बलिउड अभिनेता अमिताभ बच्चनका बाबु–छोरालाई नै कोरोना, अस्पताल भर्ना


२८ असार २०७७, आईतवार
amitabh bachchan and abhishek bachchan

काठमाडौं, २८ असार । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । दुवैलाई शनिबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ ।

७७ वर्षीय बच्चन आफैले ट्वीट गरेर यसको जानकारी दिएका हुन् । ‘मलाई कोरोना पोजेटिभ देखिएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालका अधिकारीहरूलाई यसबारे सूचित गरिएको छ,’ उनले ट्वीटमा लेखेका छन्, ‘परिवार र कर्मचारीको पनि परीक्षण गरिएको छ, रिपोर्ट आउन बाँकी छ । पछिल्ला १० दिनमा मसँग सम्पर्कमा आउनु भएका सबैले परीक्षण गराउनु होला ।’

उनीहरूलाई संक्रमण पुष्टि हुनासाथ परिवारका सबै सदस्य र कर्मचारीलाई सेल्फ आइसोलेसनमा राखिएको भारतीय सचारमाध्यमहरुले जनाएका छन् । बच्चन बाबु छोरालाई कसरी कोरोना संक्रमण भयो भन्ने यकिन भएको छैन ।

अभिताभ पछिल्ला दिनमा सोनी टेलिभिजनबाट प्रसारण हुने ‘कौन बनेगा करोडपति’ को १२ औं अडिसनको तयारीमा थिए । महाराष्ट्र राज्य सरकारले कोरोना संक्रमणको जोखिम समूह मानिएका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर निस्केर कुनै काम गर्न अनुमति दिएको छैन । सोही कारण बच्चनले ‘कौन बनेगा करोडपति’ को सुटिङ शुरु गर्न पाएका छैनन् ।

उनी रणवीर कपुर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदै छन् । यसअघि फिल्म ‘गुलाबो–सिताबो’ मा देखिएका थिए । यस फिल्ममा उनको साथमा आयुष्मान खुराना मुख्य भूमिकामा छन् ।

भारतमा राजनीतिज्ञ, सिनेमा जगतका व्यक्तिहरु र आम मानिसले बच्चन बाबु छोराको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७