१० हजार रिक्सा चालक संकटमा, भन्छन्, ‘खानै गाह्राे छ, कहाँबाट तिर्नु रिक्सा किन्दाको ऋण’


२८ असार २०७७, आईतवार
rikshaw

कैलाली, २८ असार । कैलालीका रिक्सा चालक व्यवसाय नचलेपछि संकटमा परेका छन् । तीन महिनासम्म रिक्सा चलाउन नपाएका रिक्सा व्यवसायी रिक्सा चले पनि यात्रु नपाएपछि चिन्तामा परेका हुन् ।

सिद्धि विनायक यातायात प्रालि टीकापुरका महासचिव रामशरण रेग्मीका अनुसार कैलालीमा करिब १० हजार रिक्सा छन् । रिक्सा व्यवसाय नचलेपछि १० हजार नागरिकको रोजीरोटी सङ्कटमा परेको रेग्मी बताउछन् । तीन महिना पूर्णरूपमा रिक्सा बजारमा आउन सकेनन्, आजभोलि चलाउन खोजेका छन् तर यात्रु छैनन् । रिक्सा चालकको पेशा सङ्कटमा परेको छ, उनले भने ।

कोरोना भाइरस सङ्क्रमणले मुलुक नै अस्तव्यस्त भएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले सबैभन्दा बढी असर सामाजिक र आर्थिक क्षेत्रमा परेको छ । कैलालीको जानकी गाउँपालिका–६ का मङ्गल चौधरीले गएको माघ महिनामा इलेक्ट्रोनिक रिक्सा किने। माघ १० गते छ लाख २२ हजार रुपैयाँ ऋण गरेर रिक्सा किनेका मङ्गलले दुई महिना राम्रोसँग रिक्सा चलाए ।

‘दुई महिनापछि चैत ११ गते देश नै लकडाउन भयो । असार महिनादेखि लकडाउन केही खुकुलो भएपछि रिक्सा बजारमा ल्याउन थालें’, मङ्गलले भने, ‘ऋणमा रिक्सा किनें तर चलाउनै पाइनँ । बैंकले ब्याज र किस्ता तिर्न ताकेता गरेको छ । मलाई त रिक्सा किनेर तनाव भयो, अब ऋण कसरी तिर्नु ?’

जानकीकै रवीन्द्र नेपालीलाई पनि रिक्सामा यात्रु नपाउँदा समस्या भएको छ । उनलाई पनि ऋण कसरी तिर्ने, परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको छ । तीन महिनापछि रिक्सा चलाउँदा पनि यात्रु पाइन्न, हिजो त दिनभरि यात्रु कुरें, एक जना पनि पाइनँ, रवीन्द्रले भने, ‘घर पनि कसरी चलाउने रु यही पेशाबाट परिवार पालेको थिएँ, अब त भोकमरी होला जस्तो छ ।’

रिक्सा चालक राजकुमार चौधरीले पनि दुई वर्षअघि ऋण गरेर रिक्सा किने। उनले दुई वर्ष राम्रो कमाइ गरे । रिक्सा किन्दाको ऋण दुई वर्षमै चुक्ता गरे, तर कोरोना भाइरस सङ्क्रमण फैलिएपछि रोकथामका लागि भएको लकडाउनको असरले दैनिकी भने चल्न मुस्किल भएको छ ।

दैनिक दुई हजार रुपैयाँदेखि चार हजासम्म कमाइ हुन्थ्यो, अब नियमित बचत गर्छु र घर चलाउँछु भन्ने सोचेको थिएँ, राजकुमार भन्छन्, तीन महिनामा घर खर्चमा ५० हजार रुपैयाँ ऋण लागिसकेको छ, न त रिक्सा चल्छ, जीवन तनावमय भएको छ ।

रिक्सा चालकलाई कोरोनाको डरले निर्वाध रिक्सा चलाउन पनि कठिन भएको छ। रिक्सा चालक गुजारा गर्नै गाह्रो भएको गुनासो गर्न थालेका छन् । रिक्सा चालक जनक परियारले यही पेशाबाट परिवार पालेकालाई जीवन निर्वाह गर्न कठिन भएको बताए ।

शुरुमा त कोरोना सङ्क्रमण होला भन्ने डर थियो, अब त भोकै मरिन्छ भनी डर हराएको छ, जनकले भने, यात्रु कुरेर बस्छौं, यात्रु पाए पनि एक जना मात्रै बस्न खोज्छन्, यात्रु पनि धेरै जनासँगै बस्न चाहँदैनन्, अनि कसरी आम्दानी हुनु रु पेट्रोल हाल्न कठिन भएको छ ।

सिद्धि विनायक यातायात प्रालिका महासचिव रेग्मी कोरोना भाइरस सङ्क्रमणको असर सबैतिर परेकाले रिक्सा चालकलाई केही समय ऋणको किस्ता नमाग्न, ब्याज मिनाहा गर्न माग गरेको बताउँछन् । हामीले स्थानीय सरकारलाई ब्याज मिनाहाका लागि बैंकसँग पहल गरिदिन अनुरोध गरेका छौं । रिक्सा चालक ब्याज मिनाहा नभए पेशाबाट विस्थापित हुने निश्चित छ, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७