अयोध्याबारे ओलीको अभिव्यक्तिप्रति भाजपाले जनायो आपति


३० असार २०७७, मंगलवार
pm

काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको भन्दै दिएको अभिव्यक्तिको भारतमा चर्को आलोचना भएको छ ।

भारतको सत्तारुढ दल भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने पनि बताएका छन् ।

ओलीको आलोचना गर्दै शास्त्रीले भनेका छन्, ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जोकोही होस् ।’

सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।

ओलीको यस अभिव्यक्तिलाई भारतीय मिडियाहरुले राजनीतिक विवाद उक्साउने उद्देश्य भनेका छन् । भारतीय सन्चारमाध्यम पीटीआईले नेपालका प्रधानमन्त्री ओलीको भनाइ आश्चर्यजनक र स्तब्ध पार्ने खालको भनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७