सरकारको पूरा ध्यान विपद केन्द्रित भने पनि ४ दिनसम्म पनि पुगेन पहिरो प्रभावित क्षेत्रमा राहत


३० असार २०७७, मंगलवार
Badi Pahiro

म्याग्दी, ३० असार । बाढी र पहिरोबाट अति प्रभावित बनेको धौलागिरी र मालिका गाउँपालिका पुग्ने सडक र गोरेटोसमेत अवरुद्ध हुँदा विस्थापितका लागि राहत पुर्‍याउन कठिनाइ भएको छ ।

खराब मौसमका कारण हेलिकप्टर समेत उड्न नसकेपछि त्रिपाल, टेन्ट, खाद्यान्न, खानेपानीका पाइपलगायत राहत सामग्री घटनाको चौथो दिन (सोमबार) सम्म पनि पुर्‍याउन नसकिएको हो ।

दुवै पालिकामा गरी ७ सय ५० जनाभन्दा बढी विस्थापित भएका छन् । ‘सुरुमा उद्धार टोलीसँग पठाएको ५० बोरा चामल, दुई बोरा दाल, २० कार्टुन तेल, बिस्कुट, चाउचाउ, मसला समेतका खाद्यान्न सकिएको खबर छ ।

सोमबार हेलिकप्टरमा तीन क्विन्टल चामलसहित सामान पठाउने तयारी गरिएकोमा खराब मौसमले सम्भव भएन,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सडक पूरै अवरुद्ध भएकाले राहत सामग्री ढुवानीमा समस्या भएको छ ।’ स्थानीय व्यवसायीहरुले हेलिकप्टर उपलब्ध गराएकोले मात्रै यसअघि पनि राहत पुर्‍याउन पाइएको उनले बताए ।

पहिरोले क्षति पुर्‍याएका धौलागिरीको मराङ, कल्लेनी, राम्चे, रिखा र मालिकाको बिम, दुले र नुरवाङमध्ये कल्लेनी र बिममा बाहेक अन्यत्र हिँडेर पुग्न समस्या छ । शुक्रबार बिहान ४ बजेतिर खसेको पहिरोले धौलागिरी–६ मराङ, वडा–७ ताकमको कल्लेनी र मालिका–७ बिमका ५० घर पूर्णरूपमा पुरिएका थिए ।

पहिरोले घर बगाएका तथा जोखिमयुक्त स्थानका १५० भन्दा परिवारका कम्तीमा ७ सय ५० जनालाई सुरक्षित स्थलमा सारिएको छ । पहिरो परी धौलागिरीमा २० र मालिकामा ८ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते र चार जना अझै बेपत्ता छन् ।

पहिरोले घरबारविहीन भएका र उच्च जोखिमका क्षेत्रमा रहेकाहरुलाई ताकमको हेम मावि, मराङको राम्चे सामुदायिक भवन र बिमको जनविकास आधारभूत विद्यालयको आपत्कालीन सेल्टरमा राखिएको छ । परिवारका सदस्य गुमाएकाहरु सेल्टरमै सामाजिक संस्कारअनुसार काजकिरियामा बसेका छन् ।

केही स्थानीय दिनभर किरियापुत्रीको साथमा रहने त केही खेतबारीमा काम गर्ने, वस्तुभाउको स्याहार गर्ने र साँझ बास बस्न सेल्टरमा आउने गरेका छन् । पहिरोमा सर्वस्व गुमाएकाहरु मानसिक रूपमा समेत विक्षिप्त बनेका स्थानीय प्रगति युवा क्लबका अध्यक्ष चक्रबहादुर पुनले बताए । ‘दिनभर टोलाएर सेल्टरमै बस्छन्,’ पुनले भने ।

जिल्ला विपद् व्यवस्थापन समितिको टोली खोज र उद्धारको काम सकिएको र पीडित पुनर्बासको दायित्व स्थानीय सरकारको भएको भन्दै प्रभावित क्षेत्रबाट फर्किएको छ । यसले स्थानीयलाई गाँसबासकै व्यवस्थापनमा समस्या भएको छ ।

घटनाको चौथो दिनसम्म घर, पशुचौपायालगायत भौतिक क्षतिको लगत संकलन हुन सकेको छैन । शुक्रबार पहिलो दिन उद्धार टोली घटनास्थल पुग्नै सकेको थिएन । दोस्रो र तेस्रो दिन पहिरोमा पुरिएकाको खोजी र अन्तिम संस्कार गर्नमै बितेको थियो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७