जाजरकोट पहिरो : बेपत्ता थप दुईको शव भेटियो, मृतकको संख्या नौ पुग्यो


२७ असार २०७७, शनिबार
jajarkot

जाजरकोट, २७ असार । जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्की टोलमा गएको पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव आज (शनिबार) भेटिएको छ ।

योसहित मृतकको संख्या नौ पुगेको छ । पहिरोले दुई घर बगाउँदा पाहुन आएका दुई जनासहित १२ जना बेपत्ता भएका थिए ।

पहिरोमा परी बेपत्ता ३८ वर्षीय कलु सार्की र उनका ६ वर्षीय छोरा सुभास सार्कीको शव फेला परेको हो । यसअघि शव फेला परेर पनि पहिचान हुन नसकेका कुशे ९ चौराटाका १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्कीको पहिचान भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए । उनीहरु दिदीको घरमा पाहुन आएका थिए ।

पहिरोमा बारेकोट ४ का ५२ वर्षीय गोपाल सार्की र उनका ११ वर्षका छोरा अर्जुन सार्की र त्यस्तै कलु सार्की (दिदी) को घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १८ वर्षका विरेन्द्र सार्की र कलु सार्कीकी १४ वर्षीया छोरी तिर्सा सार्कीको पनि शव पहिचान भइसकेको थियो । उक्त पहिरोमा पुरिएर अझै तीन जना हराइरहेका छन् ।

पहिरोले गाँउ नै बगाउन थालेपछि बारेकोटका विभिन्न गाँउका दुई सय बढी परिवार विस्थापित भएका छन् । घाइते दुई जनालाई शनिबार हेलिकोप्टरले उद्दार गरेर उपचारका लागि सुर्खेत लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७