कोरोनाको स्रोत खोज्दै डब्लूएचओको टोली चीनमा


३० असार २०७७, मंगलवार
china hospital corona3 20200203045425

काठमाडौं, ३० असार । कोरोना भाइरसको उत्पत्तिको स्रोत खोज्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ ) का विज्ञ चीन आएका छन् । डब्लूएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नीले सोमबार पुष्टि गरेका छन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिला चीनमा भेटिएकाले उनीहरू अध्ययनका लागि चीन आएका हुन् । दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लूएचओका विज्ञले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालासँग छलफल गर्ने जानकारी दिए ।

‘उनीहरूले हाम्रा विज्ञहरूसँग सम्बन्धित विषयमा प्रश्नहरू गर्नेछन् र हाम्रा विज्ञहरूले जानकारी दिनेछन्’, प्रवक्ता हुआले भने । डब्लूएचओका स्वास्थ्य विशेषज्ञ यस्तै छलफलका लागि अन्य देशमा पनि जान सक्ने उनले बताए ।

‘कोरोना भाइरसको विकासका लागि विभिन्न देश तथा क्षेत्रमा धेरै चरण पूरा गर्नुपरेको डब्लूएचओले पनि विश्वास गरेको छ । त्यही चरणहरूका बारेमा पहिचान गर्न उनीहरु आएका हुन्’, उनले भने ।

धेरै ठाउँमा धेरै चरणबाट कोरोना भाइरसको विकास भएकाले उनीहरू आवश्यकताअनुसार अन्य देशमा पनि जान सक्ने उनले पत्रकारलाई जानकारी दिए । यसअघि डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रयेससले अघिल्लो महिना भनेका थिए, ‘कोरोना भाइरसको स्रोत के हो भन्ने कुरा पत्ता लगाउनु धेरै महत्वपूर्ण हुन्छ ।’

यो विज्ञानसँग सम्बन्धित, सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित विषय भएको, यसले सबैलाई प्रभावित पारेको र सरोकारको विषय भएकाले कसरी सुरु भयो, कहाँ उत्पत्ति भयो भन्ने पत्ता लगाउनुपर्ने उनको भनाइ थियो ।

कोरोना भाइरस पहिलो पटक गत डिसेम्बरमा चीनमा भेटिएको पुष्टि गरिएको थियो । त्यसपछि विश्वका धेरै देशमा कोभिड–१९ को महामारी फैलिएको थियो । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७