टीभित्रको आन्तरिक विवाद आपसी छलफलबाटै टुंगिने भएकाले धैर्य र संयम हुन आग्रह गरेका छन् ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाको नाम नलिए पनि पार्टीभित्र चर्किएको आन्तरिक विवादलाई संकेत गर्दै त्यस्तो आग्रह गरेका हुन् ।

‘अहिले कतिपय राजनीतिक विषय–सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्छ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वाभाविक हो । महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्न उठ्नु अन्यथा पनि होइन । जुनसुकै राजनीतिक दलभित्र हुने विवाद र बहस आन्तरिक हुन् ।

त्यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित दल र राजनीतिक नेताहरूकै हो,’ प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन्, ‘पार्टीभित्र हुने यस्ता बहस, छलफल र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै टुंग्याउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।’

नेकपाभित्र प्रधानमन्त्री पदबाट आफ्नो राजीनामा माग भइरहेको सन्दर्भलाई समेत संकेत गर्दै ओलीले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न, नेपाली जनताबीचको एकता कायम गर्न र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि हदैसम्मको प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘अहिले चर्चामा रहेका राजनीतिक परिदृष्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चासो र संवेदनशीलता बढेको पनि पाइन्छ । म आश्वस्त पार्न चाहन्छु, आमनेपालीबीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान माथि उठाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरोतर्फबाट दृढ अडान र हदैसम्मको प्रयास जारी रहनेछ,’ प्रधानमन्त्रीले भनेका छन् ।

दलभित्रको आन्तरिक विमति वा समस्या भए पनि सरकार महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित हुने उनको भनाइ छ ।

‘यतिवेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट विमुख हुन कसैले पनि मिल्दैन । मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै पनि हालतमा पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ र रहनेछ,’ प्रधानमन्त्रीले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७