लोकसेवा अधिकृतले जब छोरीको परीक्षाको उत्तर आफै लेखिदिए …


२९ असार २०७७, सोमबार
Student 1

काठमाडौं, २९ असार । कर्णाली शाही (परिवर्तिन नाम) नेपाल वायुसेवा निगमको सहायक चौथो तहको परीक्षा दिन २०७६ जेठ ११ मा परीक्षा केन्द्र पुगिन् ।

वस्तुगत परीक्षाको उत्तरपुस्तिकामा सबै प्रश्नको उत्तर अंग्रेजी ‘सी’ लेखिन् र बाहिर निस्किइन् । उनलाई सबै प्रश्नको उत्तर ‘सी’ लेख्न उनकै बुबा मिमबहादुर शाहीले सल्लाह दिएका थिए । पछि ती सबै उत्तर मिलेको भेटियो ।

शाखा अधिकृत मिमबहादुर शाही लोकसेवा आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखाअन्तर्गत लिखित नतिजा तयारी शाखामा कार्यरत थिए । उनी त्यहाँ कार्यरत रहेकै अवस्थामा छोरी कर्णालीले नेपाल वायुसेवा निगमको सहायक चौथो (खरिदार सरह) को परीक्षा दिएकी थिइन् ।

उनले वस्तुगत प्रश्नका सबै ५० वटा प्रश्न मिलाएकी थिइन् । अन्तर्वार्ताका लागि छनोट सूचीको पहिलो नम्बरमा उनको नाम थियो । त्यही सूची बोकेर मिमबहादुर सूचना प्रकाशन गर्ने निर्णयको प्रस्ताव बोकेर सचिव आनन्दराज ढकालको कार्यकक्षमा पुगे ।

नतिजा सार्वजनिक गर्नुअघि आयोगले धेरैपटक रुजु गर्छ । त्यसपछि मात्रै अन्तिम स्वीकृतिका लागि फाइल सचिवसमक्ष पुग्छ । त्यस क्रममा सचिव ढकालले कहिलेकाहीं नतिजाको प्राप्तांक र शंका लागेका अन्य विवरणमाथि सोधखोज गर्थे ।

नेपाल वायुसेवा निगमको परीक्षामा सबै उत्तर मिलाएकी कर्णाली (सूचनामा उनको नाम नभई रोल नम्बर थियो) को प्राप्तांक देखेर ढकालले अचम्म माने । उनले कर्मचारीलाई त्यसबारे केरकार गरे ।

तर अधिकृत मिमबहादुरले कुनै गडबड नभएको दाबी गर्दै जसरी पनि त्यही दिन लिखित परीक्षाको नतिजा सार्वजनिक हुनुपर्ने अडान राखे । उनको अस्वाभाविक गतिविधिपछि त्यो दिन कुनै निर्णय भएन, बरु प्राप्तांक रुजु गर्ने र उत्तरपुस्तिका समेत फेरि हेर्ने निर्देशन भयो ।

त्यही क्रममा छानबिन हुँदा कर्णालीले वस्तुगत प्रश्नको सबै उत्तरमा अंग्रेजी ‘सी’ लेखिएको र पछि त्यसमा थपेर ए, बी र डी बनाइएको देखियो । ‘परीक्षार्थीले कुनै उत्तर नलेखेर खाली छाडे परीक्षा केन्द्रमा खटिने आयोगका कर्मचारीले खाली ठाउँमा रातो मसी लगाएर कोरिदिन्छन्,’ आयोग स्रोतले भन्यो, ‘त्यही भएर सबैमा ‘सी’ उत्तर लेख्न लगाएर पछि आफूअनुकूल हुने गरी ए, बी, डी बनाई दिएको फेला पर्‍यो ।’

परीक्षा केन्द्रबाट उत्तरपुस्तिका संकलन भइसकेपछि कोडिङ गर्ने क्रममा मिमबहादुर स्वयं वा उनीसँग मिलेमतो गर्ने अरू कोही कर्मचारीले अक्षर थपिदिएको पाइएको हो । आयोगमा कार्यरत कर्मचारी आफै वा आफ्नो नजिकका नातेदारले परीक्षा दिनुपरे आयोगमा निवेदन दिई सूचित गर्नुपर्ने व्यवस्था छ । अधिकृत मिमबहादुरले पनि त्यसैगरी निवेदन दिएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘त्यति हुँदाहुँदै पनि उनी कसरी प्रत्यक्ष सामेल भए अनि उत्तरपुस्तिका फेरबदल गरे, आश्चर्यजनक छ ।’

सामान्य छानबिनमा गडबडी पाइएपछि आयोगले कानुन महाशाखाका प्रमुख एवं सहसचिव धर्मराज कुइँकेलको नेतृत्वमा कार्यदल बनायो । कार्यदलले उत्तरपुस्तिकामा वस्तुगत बहुउत्तरका रूपमा लेखिएको ए, बी, सी, डीमा कैफियत भएरनभएको परीक्षण गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठायो ।
आयोग स्रोतका अनुसार, प्रयोगशालाले समेत उत्तर लेख्ने क्रममा पछि केही थप गरिएको भनेर प्रतिवेदन दियो । स्रोतले भन्यो, ‘पहिले सी लेखेर पछि त्यही कलमले जे लेख्नुपर्ने हो, त्यही अक्षर लेखेको भेटियो । त्यसपछि कारबाही प्रक्रिया अघि बढेको हो ।’

यो घटनापछि आयोगले वस्तुगत उत्तर दिँदा ‘स्मल’ नभई ‘क्यापिटल’ ए, बी, सी, डीमा लेख्नुपर्ने भनी नियम बनाएको छ । क्यापिटलमा लेख्दा फेरबदल गर्न त्यत्ति सहज हुँदैन ।

आयोगले ती परीक्षार्थीको सबै प्रक्रिया रद्द गरेको छ । आयोगले गत माघ १ गते नै सूचना निकालेर कर्णाली (रोल नं. ३२९८) को उत्तरपुस्तिका रद्द गरिएको जनाएको थियो । सूचनामा भनिएको छ, ‘उम्मेदवारले उत्तरपुस्तिकामा आफूलाई चिनाउने संकेतहरूको प्रयोग गरी परीक्षाको मर्यादाविपरीत कार्य गरेकाले आयोगको निर्णयअनुसार उत्तरपुस्तिका रद्द गरिएको छ ।’

आयोगले उक्त उत्तरपुस्तिका परीक्षण गर्ने विज्ञलाई पनि कालोसूचीमा राखेको स्रोतले बतायो । आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईंले यसबारेमा केही थाहा नभएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘आज म बिदामा थिएँ, तपाईंलाई सूचना दिन मिल्ने गरी मलाई केही नै थाहा भएन ।’

छानबिनपछि आयोगले अधिकृत मिमबहादुरलाई ५ वर्ष ग्रेड र बढुवा पनि रोक्का गर्ने तयारी गरेको छ । घटनाकै कारण आयोगले फेरि लिखित परीक्षा लिएकाले गत मंसिरमा प्रकाशित हुनुपर्ने नतिजा माघमा मात्रै निकालेको थियो ।

त्यसपछिका ६ महिनासम्म पनि आयोगले किन विवरण गोप्य राख्यो ? आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी देवीप्रसाद सुवेदीले बेलैमा घटनाबारे थाहा भएर अरू प्रतिस्पर्धीलाई असर नपरेकाले घटना सार्वजनिक नभएको बताए ।

‘तहतहको छानबिन सकिएर निचोड निकालेर त्यसका आधारमा थप केही निर्णय हुन्छ होला,’ सुवेदीले  भने, ‘निर्णय भएपछि आयोगले सार्वजनिक गर्छ । छानबिन नै नटुंगिँदै यसो भयो, उसो भयो भन्ने कुरा पनि त भएन ।’ उनले नतिजा आउनुअघि नै आन्तरिक निगरानीले गलत काम नियन्त्रण भइसकेकाले थप क्षति नभएको बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७