म्याग्दीका पहिरो पीडित भन्छन्, ‘तान्दा–तान्दै श्रीमती र दुई छोरीलाई पुर्‍यो’

पहिरोले २७ जनाको मृत्यु, बेपत्ता तीन जना जीवितै सम्पर्कमा, अझै चार जना बेपत्ता


२८ असार २०७७, आईतवार
Magdi pahiro

म्याग्दी, २८ असार । धवलागिरी गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन ।

‘बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए’, हीराका श्रीमान् धनबहादुरले भने, ‘अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दा–तान्दै पहिरोले बगायो ।’ पहिरोमा भाग्ने क्रममा घाइते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिए ।

जुग्जालीका छोरा अर्जन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए । करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा सहेर बसेका धनबहादुरले शनिबार साँझ अस्पताल आएपछि दुःखाई कम भएको सुनाए । ‘खेतबारी, गोठ र घर सबै पहिरोले बगायो’, उनले भने, ‘न बस्ने घर छ । न जीवनमा साथ दिने श्रीमती र साना छोरीहरु रहे ।’

पहिरोमा घाइते भएका १२ जनाको शनिबार दिउँसो नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । पहिरो खस्न थालेपछि घरभित्र सुतिरहेकी आमा ताजिमा केसी र साथी सविन पुनलाई उद्धार गर्न गएका धवलागिरी गाउँपालिका–६ कल्लेनीका १६ वर्षीय प्रकाश केसी पहिरोमा पुरिए ।

घरछेउको खोल्सामा बाढी र माख्लाको भिरबाट पहिरो खस्न थालेपछि शुक्रबार बिहान १ बजे छिमेकी परदेवी पुनकहाँ गएका केसी आमा र साथीलाई भगाउन बिहान ५ बजेतिर घर गएका थिए ।

‘मामा (प्रकाश) ले राति १ बजे आएर हामीलाई उठाउनु भयो । बिहानै उपल्लो कल्लेनी जाने भनेर बसेका थियौं’, पहिरोमा भाग्ने क्रममा घाइते भएकी परदेवीले भनिन्, ‘पाँच बजेतिर उज्यालो हुन लागेपछि खोला कत्रो आयो हेर्छु, सविन र आमालाई उठाएर ल्याउँछु भनेर गएका मामालाई हेर्दाहेर्दै पुर्‍यो । हामीलाई पनि भाग्दाभाग्दै ढुङ्गाले चोट लाग्यो ।’

धवलागिरी, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोले २७ जनाको मृत्यु भएको छ । बेपत्ता भएका तीन जीवितै सम्पर्कमा आएका छन् । चार अझै बेपत्ता छन् । धवलागिरी–६ मराङका १८, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए ।
कटान नियन्त्रणका लागि श्रमदान अभियान

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा नदी कटान नियन्त्रणका लागि शनिबार ग्याबियन पर्खाल लगाउन श्रमदान अभियान चलाइएको छ । गाउँपालिकाको अगुवाइमा शनिबार बेनी, पिप्ले र भगवतीका युवाले श्रमदान गरेर ग्याबियन पर्खाल लगाएका हुन् । जोखिमयुक्त ठाउँमा १० थान जाली भरिएको छ । ५० देखि ६० युवाले श्रमदान गरेर सहयोग गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

रघुगङ्गा नदीले कटान गरेको ठाउँमा थप क्षति हुन नदिनका लागि ग्याबियन पर्खालका साथै बेनी–जोमसोम–कोरला सडक आयोजनासँगको समन्वयमा ठूला ढुङ्गा थुपारिएको छ । अध्यक्ष भण्डारी आफै पनि युवाहरुसँग श्रमदान गरेर ढुङ्गा फुटाउने र पर्खाल लगाउने ठाउँसम्म पुर्‍याउने काममा खटिएका थिए ।

रघुगङ्गा नदीमा शनिबार आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पूर्णरूपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएको छ ।

बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्छ । रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ ।

रघुगङ्गा–३ मा पर्ने राहुघाटका ३० घर कटानको जोखिमका कारण विस्थापित भएका छन् । स्थानीय बासिन्दालाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको छ । ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको स्थानीयवासीले बताएका छन् । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७