दुबै पद नछोड्ने ओलीको स्पष्ट अडान : आजको छलफलमा माधव नेपाल पनि बस्ने


१ श्रावण २०७७, बिहीबार
Kp Oli pm of nepal Puspa kamal dahal prachand nad madhav kumar nepal

काठमाडौं, १ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समधानको निम्ती आज(विहिबार) पनि छलफल हुने भएको छ । आजको छलफलमा दुई अध्यक्ष केपी शर्मा ओली र अर्का प्रचण्डसँगै वरिष्ठ नेता माधव नेपाल पनि सहभागी हुने भएका छन् ।

बुधबारको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ‘प्रचण्ड’लाई ‘अर्ली महाधिवेशन’बाट एकल अध्यक्ष बन्न प्रस्ताव राखेका थिए । अध्यक्ष ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुबै पद छोड्न नसक्ने भन्दै ‘अर्ली महाधिवेशन’बाट अध्यक्ष पद लिन भनेका हुन् ।

बुधबार प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्नका लागि चहि अर्को निर्वाचन कुर्न भनेका थिए । अध्यक्षद्धयबीच बुधबार करिब साढे दुई घन्टा भएको छलफल भएको थियो ।

एक सचिवालय सदस्यका अनुसार बुधबारको छलफलमा पनि ओलीले तत्काल भने दुबै पद नछोड्ने प्रष्ट पारेका छन् । बुधबार भएको छलफलमा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

बालुवाटारमा ओलीसँग भेटेर खुमलटार निवास फर्केका प्रचण्डले वरिष्ठ नेता नेपाल र सचिवालय सदस्य नारायणबाजी श्रेष्ठलाई ब्रिफिङ गरेका थिए । असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा तिव्र विवाद छ ।

विवाद जारी रहेपछि स्थायी कमिटि बैठक आगमी साउन २ गतेलाई सारिएको छ । स्थायी कमिटि बैठक अघि सहमतिको प्रयास जारी राखिएपनि ठोस सहमति भने भएको छैन ।

माधव नेपालले अस्वीकार गरेका थिए ओलीको ‘अर्ली महाधिवेशन’को प्रस्ताव
यसअघि ओलीले असोजभित्रै महाधिवेशन गरेर वरिष्ठ नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका छन् । तर, ओलीको प्रस्ताव नेपालले अश्वीकार गरेका थिए । १५ वैशाख २०७७ मा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालसमक्ष ‘अर्ली महाधिवेशन’को प्रस्ताव राखेका थिए ।

तर, नेपालले असोजमा महाधिवेशन गर्न कुनै पनि हालतमा सम्भवसमेत नभएको भन्दै सो प्रस्ताव ठाडै अश्वीकार गरेका थिए । त्यो प्रस्ताव अस्वीकार गरेपछि ओली र नेपालको छलफलमा पूर्ण बिराम लागेको छ । त्यसयता ओली र नेपालबीच छलफल भएको छैन ।

स्थायी कमिटि सदस्यहरुको माग :  लेनदेन होइन विधिबाट
यसैबीच अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल निकट स्थायी कमिटिका सदस्यहरुले नेकपाभित्रको जारी विवादको समधान दुई अध्यक्षबीचको ‘चोचोमोचो’बाट होइन, विधि र प्रक्रियाबाट हुनुपर्ने निकष्र्ष निकालेका छन् । जारी विवाद दुई अध्यक्षबीचको लेनदेनको कारण नभई पार्टी भित्रको विधि र प्रक्रियाको कारण उत्पन्न भएकोले विधिबाटै समधान गर्नुपर्ने उनीहरुको निचोड छ ।

बुधबार नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष, सिंहदरबारमा भएको भेलाले जारी विवाद दुई अध्यक्षको लेनदेनका आधारमा टुङ्गिन नसक्ने निकष्र्ष पनि निकालेको एक स्थायी कमिटि सदस्यले बताए ।

ती सदस्यले भने, ‘विवादको समधान दुई अध्यक्षको लेनदेनबाट होइन विधि र प्रक्रियाबाट नै खोज्नुपर्ने निचोड छ । जारी समस्या दुई अध्यक्षबीचको लेनदेनबाट उत्पन्न भएको होइन, विधि र प्रक्रिया मिचिएको कारण निस्किएको हो । त्यस कारण समधान विधि र प्रक्रियाबाटै हुनुपर्छ ।’

असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा तिव्र विवाद छ । ओलीले अहिलेसम्म कुनै पनि पद नछाड्ने अडान लिएका छन् ।

विवाद समधानका लागि भन्दै अध्यक्षद्धय ओली र प्रचण्डबीच दैनिकजसो छलफल भइरहेको छ । ओली र प्रचण्डबीच छलफल जारी रहेकै बेला स्थायी कमिटि सदस्यहरुले विवाद विधि र प्रक्रियाबाट टुंगो लगाउनु पर्ने निचोड निकालेका छन् ।

छलफलमा गत १० वैशाखमा स्थायी कमिटी बैठक माग गर्दै ओली र प्रचण्डलाई हस्ताक्षर बुझाउने समूहका बीस सदस्यीय समूहका १७ जना नेताहरू सहभागी थिए । बैठक माग गर्ने नेताहरूमा पूर्वमाओवादी समूहका गणेश साह, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल र हरिबोलप्रसाद गजुरेलसहित एघारजना थिए ।

त्यस्तै, पूर्वएमाले समूहभित्र वरिष्ठ नेता माधवकुमार नेपालनिकट रहेका भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त र सुरेन्द्रप्रसाद पाण्डेसहित नौजना थिए । बुधबारको भेलामा भने उपत्यकाबाहिर रहेका सुरेन्द्र पाण्डे, भीम आचार्य र चक्रपाणि खनाल सहभागी भएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७