विभिन्न विधाका श्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक पुरस्कार, कसले कुन पुरस्कार पाए ?


२९ असार २०७७, सोमबार
CKK KTM BharavRishal scaled

काठमाडौं, २९ असार । सरकारले नेपाली साहित्यमा योगदान पुर्‍याउने श्रष्टाहरुलाई विभिन्न राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पुरस्कार समर्पण कार्यक्रमको आयोजना गरी विभिन्न श्रष्टालाई सम्मान गरेको हो । पर्यटनमन्त्री योगेशकुमार भट्टराईले श्रष्टा तथा व्यक्तित्वहरुलाई पुरस्कार समर्पण गराई सम्मान गरेका थिए ।

पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७६, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट विभिन्न श्रष्टा तथा व्यक्तित्वलाई सम्मान गरिएको हो । कार्यक्रममा मन्त्री भट्टराईले विभिन्न श्रष्टाहरुको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न श्रष्टा तथा व्यक्तित्वहरुलाई प्रदान गरिएको बताए ।

उनले ऋषिमुनिहरुले स्थापित गरेको सहित्य, देशको प्राकृतिक सुन्दरता, भगवान बुद्धले दिएका आदर्श सिद्धान्तलगायत विभिन्न महान व्यक्तित्वले छाडेर गएका आदर्श सिद्धान्तका कारण नेपाल साहित्य सृजनाको भण्डार भएको बताए ।

मन्त्री भट्टराईले जातजाति, संस्कृति, रीतिरिवाज, भाषा साहित्यलाई एकै ठाउँमा राख्ने गरी काठमाडौंको कीर्तिपुरमा राष्ट्रिय सङ्ग्रहालय बनाउने समेत बताए । उनले नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहदेखि नेपालका विभिन्न लोकतान्त्रिक अन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने नेता, साहित्यकार, श्रष्टा, राष्ट्रिय व्यक्तित्वहरुको स्मारक स्थल निर्माण गर्न लागिएको जानकारी दिए ।

कुन विधामा कसले पाए पुरस्कार ?

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६अन्तर्गत संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ, प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट भोजपुरका चन्द्रकुमार राई, प्रदेश नं २ बाट धनुषाका डा. रामसागर पण्डित, बागमती प्रदेशबाट ललितपुरका डा गौतमवीर बज्राचार्य, गण्डकी प्रदेशबाट स्याङ्जाका प्रा ज्ञानबहादुर कार्की, प्रदेश नं ५ बाट कपिलवस्तुका विक्रममणि त्रिपाठी, कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय, सुदूरपश्चिमबाट धनगढीका सुरतबहादुर शाह सम्मानित भएका छन् ।

भाषा साहित्य विधातर्फ प्राडा दयाराम श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ । प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट खोटाङका सुरेश हचेकाली, प्रदेश नं २ बाट बाराका नवराज रिजाल, बागमती प्रदेशबाट काभ्रेपलाञ्चोकका गोपी मैनाली, गण्डकी प्रदेशबाट कास्कीका तर्कना शर्मा, प्रदेश नं ५ बाट दाङका श्रीधर पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका डा ओमप्रकाश आचार्य र सुदूरपश्चिम प्रदेशबाट कैलालीका मिहीलाल उपाध्याय सम्मानित भएका छन् ।

ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार काठमाडौंका श्यामलाल श्रेष्ठले प्राप्त गरेका छन्  । प्रादेशिक प्रतिभा पुरस्कार प्रदेश नं १ बाट सुनसरीका जीवननाथ पोखरेल, प्रदेश नं २ बाट धनुषाका सरितादेवी मण्डल, बागमती प्रदेशबाट ललितपुरका चन्द्रश्याम डंगोल, गण्डकी प्रदेशबाट स्याङ्जाका महेश आचार्य, प्रदेश नं ५ बाट गुल्मीका सुमित्रा राना, कर्णाली प्रदेशबाट कालीकोटका भीमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट डोटीका रवीन्द्रबहादुर चन्द सम्मानित भएका छन् ।

CKK KTM ChandraRai
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा सोमबार आयोजित पुरस्कार समर्पण समारोहमा प्रादेशिक प्रतिभा पुरस्कार ग्रहण गर्दै चन्द्रकुमार राई । तस्वीर : रासस

सङ्गीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिराहाका सत्यनारायण चौधरीले प्राप्त गर्नुभएको छ । प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट ताप्लेजुङका भरत गुरुङ, प्रदेश नं २ बाट महोत्तरीका हिराकुमारी दर्लामी, बागमती प्रदेशबाट रामेछापका केशर कालीकोटे, गण्डकी प्रदेशबाट तनहुँका मनकुमार श्रेष्ठ, प्रदेश नं ५ बाट पाल्पाका लक्ष्मी न्यौपाने, कर्णाली प्रदेशबाट कालिकोटका कृपाराम शर्मा धमला र सुदूरपश्चिम प्रदेशबाट बैतडीका मनोहरराम दमाई सम्मानित भएका छन् ।

यस्तै महाकवि देवकोटा पुरस्कार २०७६ बाट कविता विधाअन्तर्गत तेह्रथुमका मोहन सिटौला, निबन्ध विधातर्फ दाङका प्रा केशव सुवेदी, गद्यख्यान -नाटकतर्फ काठमाडौँका पद्मावती सिंह, बाल साहित्य÷लोक साहित्यतर्फ दैलेखका डा मधुसुदन गिरी र भाषा साहित्यतर्फ भक्तपुरका भैरव रिसाल सम्मानित भएका छन् ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट नाटक विधातर्फ तेह्रथुमका अभि सुवेदी र कविता विधातर्फ धादिङका प्रा घनश्याम उपाध्याय कँडेल सम्मानित भएका छन् ।

पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६ तर्फ राजनीतिक र सैद्धान्तिक विधामा ललितपुरका स्नेहलता गुरुवाचार्य वन श्रेष्ठ, इतिहास विधातर्फ कपिलवस्तुका डा माधवराज पन्थी सम्मानित भएका छन् भने साहित्य, संस्कृति र विज्ञानतर्फ काठमाडौँको राष्ट्रिय आविस्कार केन्द्रलाई सम्मानित गरिएको छ ।

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६ कातर्फ समाज सुधार अभियान विधामा जाजरकोटका नवराज विक (मरणेपरान्त), मानव अधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियार सम्मानित भएका छन् ।

यी सबै पुरस्कारको राशि राष्ट्रिय तथा संस्थागततर्फ रु एक लाख र प्रादेशिकतर्फ रु ५० हजार रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७