यथास्थितिमा सरकार र पार्टी रहे कम्युनिष्ट पार्टीको ७१ वर्षका उपलब्धी धरासायी बन्छ : खनाल

‘नेकपा भित्रको अन्तरबिरोध पार्टी र ओली गुटबीचको हो’


२९ असार २०७७, सोमबार
jhalanatha khanal

काठमाडौं, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार यथास्थितिमा नै रहे नेपाल कम्युनिष्ट पार्टीको ७१ वर्षको उपलब्धी गुम्ने बताएका छन् । नेपाल कम्युनिष्ट आन्दोलनलाई बचाइराख्न अब सरकार र पार्टीको समिक्षा गरेर पुनः गठन गरेर जानुको अर्को विकल्प नरहेको उनको भनाई छ ।

साहाना प्रधान प्रतिष्ठान सोमबार गरेको ‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ?’ बिषयको डिजिटल छलफलमा बोल्दै नेता खनालले भने, ‘अब यथास्थितिमा रहे हाम्रो ७१ वर्षको यात्रा धरासयी बन्छ ।’

वरिष्ठ नेता खनालले ओलीले पाँच वर्ष सरकार चलाए भबिष्य अनिश्चित हुने बताए । नेता खनालले भने, ‘अहिले जसरी केपी ओलीले सरकार सञ्चालन गरिरहनु भएको छ, त्यसरी पाँच वर्ष उहाँलाई सरकार सञ्चालन गर्न दिने हो भने नेकपा ‘रुट’ आउट हुन्छ, भविष्य अनिश्चित हुन्छ ।’

मन्त्रिपरिषद्, योजना आयोगदेखि सबै स्थानमा ओलीले आफूले चाहेको वा गुटको मानिसलाई मात्रै ठाउँ दिएको बताउँदै उनले भने, ‘नयाँ ढङ्गले नसोची हुँदैन, सुधार नगरी हुँदैन । त्यस्तो गर्न सक्यो भने मात्रै नेकपाले पुनःजीवन पाउने सम्भावना छ ।’

नेता खनालले अहिलेको अन्तरबिरोध ओली गुट र नेकपाबीचको भएको बताए । भने, ‘अहिलेको नेकपाभित्रको अन्तरबिरोध पार्टी र केपी ओली गुटबीचको हो ।’ प्रधानमन्त्री ओली गुटको कारण नवउदारबादीहरु हाबी भएको र समाजवादीहरु कमजोर भएको उनको भनाई छ । नेता खनालले निकै ठुलो सम्भावना र सपनाको बीचमा प्रधानमन्त्री ओली नेतृत्वको सरकार बनेपनि गत अढाई वर्ष नेपाल कम्युनिष्ट पार्टीका लागि असाध्यै तितो भएको बताए ।

नेता खनालले हालसम्म सरकारले ल्याएका नीति तथा कार्यक्रम र योजनाहरुको बारेमा पार्टीसँग कुनै छलफल नभएपछि समस्या आएको बताए । उनले भने, “कस्तो योजना बनाउदा समाजवादमा जान सकिन्छ ? नीति तथा कार्यक्रम बनाउदा कुनै छलफल भएन । योजना आयोग पार्टीको होइन केवल प्रधानमन्त्री ओलीको टुल बन्यो ।’

अब के गर्ने ?
नेता खनालले अब केन्द्रदेखि प्रदेशसम्मका सरकार पुन गठन गर्नुपर्ने बताए । यसैगरी जनसंगठन र पार्टीका सबै कमिटिहरुलाई पूर्णता दिएर चलायमान बनाउनुपर्ने उनको भनाई छ ।

बिश्लेषक डा.खगेन्द्र प्रसाईले अहिले सरकार हिडिरहेको बाटो समाजवादी बाटो नभएको दाबी गरे । सरकारले पूर्णत समाजवादी कार्यक्रमबाट बिमुख भएको उनको भनाई छ ।

छलफल कार्यक्रमको सहजकर्ता नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले नेकपाले कस्तो मुलुक बनाउन चाहेको हो ? त्यो अन्योलता रहेको बताए । पार्टीभित्र सबैको सम्मानजनक अस्तित्व नरहदा समस्या आएको उनको भनाई छ ।

प्रतिष्ठानकी अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्र जारी बिरोध अन्तरबिरोधका कारण नेकपाको भबिष्य र अबका बाटाहरु बारेमा अनेकौं प्रश्नहरु उठेको बताइन् । ती प्रश्नहरुको बारेमा गम्भिर छलफल गरेर अघि बढ्नुपर्ने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७