१० दिनमै वृद्धि भयो पेट्रोलियम पदार्थको मूल्य

उपत्यकामा पेट्रोल १०२ रुपैयाँ, डिजेल र मट्टीतेल ८८ रुपैयाँ प्रतिलिटरमा बिक्री


२७ असार २०७७, शनिबार
petrol

काठमाडौं, २७ असार । नेपाल आयल निगमले १० दिनभित्रै दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

यसपटक व्यवसायीलाई मनग्यै नाफा हुने गरी मूल्यवृद्धि गरिएको छ ।आयल निगमले ९ दिनअघि मात्र १७ असारबाट लागू हुने गरी पेट्रोल ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २–२ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

फेरि शुक्रबार रातिबाट लागू हुने गरी पुनः पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँ बढाएको हो । मूल्यवृद्धिपछि शनिबार बिहानबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय २ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेल ८८ रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ ।

शुक्रबार साँझ निर्णय गरेर मूल्यवृद्धि गर्दा पेट्रोलपम्प व्यवसायीलाई ठूलो फाइदा पुग्छ । किनभने, अन्य दिनको तुलनामा शुक्रबार धेरै इन्धन बिक्री हुन्छ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने निगमको थानकोट डिपोले शुक्रबार पेट्रोल ६ लाख ५० हजार र डिजेल ६ लाख ५० हजार लिटर बिक्री गरेको छ । यसअघि सो डिपोले दैनिक पेट्रोल, डिजेल समान ४ लाख ५० हजार लिटर बिक्री गर्दै आएको थियो ।

शनिबार र आइतबार बिहानसम्म उपभोक्तालाई पुग्ने इन्धन वितरण गर्न पेट्रोलपम्प व्यवसायीले अन्य दिनको तुलनामा शुक्रबार धेरै इन्धन खरिद गर्छन् । यही मौकामा व्यवसायीसँग मिलेमतो गरी निगम अधिकारीहरूले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएका हुन् ।

मिलेमतोमा गरिएको मूल्यवृद्धिपछि थानकोट डिपोबाट तेल लैजाने ३ सय ३७ पम्प व्यवसायीले मात्रै करिब ९ लाख रुपैयाँ अतिरिक्त आम्दानी गरेका छन् । नियमित रूपमा भने पेट्रोलमा ३ रुपैयाँ ७० पैसा र डिजेलमा २ रुपैयाँ ७५ पैसा प्रतिलिटर नाफा निगमले सुनिश्चित गरिदिएको छ ।

निगम प्रवक्ता विनीतमणि उपाध्यायले १ जुलाई (अर्थात् १७ असार)मा प्राप्त नयाँ मूल्यसूचीअनुसार मूल्यवृद्धि गरेको जानकारी दिए । ‘१ जुलाईमा नै मूल्य धेरै बढेर आएको थियो । त्यसैले हामीले त्यतिवेला नै मूल्य समायोजन गर्ने तयारी गरेका थियौँ,’ उनले भने, ‘विविध कारणले पछि सरेर शुक्रबार निर्णय भएको हो ।’

आयल निगमले १७ असारबाट देशभर भित्रिने पेट्रोल ४१.९२ रुपैयाँ र डिजेल ४५.०८ रुपैयाँ प्रतिलिटरमा किनिरहेको छ । सोही खरिद मूल्यमा घाटा भएको दाबी गर्दै मूल्यवृद्धि गरी पेट्रोल १ सय २ र डिजेल ८८ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो ।

पम्प व्यवसायीलाई करिब ३० लाख नाफा

देशभरमा प्रत्येक दिन पेट्रोल सवा १३ लाख लिटर र डिजेल करिब ३८ लाख लिटर खपत हुन्छ । एक पम्प व्यवसायीका अनुसार अन्य दिनको तुलनामा शुक्रबार देशभरमा पेट्रोल १० लाख लिटर र डिजेल २० लाख लिटरसम्म बढी खरिद हुने गरेको छ ।

यो हिसाबले पेट्रोल र डिजेलमा १ रुपैयाँ मूल्यवृद्धि गर्दा पम्प व्यवसायीले एकै दिनमा ३० लाख रुपैयाँ अतिरिक्त नाफा आर्जन गर्न सक्ने देखिन्छ । किनभने, पम्प व्यवसायीले शुक्रबार दिउँसो पुरानै मूल्यका आधारमा पेट्रोल, डिजेल खरिद गरेका छन् । र, सो इन्धन शनिबारबाट वृद्धि गरिएको नयाँ मूल्यका आधारमा बिक्री गरेर फाइदा उठाउँछन् । देशभर १ हजार ५ सय ५८ पम्प छन् ।

स्वचालित प्रणाली लत्याइयो
आयल निगमले १३ असोज ०७२ देखि स्वचालित मूल्य प्रणालीका आधारमा इन्धनको मूल्य समायोजन गर्दै आएको थियो । तर, पछिल्लो समय निगमले आफूअनुकूल मूल्य समायोजन गरी स्वचालित प्रणालीको बेवास्ता गर्न थालेको छ ।

इन्डियन आयल कर्पोरेसनले १ र १६ गते नयाँ मूल्य पठाउने र सोहीअनुसार मूल्य समायोजन गर्नुपर्नेमा निगमले आफूअनुकूल मूल्य बढाएर नाफा लिँदै आएको छ । स्वचालित मूल्य प्रणाली लागू नगर्दा जारी लकडाउनको चैत, वैशाख र जेठ महिनामा मात्र निगमले करिब ३ अर्ब रुपैयाँ नाफा आर्जन गरिसकेको छ ।

मूल्यवृद्धिपछि पनि ५० लाख नोक्सान

आयल निगमले मूल्यवृद्धिपछि पनि निगमलाई आगामी १५ दिनमा ५० लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरेको छ । प्रवक्ता उपाध्यायले भने, ‘अहिले भाउ बढाएर पनि हामीलाई नाफा छैन । अझै घाटामै तेल बेचिरहेका छौँ ।’

उनले अन्तर्राष्ट्रिय बजारभाउ बढ्न थालेकाले निगमले खरिद गर्ने मूल्य पनि बढेर आइरहेको दाबी गरे । निगमले पछिल्लो १० दिनमा करिब ६ करोड रुपैयाँ नोक्सान समेत व्यहोरेको उनले बताए ।

अहिले मूल्यवृद्धिपछि सबैभन्दा बढी खपत हुने डिजेलमा निगमलाई ५ करोड ७५ लाख रुपैयाँ नोक्सान छ । त्यस्तै, पेट्रोलमा ३ करोड नोक्सान छ । तर, खाना पकाउने एलपी ग्यासमा ५ करोड २८ लाख नाफा रहेकाले पेट्रोल र डिजेलको घाटालाई पूर्ति गर्न सजिलो भएको प्रवक्ता उपाध्यायले बताए । ‘मट्टीतेल र हवाई इन्धनमा पनि केही नाफा हुँदा समग्र वासलातमा ५० लाख नोक्सान हुन पुगेको छ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७