हेलिकोप्टरको होहल्लामा दब्यो विस्थापितको वेदना

हेलिकोप्टरमा गएका नेताहरू हेलिकोप्टरमै फर्किए, पाखामा पाल टाँगेर बसेका विस्थापितलो न लत्ताकपडा पाएका छन्, न खाद्यान्न


२९ असार २०७७, सोमबार
107693215 584590448836717 674011558720697337 n.jpg .2020 07 13

काठमाडौं, २९ असार । वर्षासँगै बाढीपहिरोले जताततै विस्थापित हुन थालेपछि गाउँठाउँमा हेलिकोप्टर उडाउने प्रतिस्पर्धा चलेको छ ।

विपतको वेला पनि चुनावी सभाजस्तै फरक–फरक हेलिकोप्टर लगेर जाने प्रतिस्पर्धाले राज्यकोष दोहन भएको छ, तर विस्थापितले भने उद्धार र राहत नपाएको गुनासो गरिरहेका छन् ।

सिन्धुपाल्चोकको जम्बु क्षेत्रमा बुधबार राति पहिरो आएपछि बिहीबार बिहानै सभामुख अग्नि सापकोटा सेनाको हेलिकोप्टर लिएर सो क्षेत्र गएका थिए । मौसम खराब भएकाले धुलिखेलमा केही घन्टा रोकिएर उनी चढेको हेलिकोप्टर घटनास्थलतर्फ गएको थियो ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेल र उद्योगमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल पनि हेलिकोप्टरमा गएका थिए । कांग्रेस नेता मोहन बस्नेत पनि हेलिकोप्टर लगेर गएका थिए ।

‘जम्बु क्षेत्रका बासिन्दालाई स्थलमार्गबाटै बाह्रबिसे पुर्‍याउन सकिने अवस्था थियो, तर नेताहरूका हेलिकोप्टर आउँदै छन् भनेर घाइतेलाई पनि पर्खाइएको थियो, मौसम खराब भएकाले नेताका हेलिकोप्टर निर्धारित समयमा पुगेनन्, त्यसैले घाइतेको उपचारमा अनावश्यक ढिलाइ भयो,’ जम्बु क्षेत्रका बासिन्दाको भनाइ छ ।

तातोपानी भन्सारमा शरण लिएका विस्थापित
उता, बिहीबार सिन्धुपाल्चोकमा एकै पटक पाँच हेलिकोप्टरले आकाश थर्काए पनि शुक्रबारदेखि विस्थापितको पीडा मात्र सुन्न सकिन्छ । हेलिकोप्टरमा गएका नेताहरू हेलिकोप्टरमा नै फर्किए । पाखामा पाल टाँगेर बसेका विस्थापितले न लत्ताकपडा पाएका छन्, न खाद्यान्न ।

विस्थापितहरू केहीले आफन्तको घरमा शरण लिएका छन् भने केही सरकारी भवन, होटेल र खाली ठाउँमा पाल टाँगेर बसिरहेका छन् । बाढीपहिरोले बगाएका १४ घरका सहित जम्बुबाट एक सय २० जना आफन्तकहाँ शरण लिएर बसेका छन् ।
आफन्तजनले खानाको जोहो गरे पनि लत्ताकपडा नभएको पीडितहरूले बताएका छन् ।

‘लत्ताकपडा सबै पहिरोमा बगे । पाँच दिनदेखि एकसरो लुगामै छौँ,’ विस्थापित अर्जुन श्रेष्ठले भने, ‘फेर्ने लुगा नभएकाले घरबाहिर निस्कनै समस्या भएको छ ।’ पहिरोमा पुरिएर जम्बुमा दुई जनाको मृत्यु भएको थियो । बेपत्ता १६ जना अझै फेला परेका छैनन् ।

त्यस्तै, खागदलमा २० घरका ८० जना विस्थापित भएका छन् । उनीहरू रुम्टा गाउँमा पाल टाँगेर एकैठाउँमा बसिरहेका छन् । विभिन्न संघसंस्थाले खाद्यान्न दिए पनि लत्ताकपडा नभएको उनीहरूको गुनासो छ । सडक अवरुद्ध भएकाले खाद्यान्न र लत्ताकपडा पु¥याउन नसकिएको बाह्रबिसे नगरपालिका मेयर निम्फुञ्जो शेर्पाले बताए ।

नदीले कटान गरेकाले बाह्रबिसेदेखि नै कोदारी राजमार्ग बन्द छ । जुरेबाट राम्चे, मानेश्वाँरा हुँदै जम्बु पुग्ने वैकल्पिक बाटो निर्माण भइरहेको उनले बताए । सोमबार दिउँसोसम्म कच्ची सडक तयार हुने बताउँदै मेयर शेर्पाले भने, ‘विस्थापितलाई खाना खुवाएर पीडितलाई बचाउने काम गरेका छौँ । कच्ची मोटरबाटो तयार भएपछि सबै व्यवस्थापन गर्ने योजना बनेको छ ।’

त्यस्तै, भोटेकोसी गाउँपालिका–३ लार्चाआसपास नदीतटीय क्षेत्रका एक सय ६२ जना विस्थापित भएका छन् । उनीहरू तातोपानी भन्सार सुक्खा बन्दरगाहको भवनमा बसिरहेका छन् । उनीहरूका लागि भने वडा कार्यालयले खानाको बन्दोबस्त गरेको छ ।

तातोपानी, घट्टेखोला, तामाङगाउँ र यार्मासिङका ८० जना पनि विस्थापित भएका छन् । उनीहरू होटेल स्मल हेभनमा एकैठाउँमा बसिरहेका छन् । जताततै पहिरो गएकाले धेरै गाउँका बासिन्दा विस्थापित भएको नेकपा भोटेकोसीका अध्यक्ष आङछिरी शेर्पाले बताए । दिउँसोभरि पहिरो वरिपरि टहलिए पनि रात परेपछि त्रसित हुने गरेको उनले बताए ।

पहिरोमा परी विस्थापित भएका जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँका ३२ परिवार स्थानीय भगवती आधारभूत विद्यालयमा बसिरहेका छन् । आफन्त गुमाएकाका परिवार विद्यालयमै किरिया बसेका छन् ।

पहिरोमा परी शुक्रबार बेपत्ता भएका १२ मध्ये ११ जनाको शव भेटिइसकेको छ, एक जना अझै हराइरहेका छन् । आइतबार कमला सार्कीको शव भेटिएको हो । उनको दाहसंस्कार गर्न बाँकी छ । अन्य १० जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरूका परिवारजन विद्यालयमै किरिया बसेको स्थानीय शिक्षिक तीर्थराज बोहराले बताए ।

स्तै, बारेकोट गाउँपालिका–६ धुमामा बेपत्ता भएका दुई जना पनि फेलापरेका छैनन् । जुनिचाँदे– १ का डिल्ली चँदारा पनि तीन दिनदेखि फेला परेका छैनन् । बारेकोटको बोहोरा गाउँका १९ परिवार पनि विस्थापित भएको गाउँपालिकाले जनाएको छ ।

पहिरोका कारण गाउँपालिकाभरि पाँच सय परिवार विस्थापित भएकोे प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए । ‘गाउँभरि पहिरो गएको छ । केही घर भत्किएका छन् भने केही जोखिममा परेकाले घर छोडेर सुरक्षित स्थानमा बसिरहेका छन्,’ सिंहले भने ।

पहिरोले बारेकोट–४ का दुई गाउँ चिराचिरा भएका छन् । गाउँभरि दर्जनौं पहिरो गएको स्थानीय लोकेन्द्र बोहराले बताए । ‘गाउँभरि जमिनमा चिराचिरा परेको छ । कतिवेला पहिरो जाने हो भन्ने डरले घरमा बस्न सकिएन,’ घर छाडेर विद्यालयमा बसिरहेका बोहराले भने ।

न्नपात पहिरोमै नष्ट भएकाले विस्थापितहरू समस्यामा परेको उनले बताए । ‘गाउँबाट मकै मागेर पिँध्नका लागि पनि घट्टजति खोलाले बगाएको छ । स्थानीय बजारमा चामल छैन,’ उनले भने । विस्थापितले राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

यसैबीच, पहिरोबाट विस्थापितका लागि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले राहत सामग्री ल्याएका छन् । काठमाडौंबाट हेलिकोप्टरमा राहत सामग्री लिएर आएका मन्त्री बस्नेत खराब मौसमका कारण पहिरो गएको गाउँमा भने पुग्न सकेनन् । राहत लिएर आएको हेलिकोप्टर छिमेकी ठकुरी जिरीगाउँको मकैबारीमा ल्यान्ड गरिएको थियो ।

बाढीपहिरोबाट आइतबारसम्म पश्चिम रुकुममा दुईजनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकाको रेजेखोलामा पहिरोले घर भत्किँदा सीता दमाईं र हाडिल परियारको मृत्यु भएको छ ।

त्यस्तै, हुम्लाको अदानचुली र चंखेली गाउँपालिकामा बाढीले केही घर भत्काएको र स्थानीयको उद्धारका लागि प्रहरी घटनास्थल पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ का एक जनालाई रामघाट खोलाको बाढीले बगाएको छ । उनी बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

संखुवासभामा पहिरोले नौ घर बगाउँदा ११ बेपत्ता, उद्धारमा खटिएका एक युवाको मृत्यु

अविरल वर्षासँगै आइतबार बिहान गएको पहिरोले संखुवासभाको सिलिचोङ गाउँपालिका– १ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीमा जुटेका एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा ५५ वर्षीया हस्तकुमारी राई, उनका छोरीहरू २१ वर्षीया एन्जिला र ११ वर्षीया नम्रता, ६५ वर्षीया गोरीमाया राई र उनकी २२ वर्षीया छोरी प्रकृति हराएका छन् । त्यस्तै, ४५ वर्षीया उत्तरकुमारी राई, ७० वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज राई, ८२ वर्षीया आइतमाया राई, सन्दीप राई र शुभधन राई पनि हराइरहेका छन् ।

हराएकाहरूको खोजी गर्ने क्रममा एकाएक बेहोस भएका स्थानीय २५ वर्षीय मदन राईको मृत्यु भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने डिएसपी मल्लले बताए । उनी दमको रोगी रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

सुरुमा १५ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएका ५५ वर्षीय भीमबहादुर राई, ७९ वर्षीय गोवासिंह राई, ६० वर्षीया फूलमाया राई र उनकी १४ वर्षीया छोरी भीमसरीलाई स्थानीयले जीवितै उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले बताए । उनीहरूमध्ये गोवासिंह गम्भीर घाइते छन् ।

बेपत्ताहरूको खोजीका लागि ताम्कु र सिसुवाटारस्थित प्रहरी चौकीबाट नेपाल प्रहरी र ताम्कुमा रहेको सेनाको टोली घटनास्थल पुगेको छ । तर, पहिरो झर्ने क्रम नरोकिएकाले उद्धार तथा खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । उद्धारका लागि विराटनगरबाट आउन लागेको सुरक्षाकर्मीको टोली खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि रोकिएको छ ।

सदरमुकाम खाँदबारीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५–१५ जनाको टोली तथा सेनाको ३० जनाको टोली बिहान बेसिन्दा गएको सहायक सिडिओ मोहनमणि घिमिरेले बताए । यातायातको सुविधा नभएकाले हिँडेरै सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् ।

संखुवासभाका अन्य गाउँमा पनि पहिरो गएको छ । खाँदबारी नगरपालिका–१ देवकोटा चोकदेखि सातकुवा जाने सडकमा दुई सय मिटरमाथिबाट झरेको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण तीन परिवार जोखिममा रहेका छन् ।

त्यस्तै, खाँदबारी–१ कै ढोलबाजेस्थित सडक पहिरोका कारण आवतजावत अवरुद्ध भएको छ । खाँदबारी–३ मा पहिरोमा परी दुईजना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जलेश्वर बजारमै पस्योे बाढी
महोत्तरी– स्थानीय रातु खोलामा आएको बाढीले महोत्तरीको जलेश्वर बजारसमेत डुबानमा परेको छ । आइतबार बजार क्षेत्रका केही भागमा घुँडासम्म पानी भरिएको छ ।

शुक्रबार रातिदेखि नै एकडारा गाउँपालिका–६ कोल्हुवा र महोत्तरी गाउँपालिकाको रानी रतवाराको बीचमा रहेको तटबन्ध भत्किएर रातो नदी गाउँ पस्न थालेको थियो । लगातार वर्षा भइरहेपछि बाढी पनि बढ्दै गयो । आइतबार बिहान सदरमुकाम जलेश्वर बजारमै पुग्यो । जलेश्वर नगरपालिका कार्यालय भएको क्षेत्रमा तीन फिटजति पानी जमेको छ ।

नदीमा पानीको बहाव कम नभए बाढीले पिपरा, बल्वा, महोत्तरी, जलेश्वर, मटिहानी र एकडारा क्षेत्रमा समेत डुबान गर्ने खतरा छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले रानी रतवारामा भत्किएको तटबन्ध निर्माणका लागि सेनाको टोली खटिइसकेको बताए । जलेश्वरका मेयर रामशंकर मिश्रले प्रभावित क्षेत्रको अवलोकन गरेर सतर्कता अपनाइने बताए ।

त्यस्तै, बिग्ही नदीमा आएको बाढीले मटिहानी नगरपालिकाको सिमरदही, धिरापुर, बहुअर्वा र मटिहानी बजार क्षेत्रमा डुबान गरेको छ । नगरपालिकाले बस्ती नै डुबान हुन सक्ने भन्दै सुरक्षित स्थानतर्फ जान स्थानीयलाई आग्रह गरेको छ ।

जंघा नदीमा पनि पानीको बहाव बढ्न थालेको छ, यसले औरही नगरपालिकाका विभिन्न वडाहरू डुबानमा पर्ने खतरा बढेको छ । जिल्ला विपत् व्यवस्थापन समितिले उद्धार तथा रोकथामका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

मोरङका ४० परिवार विस्थापित

विराटनगर– मोरङका विभिन्न खोलामा आएको बाढी खेतीयोग्य जमिन कटान गरेर बस्ती पस्न थालेपछि ४० परिवार विस्थापित भएका छन् । विराटनगर महानगरपालिका–१२ मा केसलिया खोलाको बाढी गाउँ पस्दा सिमराही टोलका ३० परिवार विस्थापित भएका छन् । उनीहरू सबै स्थानीय बखरी आधारभूत विद्यालयमा बसिरहेका छन् ।

आइतबार चिसाङ खोलामा आएको बाढीले कानेपोखरी गाउँपालिका–२ मा पाण्डव ऋषिदेव र सलस ऋषिदेव, मिक्लाजुङ गाउँपालिका–२ मा रनकुमार राईको घर बगाएको छ । यही खोलाले रंगेली नगरपालिका र बक्राहा नदीले उर्लाबारीका विभिन्न वडामा खेतीयोग्य जमिन कटान गरेको छ । नदी किनार बस्दै आएका कानेपोखरी गाउँपालिका–५ दुःखीटोलका सात परिवार विस्थापित भएका छन् ।

झापामा दुई सय ८२ परिवार विस्थापित
झापा– झापाका विभिन्न नदीमा आएको बाढीले दुई सय ८२ परिवार विस्थापित भएका छन् । आइतबारसम्म ४३ घर पूर्ण रूपमा क्षति भएका छन् भने दुई सय ४९ घर डुबानमा परेका छन् ।

कन्काई माई नदीले आसपासको क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । नदीले कटान गर्दा शिवसताक्षी–१० को १० परिवार विस्थापित भएका छन् । उनीहरू नदीछेउकै चौरमा त्रिपाल टाँगेर बसिरहेका छन् । पीडितहरूले राहत सामग्री नपाएको गुनासो गरेका छन् । यस्तै, झापा गाउँपालिका–७ मदरगाछाका १४ परिवार पनि कन्काईले विस्थापित गरेको छ । उनीहरू स्थानीय जनकल्याण माविमा बसिरहेका छन् ।

पीडितहरूको खानाको व्यवस्थापन गाउँपालिकाले गर्ने अध्यक्ष जयनारायण साहले बताए । झापा गाउँपालिका–१ सालमारामा सात घर पूर्ण रूपमा क्षति भएका छन् । उनीहरू सालमारा प्राविमा बसिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, गौरीगन्ज–१ हुकलाबारीमा ११ घर कन्काई नदीमा आएको बाढीले बगाएको छ । कचनकवल–४ केचनाबस्तीको एक घर बाढीले बगाएको छ । उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

कन्काई माई नदीमा आएको बाढीका कारण झापा गाउँपालिका–१ मिलनबस्ती र सालमाराका एक सय सात परिवार विस्थापित भएको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए । उनीहरू स्थानीय विद्यालयमा बसिरहेको उनले बताए । नदीको टापुजस्तो भएकाले राहत सामग्री लग्न समस्या भएको उनले बताए । ‘अब खाना व्यवस्थापनका लागि चामल–दाल पौडेर लैजान्छौँ,’ उनले भने ।

त्यस्तै, कन्काई माईले घर डुबानमा पर्दा गौरीगन्ज–१ हुकलबारीका ३१ र कमल खोलाले गौरीगन्ज–२ पिन्डारगुटु र भाकुमारीका १८ परिवार विस्थापित भएका छन् । यसैगरी शिवसताक्षी वडा नं. १ र ६ का १५ परिवार पनि घर डुबानमा परेपछि विस्थापित भएका छन् ।

डक्रसका अनुसार कचनकवलका ५० परिवार विस्थापित भएका छन् । भद्रपुर वडा नंं ८ र ३ का २८ परिवार पनि डुबानका कारण विस्थापित भएका छन् । बढीमा परी जिल्लामा एकजनाको मृत्यु भएको छ भने एक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गण्डकी प्रदेशमा एक हजार चार सय ६८ जना विस्थापित

पोखरा–बाढी र पहिरोले गण्डकी प्रदेशमा आइतबारसम्म ३९ जनाले ज्यान गुमाएका छन् । एक हजार चार सय ६८ जना विस्थापित भएका छन् । चार जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक किरण रानाका अनुसार प्रदेशभर बाढीपहिरोले एक सय १६ घर बगाएको छ ।

म्याग्दीमा मात्रै ज्यान गुमाउनेको संख्या २८ पुगेको छ भने चारजना अझै बेपत्ता छन् । ४० घरमा पूर्ण क्षति भएको छ । नौ सय ९६ जना विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

कास्कीमा सात जनाको ज्यान गएको छ । ४५ घरमा क्षति पुगेको छ भने एक सय ९६ जना विस्थापित भएका छन् । विस्थापितलाई स्थानीय निकाय, रेडक्रस सोसाइटीलगायत संघसंस्थाले सहयोग गरेका छन् । उनीहरूका लागि त्रिपाल र खाद्यान्नलगायतको व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

jajarkot samuhik.jpg .2020 07 13

बाढीपहिरोबाट लमजुङमा तीनजनाको मृत्यु भएको छ । ७२ जना विस्थापित भएका छन्, १६ घरमा क्षति पुगेको छ । ३३ घर उच्च जोखिममा छन् । त्यस्तै, तनहुँमा एक सय ५० जना विस्थापित भएका छन् ।

मानवीय क्षति नभए पनि ४२ घरमा क्षति भएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए । स्याङ्जामा एकजनाको ज्यान गएको र १२ घरमा क्षति भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । ५४ जना विस्थापित छन् ।

पहिरोको त्रासले रातभर सुत्दैनन् भोजे र चिप्लावासी

लमजुङ– आकाशमा कालो बादल मडारिन थालेपछि क्व्होँलासोंथर गाउँपालिका–७ भोजे र मस्र्याङ्दी गाउँपालिका–५ माथिल्लो चिप्लाका बासिन्दाको मनमा डर बढ्न थाल्छ । वर्षा भए कतिवेला पहिरोमा परिने हो भन्ने त्रासले उनीहरू रातभर निदाउन पनि सक्दैनन् ।

यी दुई गाउँ वर्षौँदेखि पहिरोको जोखिममा छन् । ‘कतिवेला पहिरो जाने हो, थाहा छैन,’ भोजेका स्थानीय तक्मा विकले भने, ‘कसरी सुत्न सकिन्छ र ?’ भोजेको पहिरोबाट गत वर्ष ६ घर विस्थापित भएका थिए ।

स्थानीय राजु गुरुङका अनुसार अहिले पनि ३० घर विस्थापित हुने अवस्थामा छन् । पहिरोले घर बगाउने जोखिम बढेपछि गत वर्ष नै स्थानीय मैखु गुरुङको परिवार गाउँकै आमा समूहको भवनमा सरेको छ । सुकबहादुर गुरुङ, तीर्थमाया गुरुङ र टेकबहादुर गुरुङको परिवार पनि घर छाडेर आफन्तकहाँ आश्रय लिएर बसेको स्थानीय ईश्वर गुरुङले बताए ।

‘कोही विस्थापित भएर पोखरा जान थाले । कोही गाउँमै आफन्तकहाँ शरण लिन बाध्य छन् । पहिरोमा पुरिने डरले गाउँले बसाइँ सरेर अन्यन्त्र जान बाध्य भएका छन्,’ ईश्वरले भने । भोजेमा ०४६ देखि पहिरो जान थालेको उनले बताए ।

त्यस्तै, मस्र्याङ्दी गाउँपालिकाको चिप्लामा पनि पहिरोबाट आठ घर विस्थापित भइसकेका छन् । तल्लो चिप्लाका १७ र माथिल्लो चिप्लाका २२ घर जोखिममा रहेको विस्थापित बेलबहादुर गुरुङले बताए । उनका अनुसार दुई ठाउँबाट पहिरोले च्याप्न थालेपछि स्थानीय त्रासमा छन् । पहिरोको त्रासले उपल्लो चिप्लाका पाँच परिवार गत वर्ष नै गाउँमाथि आधा घन्टा लाग्ने क्रमुचे डाँडा र प्रोजुमा बसाइँ सरेका थिए ।

यहाँ हिउँदको समयममा समेत पहिरो खस्ने गरेको स्थानीय विष्णु गुरुङले बताए । ‘माथिबाटै पहिरो आउन थाल्यो भने गाउँ पूरै लैजाने डर छ । भिरालो ठाउँ भएकाले केही भन्न सकिँदैन,’ उनले भने । पहिले ८५ घरधुरी रहेको गाउँमा पहिरो जान थालेपछि बसाइँ सर्नेको संख्या बढ्दो छ । माथिल्लो र तल्लो गाउँ गरी अहिले ४० घर मात्रै बाँकी रहेको स्थानीय पञ्चबहादुर गुरुङले बताए । यो पहिरो खस्न थालेको दुई दशकभन्दा बढी भएको स्थानीय बताउँछन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७