तीन वटै सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन : क्षतिको खतरा कायमै छ, उद्धारका लागि ‘अलर्ट’ रहनू


२८ असार २०७७, आईतवार
Kp oli मन्त्रिपरिषदको नियमित बैठक २०७७ आषाढ १५ scaled

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी ओलीले बाढीपहिरोको प्रकोपबाट क्षति बढ्न सक्ने भन्दै पूर्वतयारीमा तीव्रता दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

शनिबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले विपत् लम्बिन सक्ने भएकाले उद्धारका लागि ‘हाई अलर्ट’ रहन तीनवटै सुरक्षा निकायलाई पनि निर्देेशन दिए ।

‘मनसुन सुरु भइसक्यो । पहिरो जाने क्रम जारी छ । बाढी आउने खतरा पनि उत्तिकै छ । विगतझैं यस पटक पनि धेरैको ज्यान जान सक्छ । त्यसैले उद्धारमा खटिन सुरक्षा निकाय चुस्त हुनुपर्‍यो । उद्धारपछिको व्यवस्थापनका लागि अन्य निकाय पनि खटिनु पर्‍यो,’ प्रमुख प्रतिपक्षी दलका नेतादेखि तीन वटै सुरक्षा निकायका प्रमुखसम्म रहेको परिषद् बैठकमा प्रधानमन्त्री ओलीले भने ।

मनसुन अझै दुई महिना लम्बिने हुँदा खतरा कायमै रहेको प्रधानमन्त्री ओलीले भनाइ थियो । ‘मनसुन अझै दुई महिनासम्म रहन्छ । यस अवधिमा बाढी र पहिरोको जोखिम उच्च रहन्छ । जोखिम अब टर्‍यो भन्ने होइन । दुई महिनासम्म थप बढ्न सक्छ । सरोकारवाला सबैले आवश्यक तयारी साथ जनधनको क्षति न्यूनीकरण गर्न जुट्नु पर्‍यो,’ उनले भने ।

हेलिकोप्टर सबै ठाउँ उद्धार गर्न जान नसक्ने हुँदा आधुनिकीकरणको थप उपाय अपनाउन पनि प्रधानमन्त्री ओलीले बैठकमा निर्देशन दिए । उनले भने, ‘बाग्लुङमा गएको पहिरोमा हेलिकोप्टर जान सकेन भन्ने सुनियो । पानी पर्दा कुहिरो लाग्छ ।

कुहिरोमा हेलिकोप्टर जान नसक्ने हुन सक्छ । त्यस्तो ठाउँको उद्धार गर्न अन्य उपाय अपनाउनुपर्‍यो । हेलिकोप्टर जान सकेन भनेर उद्धार गर्न नजाने भन्ने हुँदैैन । विशेष गरी सुरक्षा निकाय यसमा सचेत रहनुपर्‍यो । उद्धार नपाएर ज्यान गएको खबर सुन्न नपरोस् ।’

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादललगायतका मन्त्री, प्रधानसेनापति पूर्णचन्द थापा, मुख्यसचिव लोकदर्शन रेग्मी, गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रमुख शैलेश थापालगायतका सरोकारवाला निकायका प्रमुख सहभागी थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७