राजु सदाको परिवारलाई प्रदेश सरकारको पाँच लाख राहत


२ श्रावण २०७७, शुक्रबार
Raju Sada Family2020 07 16 10 51 41

जनकपुरधाम, २ साउन । समयमा उपचार नपाएर जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका– ७ का राजु सदाको परिवारलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ राहत दिएको छ ।

बिहीबार मुख्यमन्त्री लालबाबु राउतले राजुको परिवारलाई पाँच लाखको चेक हस्तान्तरण गरेका छन् । कोरोनाको आशंका गरेर चिकित्सकहरूले उपचारमा चासो नदेखाउँदा राजुको गत ९ असारमा मृत्यु भएको थियो । तर, उनको स्वाब परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको थियो । आर्थिक अवस्था कमजोर रहेको राजुको परिवारको भरथेगका लागि प्रदेश सरकारले पाँच लाख राहत दिएको मुख्यमन्त्री राउतले बताए ।

Raju Sada BW.jpg .2020 07 16
राजु सदा

राजुसँगै अन्य दुई युवकको परिवारलाई पनि प्रदेश सरकारले पाँच–पाँच लाख राहत दिएको छ । लकडाउनका समयमा घर फर्किन नपाउँदा जटही नाकामा ज्यान गुमाएका धनुषा सहिदनगर नगरपालिका– ९ का वीरेन्द्र गुरमैता यादव र प्रहरी हिरासतमा मृत्यु भएका सबैला नगरपालिका– १२ का शम्भु सदाका परिवारलाई पनि मुख्यमन्त्री राउतले चेक हस्तान्तरण गरेका छन् । सबै घटनाको छानबिन भइरहेको र दोषीहरूलाई कारबाही गरिने उनले बताए ।

यसैबीच सूर्या नेपाल प्रालिले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा बिहीबार एक करोड रुपैयाँ सहयोग गरेको छ । सूर्या नेपालका प्रतिनिधि राजु केसी र नवराज बजगाईंले मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका छन् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७