३० वर्षदेखि पहिराेको सन्त्रास


२८ असार २०७७, आईतवार
kumpur pahiro

सल्यान, २८ असार । सल्यानको कपुरकोट गाउँपालिका–३ मा ६ मिटर जमीन भासिएको छ । यही कारण बजारकै छेउमा रहेका घर ढल्केका छन् । सन्त्रासमै ढल्केको घरमा करीब ६ वर्षअघिदेखि व्यवसाय सञ्चालन समेत स्ञ्चालन हुँदै आएको छ ।

कपुरकोट–३ मा रहेको खारा पहिराले यहाँका करीब सयभन्दा बढी घरधुरीलाई जोखिमले पिरोलिइरहेको वर्षाै बितेको छ । उनीहरुले यस ठाउँ छोडेर न त कतै अन्त जान सके न राज्यले कुनै वैकल्पिक व्यवस्थापका लागि पहल गरेको छ । पहिराले यहाँको विद्यालय समेत भासिएपछि विद्यालयलाई स्थानान्तरण गरिएको छ भने भासिएको करीब एक किलोमिटर सडकको हाल अहिलेसम्म उस्तै रहेको छ ।

पहिरो रोकथामका लागि तीन वर्ष पहिलेदेखि सानोतिनो कार्य गरिरहेको भए पनि पर्याप्त नहुँदा पहिरो रोकिने त कुरै भएन । त्यही बनाउन लागेका संरचनाहरु समेत बर्षेनी बगाउँदै लगेको छ । खारा पहिरामा वर्षातमा मात्र हैन सुख्खा याममा समेत पहिरो जाने गरेको कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले बताए ।

उनले भने, ‘पहिरो रोकथामका लागि सानातिना प्रयास भइरहेका छन् तर पनि यस प्रयासले पहिरो रोकिने छाँटकाँट देखिँदैन । एकातिर बनाउँछाँै अर्कोतिर बगाउँछ, यही लुकामारीले पहिरो थामिने अवस्था छैन ।’ जमीन भासिएकै क्षेत्रफलबाट पहिरो गएमा तुलसीपुर उपमहानगर पालिकाको पातुखोला क्षेत्रमा धनजनको क्षति हुने सम्भावना रहेको उनको भनाइ छ ।

अहिलेसम्म पहिरो रोकथामका लागि रु तीन करोड ८० लाख खर्च भइसक्दा पनि पहिरो रोकिने छाँटकाँट छैन, पहिरोकै कारण खेतीयोग्य जमीन समेत भासिएपछि स्थानीयवासी चिन्तित भएका छन् ।

स्थानीयवासी तिलकबहादुर सेन ठकुरीले भने, ‘२०५२ सालदेखि पहिराको रोकथामका लागि प्रयास गरेका हौं, यहाँको माटो नुनिलो भएकाले जाली छिट्टै गल्ने भएकाले रोकथाममा समस्या भएको छ ।’ पहिराको रोकथाममा लाग्नुभन्दा पनि अब राज्यले जोखिममा रहेको बस्तीलाई अन्यत्रै स्थानान्तरण गरेमा पहिराको सन्त्रास नहुने उनको भनाइ छ ।

जिल्लामै कपुरकोट क्षेत्रमा बढी पानी पर्ने भएकाले पनि पहिराको त्रास बढी भएको स्थानीयवासी पूर्णबहादुर वलीले भने, ‘ठूलो पानी परेको दिन रातभरि निन्द्रा लाग्दैन दिउँसो त भागेर बाँचिएला जस्तो लाग्छ तर रातिमा पहिरो गए बालबच्चा लिएर कता जानु ।’

कपुरकोटको खारा पहिरामा सङ्घीय सरकार समेत जानकार भएकाले यसका बारेमा सोच्नुपर्ने अवस्था आएको कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष मीनबहादुर सेनले बताए । ‘कपुरकोट बजारमै हेर्नुस् जमीन सात मिटर तल भासिएको छ, कति जोखिम छ भन्ने कुरा यहाँहरुले नै देख्नुभएको छ’, उनले भने ।

गाउँपालिकाले पहिराका कारण भत्किएका घरहरुमा नबस्न पटक पटक सार्वजनिक सूचना जारी गरे पनि स्थानीयवासीले नमानेको उनको भनाइ छ । ‘हामीले धेरै पटक उहाँहरुलाई जोखिमपूर्ण घरहरुमा नबस्न सूचना जारी गरेका छौँ तर यसका लागि स्थानीयवासीले मान्नु भएन’, उनले भने ।

अब पहिरो रोकथाममा बजेट खर्च गर्नुभन्दा पनि यहाँका पीडित परिवारहरुलाई स्थानान्तरणको योजना बनाउन आवश्यक भएको उनको भनाइ छ । ‘यही सडकबाट धेरै पटक राज्यका जिम्मेवार व्यक्तिहरु ओहोरदोहोर गरिरहेका छन् तर बजार नै भासिँदा पनि ध्यान जान सकेको छैन पहिरो गएमा यहाँ ठूलो धनजनको क्षति हुने अवस्था छ’, उनले भने ।

खारा पहिरामा नै जग्गा र घर भएकाहरु बढी प्रभावित भइरहेका छन् । जमीनमा ठूलाठूला चिरा परेकाले पनि कतिबेला पहिरो जान्छ भन्ने डरले स्थानीयवासीलाई सन्त्रास बनाउँदै आएको छ । पहिलेको भन्दा पहिरो रोकथामका कारण कम भए पनि ढुक्क भएर बस्न सक्ने अवस्था नभएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७