थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो


३० असार २०७७, मंगलवार
korona 5

काठमाडौं, ३० असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ संक्रमित थपिएका हुन् ।

आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने त्यसअघिल्लो दिन ७० जनामा कोरोना भाइरस देखिएको थियो । त्यसैगरी सोमबा १४४ जना कोरोना भाइरसको संक्रमित देखिएको थियो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । देशभरसक्रिय संक्रमितको संख्या ६ हजार ६९५ रहेको छ ।

७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमणमुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् । पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १० हजार ३२८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ६० दशमलव ५३ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख ८९ हजार ३७१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

हालसम्म देशभरका २४ हजार ७१६ क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६९५ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको छ ।

सार्क मुलुकहरुमा गरिएको पीसीआर परीक्षणलाई नेपालसँग तुलना गर्दा दैनिक औसत कोरोना परीक्षण अफगानिस्तानमा २ हजार ४९, बंगलादेशमा पाँच हजार ७२७, श्रीलंकामा पाँच हजार ७००, पाकिस्तानमा ७ हजार १७३ र भारतमा ८ हजार ५५३ र नेपालमा ९ हजार ९२७ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७