नहर क्षेत्रको अतिक्रमण हटाउँदै सिक्टा सिंचाइ


१ श्रावण २०७७, बिहीबार
sikta scaled

बाँके, १ साउन । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवकोे सिक्टा सिंचाइ आयोजनाले नहर क्षेत्रको अतिक्रमण हटाउन शुरु गरेको छ ।

आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत कोहलपुर–नेपालगञ्ज सडकखण्डको पार्वतीपुरदेखि कारकाँदो सोल्टी होटलसम्मको अतिक्रमण हटाउन शुरु गरिएको आयोजनाका निर्देशक लोकबहादुर थापाले जानकारी दिए ।

उनले नहरको उक्त क्षेत्रमा अतिक्रमण गरी मापदण्डविपरीत कल्भर्ट तथा ससाना पुल बनाएकाले त्यस्ता संरचना हटाउन शुरु गरिएको बताए । पार्वतीपुरमा रहेका उद्योगले नहरमा पानीको बहाव अवरोध हुने गरी गैरकानूनीरुपमा ससाना पुल निर्माण गरेका छन् । सो नहरबाट नेपालगञ्ज उपमहानगरपालिकाका मनिकापुर, वसुदेवपुर, पुरैना र पुरैनी तथा जानकी गाउँपालिकामा सिक्टा सिंचाइको पानी पुर्‍याउने योजना छ ।

अतिक्रमित संरचना हटाई किसानको खेतसम्म सिंचाइ सुविधा पुर्‍याउने कार्यमा जिल्ला प्रशासन कार्यालयले आवश्यक सहयोग र समन्वय गर्दै आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङम्वाङले जानकारी दिए ।

सिक्टा सिंचाइ आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी निर्माणाधीन पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत राप्ती नदीको पानीले सिंचाइ भइरहेको छ । पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको आयोजनाका निर्देशक थापाले बताए ।

उनका अनुसार पश्चिमी मूल नहरअन्तर्गत सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो । अहिले पश्चिमी मूल नहरअन्तर्गत डुडुवाको पुरानो नहर र केही नालामा राखेर १५ हजार हेक्टर र पूर्वी नहरअन्तर्गत राजकुलो सिंचाइको पुरानो नहरमार्फत एक हजार हेक्टर गरी १६ हजार हेक्टरलाई १२ महिना सहजै सिँचाइ दिन सकिने अवस्था रहेको आयोजना निर्देशक थापाले जानकारी दिए ।

सिक्टा सिंचाइ आयोजना सरकारले आफ्नै स्रोतमा २०६३ माघदेखि निर्माण शुरु गरेको नेपालकै सबैभन्दा ठूलो सिंचाइ आयोजना हो । रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वी नहरबाट बाँकेको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ ।

आयोजनाको कूल बजेट रु २५ अर्ब रहेकामा रु १४ अर्ब थप बढाएर पाँच वर्षभित्र काम सक्ने गरी रु ३९ अर्बको संशोधित गुरुयोजना बनाइएको छ । पूर्वी र पश्चिमी मुख्य नहरसँगै शाखा, उपशाखा र प्रशाखा नहरसहित दुई वर्षमा सिँचाइको मुख्यमुख्य सञ्जाल बनिसक्ने आयोजना निर्देशक थापाको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७