अयोध्या अभिव्यक्तिप्रति प्रधानमन्त्रीले आत्मआलोचना गर्नुपर्छ : बामदेव


३० असार २०७७, मंगलवार
bamdev gautaam

काठमाडौं, ३० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष नेता बामदेव गौतमले राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिंदै जनतासमक्ष आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

यो विषय प्रमाणित नभएको भन्दै नेता गौतमले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबाट राष्ट्रिय अन्तर्राष्ट्रिय विवाद सिर्जना भएकाले उक्त बोली फिर्ता लिँदै जनता समक्ष आत्मआलोचना गर्नु उपयुक्त हुने बताएका हुन् ।

नेता गौतमले बरु प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई यसबारेमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु,’ उपाध्यक्ष गौतमले मंगलबार त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।’

गौतमले प्रधानमन्त्री ओलीलाई दुई वर्ष पहिले बालुवाटारमा भेट्दा समेत त्यस बिषयमा चर्चा गरेको स्मरण गर्दै आफूले प्रधानमन्त्रीलाई त्यस सम्बन्धमा विना अनुसन्धान, विना तथ्य प्रमाण कहीँ कतै त्यस्तो धारणा व्यक्त नगर्न भनी सल्लाह दिएको बताएका छन् ।

‘मलाई यस विषयमा उहाँले कहीं न कहीं सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो,’ गौतमले भनेका छन्, ‘नभन्दै हिजो तथ्य प्रमाणविना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७