संस्थापन इतरका स्थायी कमिटी सदस्यको निष्कर्ष : समधान दुई अध्यक्षको ‘चोचोमोचो’बाट होइन, विधिबाट


३१ असार २०७७, बुधबार
prachanda madhav nepal 1

काठमाडौैं, ३१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकट स्थायी कमिटिका सदस्यहरुले नेकपाभित्रको जारी विवादको समधान दुई अध्यक्षबीचको ‘चोचोमोचो’बाट होइन, विधि र प्रक्रियाबाट हुनुपर्ने निकष्र्ष निकालेका छन् ।

नेकपाभित्रको जारी विवाद दुई अध्यक्षबीचको लेनदेनको कारण नभई पार्टी भित्रको विधि र प्रक्रियाको कारण उत्पन्न भएकोले विधिबाटै समधान गर्नुपर्ने उनीहरुको निचोड छ ।

बुधबार नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष, सिंहदरबारमा भएको भेलाले जारी विवाद दुई अध्यक्षको लेनदेनका आधारमा टुङ्गिन नसक्ने निकष्र्ष पनि निकालेको एक स्थायी कमिटि सदस्यले बताए । ती सदस्यले भने, ‘विवादको समधान दुई अध्यक्षको लेनदेनबाट होइन विधि र प्रक्रियाबाट नै खोज्नुपर्ने निचोड छ । जारी समस्या दुई अध्यक्षबीचको लेनदेनबाट उत्पन्न भएको होइन, विधि र प्रक्रिया मिचिएको कारण निस्किएको हो । त्यस कारण समधान विधि र प्रक्रियाबाटै हुनुपर्छ ।’

असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा तिव्र विवाद छ । ओलीले अहिलेसम्म कुनै पनि पद नछाड्ने अडान लिएका छन् ।

विवाद समधानका लागि भन्दै अध्यक्षद्धय ओली र प्रचण्डबीच दैनिकजसो छलफल भइरहेको छ । बुधबार पनि ओलीले र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । असार २५ गते दुई अध्यक्षको एक्लाएक्लै भेट भनाभनमा टुंगिएपछि स्थायी समिति बैठक एक साताका लागि स्थगित गरिएको थियो। स्थायी कमिटि बैठक आगमी साउन २ गतेलाई सारिएको छ ।

शुक्रबार स्थायी समिति बैठक बस्नुअघि भोली बिहीबार फेरि ओली र प्रचण्डबीच छलफल हुने बताइएको छ । ओली र प्रचण्डबीच छलफल जारी रहेकै बेला स्थायी कमिटि सदस्यहरुले विवाद विधि र प्रक्रियाबाट टुंगो लगाउनु पर्ने निचोड निकालेका छन् ।

छलफलमा गत १० वैशाखमा स्थायी कमिटी बैठक माग गर्दै ओली र प्रचण्डलाई हस्ताक्षर बुझाउने समूहका बीस सदस्यीय समूहका १७ जना नेताहरू सहभागी थिए । बैठक माग गर्ने नेताहरूमा पूर्वमाओवादी समूहका गणेश साह, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल र हरिबोलप्रसाद गजुरेलसहित एघारजना थिए ।

त्यस्तै, पूर्वएमाले समूहभित्र वरिष्ठ नेता माधवकुमार नेपालनिकट रहेका भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त र सुरेन्द्रप्रसाद पाण्डेसहित नौजना थिए । बुधबारको भेलामा भने उपत्यकाबाहिर रहेका सुरेन्द्र पाण्डे, भीम आचार्य र चक्रपाणि खनाल सहभागी भएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७