कोरोना खोपको क्लिनिकल परीक्षण सफल भएको रूसी विश्वविद्यालयको दावी

खोप विकासका लागि शक्ति राष्ट्रहरुको प्रतिष्पर्धा, १३९ वटा खोप परीक्षणमा


२८ असार २०७७, आईतवार
khop

काठमाडौं, २८ असार । रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

‘खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टी’ का सवयमसेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएको छ’, इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नोलोजीका निर्देशक वादिम तारासोभलाई उद्धृत गरी रूसी समाचार संस्था स्पुतनिकले लेखेको छ ।

क्लिनिकल अध्ययनका लागि औषधि दिइएका स्वयमसेवकहरूको पहिलो समूहलाई अध्ययनपछि यही बुधबार ( जुलाई १५) मा डिस्चार्ज गरिने र अर्को समूहलाई पाँच दिनपछि जुलाई २० डिस्चार्ज गरिने उनले बताए ।

‘उक्त विश्वविद्यालयले रूसकै ‘गमलेई इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजी’ संस्थाले जून १८ मा निर्माण गरेको खोपको क्लिनिकल परीक्षण गरेको हो । सेचेनोभ विश्वविद्यालयले कोरोना भाइरसविरूद्ध विश्वको पहिलो खोपको स्वयमसेवकमा सफलतापूर्वक परीक्षण पूरा गरिसकेको छ’, तारासोभले भने ।

‘यो चरणको अध्ययनको उद्देश्य मानव स्वास्थ्यमा खोपको सुरक्षालाई पुष्टि गर्नु रहेको र यो सफलतापूर्वक सम्पन्न भएको छ’, सेचेनोभ विश्वविद्यालयको ‘इन्स्टिच्युट अफ मेडिकल प्यारासाइटोलोजी, ट्रपिकल एण्ड भेक्टर–वर्न डिजिजेज’का निर्देशक अलेकज्याण्डर लुकाशेवले भने ।

स्पुटनिकले लुकाशेभलाई उद्धृत गर्दै लेखेको छ, ‘खोपको सुरक्षाको पुष्टि भइसकेको छ । यसले हाल बजारमा रहेका अन्य खोपले जस्तै सुरक्षाको प्रत्याभूत गर्छ ।’

लुकाशेभको दावी छ, ‘खोपको थप विकास योजना भाइरसको महामारीको जटिलता र उत्पादन बढाउने सम्भावनासहित विकासकर्ताको रणनीतिले पहिले नै निर्धारण गरिसकेको छ ।’

महामारीको समयमा सेचेनोभ विश्वविद्यालयले शैक्षिक संस्थाको रूपमा मात्र नभई औषधि जस्ता महत्वपूर्ण र जटिल अत्पालनहरूको निर्माणमा भाग लिन सक्षम हुने वैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रको रूपमा पनि काम गरिसकेको छ । ताराशेभले भने, ‘हामीले यस खोपको क्लिनिकल अध्ययनभन्दा पहिले (प्रिक्लिनिकल) तथा प्रोटोकल निर्माण र हाल भइरहेको क्लिनिकल परीक्षणमा सहकार्य गरेका थियौं ।’

कोरोना खोप विकासका लागि शक्तिराष्ट्रहरुको प्रतिष्पर्धा
कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा बढिरहेको छ । कडा लकडाउन, व्यापक परीक्षण गरी भाइरस नियन्त्रण गरिएका मुलुकमा समेत महामारीको दोस्रो, तेस्रो लहर चल्ने भय व्याप्त छ ।

जबसम्म भाइरसलाई रोक्ने खोप उपलब्ध हुँदैन, तबसम्म जनजीवन पूर्ववत् बन्न नसक्ने विज्ञहरु बताउँछन् । त्यसैले खोप निर्माणका लागि विभिन्न मुलुकबीच चर्को प्रतिस्पर्धा चलिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल २१ वटा खोप ‘क्लिनिकल’ परीक्षणको चरणमा प्रवेश गरिसकेका छन् । त्यस बाहेक पनि १३९ वटा खोप परीक्षणमा छन् ।

कोरोनाविरुद्धको खोप विकासमा खासगरी चीन, अमेरिका र बेलायतबीच प्रतिस्पर्धा देखिएको छ । जसमध्ये चीन सबैभन्दा अगाडि छ । मानिसमा परीक्षण थालिएका १९ खोपमध्ये ८ वटा चीनका हुन् । तीमध्ये सबैभन्दा अगाडि सिनोभाक र क्यानसिनोका खोप छन् । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७