कोरोना असर : विश्वभरका एक करोड बालिबालिकाले स्कुल छाड्दै


२९ असार २०७७, सोमबार
student

बेलायत, २९ असार । कोरोना भाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुश्किल रहेको एक अध्ययनले देखाएको छ ।

सेभ द चिल्ड्रेनले यस घटनालाई ‘अभूतपूर्व शैक्षिक आपतकाल’ को संज्ञा दिएको छ । बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्याँक विश्लेषण गर्दै गत अप्रिलमा विद्यालय र विश्वविद्यालयहरु बन्द रहेका कारण विश्वभरका १ अर्ब ६० करोड बालबालिका विद्यालय शिक्षाबाट बन्चित रहेको जनाएको छ । यो संख्या विश्वको कूल विद्यार्थी संख्याका करिब ९० प्रतिशत हुन्छ ।

सेभ द चिल्ड्रेनको प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो मानव इतिहासमा विश्वभरका यति ठूलो संख्यामा बालबालिका पहिलो पटक विद्यालय शिक्षाबाट बन्चित रहेका छन् ।’ अनुमान अनुसार कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटका कारण करिब ९ करोडदेखि ११ करोड ७० लाख बालिबालिका गरिबीको चक्रमा फस्ने छन् । यसको असर बालबालिकाको पुनः विद्यालय भर्नामा पर्नेछ ।

पारिवारिक समस्याका कारण धेरै बालबालिकाहरु काममा लाग्ने वा बालिकाहरुको चाँडो विवाह हुन सक्ने भन्दै प्रतिवेदनमा यही कारण ७० लाखदेखि ९७ लाख बालबालिकाले स्थायी रुपमै विद्यालय छाड्ने देखिन्छ । यस्तै, यही संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा न्यून वा मध्यम आय भएका मुलुकमा शिक्षाको बजेटमा करिब ७७ अर्ब डलरले कमी हुनेछ ।

सेभ द चिल्ड्रेनका कार्यकारी प्रमुख इन्गर आशिङले कोरोना महामारीका कारण करिब एक करोड बालबालिकाले स्कुल छाड्ने देखिएको बताए । उनले सरकार तथा दातृ निकायहरुले तत्कालै शिक्षामा लगानी बढाउनुको विकल्प नरहेको बताए ।

प्रतिवेदनमा विश्वका १२ वटा मुलुकमा सर्वाधिक असर पर्ने उल्लेख छ । ती देशहरुमा नाइजर, माली, चाड, लाइबेरिया, अफगानिस्तान, गिनी, मौरीटानिया, येमन, नाइजेरिया, पाकिस्तान, सेनेगल र आइभरीकोस्ट रहेका छन् । रासस–एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७