प्रचण्डलाई ओलीको नयाँ प्रस्ताव : ‘अर्ली महाधिवेशन’बाट एकल अध्यक्ष बन्नुहोस्

माधव नेपालले अस्वीकार गरेका थिए ओलीको ‘अर्ली महाधिवेशन’को प्रस्ताव


३१ असार २०७७, बुधबार
oli and parchanda

काठमाडौैं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘अर्ली महाधिवेशन’बाट एकल अध्यक्ष बन्न प्रस्ताव राखेका छन् । अध्यक्ष ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुबै पद छोड्न नसक्ने भन्दै ‘अर्ली महाधिवेशन’बाट अध्यक्ष पद लिन भनेका हुन् ।

बुधबार प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्नका लागि चहि अर्को निर्वाचन कुर्न भनेका छन् । अध्यक्षद्धयबीच बुधबार करिब साढे दुई घन्टा भएको छलफल भएको थियो । एक सचिवालय सदस्यका अनुसार बुधबारको छलफलमा पनि ओलीले तत्काल भने दुबै पद नछोड्ने प्रष्ट पारेका छन् ।

बालुवाटारमा ओलीसँग भेटेर खुमलटार निवास फर्केका प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालय सदस्य नारायणबाजी श्रेष्ठलाई ब्रिफिङ गरेका छन् । असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा तिव्र विवाद छ ।

विवाद जारी रहेपछि स्थायी कमिटि बैठक आगमी साउन २ गतेलाई सारिएको छ । स्थायी कमिटि बैठक अघि सहमतिको प्रयास जारी राखिएपनि ठोस सहमति भने भएको छैन ।

माधव नेपालले अस्वीकार गरेका थिए ओलीको ‘अर्ली महाधिवेशन’को प्रस्ताव

Madhav Nepal ex PM scaled
यसअघि ओलीले असोजभित्रै महाधिवेशन गरेर वरिष्ठ नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका छन् । तर, ओलीको प्रस्ताव नेपालले अश्वीकार गरेका थिए ।

१५ वैशाख २०७७ मा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालसमक्ष ‘अर्ली महाधिवेशन’को प्रस्ताव राखेका थिए । तर, नेपालले असोजमा महाधिवेशन गर्न कुनै पनि हालतमा सम्भवसमेत नभएको भन्दै सो प्रस्ताव ठाडै अश्वीकार गरेका थिए । त्यो प्रस्ताव अस्वीकार गरेपछि ओली र नेपालको छलफलमा पूर्ण बिराम लागेको छ । त्यसयता ओली र नेपालबीच छलफल भएको छैन ।

यसैबीच अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल निकट स्थायी कमिटिका सदस्यहरुले नेकपाभित्रको जारी विवादको समधान दुई अध्यक्षबीचको ‘चोचोमोचो’बाट होइन, विधि र प्रक्रियाबाट हुनुपर्ने निकष्र्ष निकालेका छन् । जारी विवाद दुई अध्यक्षबीचको लेनदेनको कारण नभई पार्टी भित्रको विधि र प्रक्रियाको कारण उत्पन्न भएकोले विधिबाटै समधान गर्नुपर्ने उनीहरुको निचोड छ ।

बुधबार नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष, सिंहदरबारमा भएको भेलाले जारी विवाद दुई अध्यक्षको लेनदेनका आधारमा टुङ्गिन नसक्ने निकष्र्ष पनि निकालेको एक स्थायी कमिटि सदस्यले बताए ।

ती सदस्यले भने, ‘विवादको समधान दुई अध्यक्षको लेनदेनबाट होइन विधि र प्रक्रियाबाट नै खोज्नुपर्ने निचोड छ । जारी समस्या दुई अध्यक्षबीचको लेनदेनबाट उत्पन्न भएको होइन, विधि र प्रक्रिया मिचिएको कारण निस्किएको हो । त्यस कारण समधान विधि र प्रक्रियाबाटै हुनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७