नेकपा स्थायी कमिटी वैठक आज, आफू निकट नेतालाई अघि सार्ने रणनीतिमा ओली


२ श्रावण २०७७, शुक्रबार
Nekapa 5

काठमाडौं, २ साउन । पार्टीभित्रको विवाद समाधानको नाममा पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण लगतार स्थगित हुँदै आएको स्थायी कमिटी वैठक आज बस्न थालेको हो । असार १७ यता चार पटकसम्म स्थगित स्थायी कमिटी बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । यस बीचमा शीर्ष नेताहरुले सहमतिको प्रयास गरे पनि अझै टुङ्गिएको छैन ।

पार्टीभित्रको विवाद हल गर्न भन्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच नौ पटक छलफल भए पनि विवाद समाधान उन्मुख हुनुको सट्टा झन बढ्दै गएको छ । पटक–पटकको छलफलले कुनै निकास दिन नसकेपछि सहमतिका लागि अझै केही समय लाग्ने नेताहरु बताउन थालेका छन् । आजको स्थायी कमिटी बैठक औपचारिकताका लागि मात्रै बस्ने र स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा हिजो (बिहीबार) भएको अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि स्थायी कमिटी बैठक रोकेर केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसबीचमा सहमतिको प्रयास गर्ने नेताहरूको तयारी छ ।

गएको असार १० गतेदेखि शुरु भएको स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि विवादको गाँठो झन कसिलो भएको छ ।

सचिवालय र स्थायी कमिटीका सदस्यहरुले राजीनामा दिन दबाब दिए पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताउँदै आएका छन् । हिजो बसेको शीर्ष तीन नेताको छलफलमा प्रचण्ड–नेपालले प्रधानमन्त्रीलाई दुबै पदबाट राजीनामा माग गरे ।

तर, ओलीले भने आफ्नो पुरानै अडान दोहोर्‍याउँदै कुनै पदबाट राजीनामा नदिने बरु, जुनसुकै अवस्था ‘फेस’ गर्न तयार रहेको स्पष्ट पारे । दुबै पक्ष आफ्नो अडानमा ‘टसमस’ नभइरहेको अवस्थामा आज (शुक्रबार) स्थायी कमिटी वैठक बस्न लागेको हो ।

हिजोको छलफल निष्कर्षविहीन बनेपछि प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेता दुई छुट्टाछुट्टै रणनीतिमा लागेका छन् । प्रचण्ड–नेपाल ओलीलाई राजीनामाका लागि गलाई छाड्ने रणनीतिमा छन् भने ओली आफू नजिकका नेतासँग नयाँ रणनीति निर्माणमा देखिएका छन् ।

आजको स्थायी कमिटी वैठकमा अध्यक्ष ओलीले आफ्नो बचाउमा निकटका नेतालाई अगाडि सार्ने रणनीति बनाएको स्रोतले जानकारी दिएको छ । आज बस्ने नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले बोल्ने तयारी गरेका छन् ।

ओलीले शुक्रबार स्थायी समिति बैठकमा आफ्नो पक्षका सदस्यहरुले धारणा राख्ने जानकारी हिजो बिहीबार बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन् । नेकपा स्थायी समिति बैठक शुक्रबार बिहान ११ बजे बालुवाटारमा शुरु हुँदैछ ।

‘भोलि स्थायी समितिमा मेरो पक्षका नेताहरूले बोल्नु हुन्छ, म पनि बैठकमा आउँछु’, प्रचण्ड र नेपालले राजीनामा दिन फेरि आग्रह गरेपछि ओलीले जवाफमा भनेको एक नेताले उधृत गरे ।
तीन शीर्ष नेताबीच भएको छलफलमा पनि कुनै निष्कर्ष ननिस्केपछि शुक्रबार बस्ने स्थायी समिति बैठकबाट केन्द्रीय समिति आयोजना गर्ने सहमति बनेको थियो । आजको बैठकले भदौमा बस्ने गरी केन्द्रीय समितिको बैठकको मिति तोक्ने बताइएको छ ।

‘प्रचण्ड र नेपालले राजीनामाको विषय उठाएपछि ओलीले स्थायी समितिमा आफ्नो पक्षका नेताले पनि बोल्ने बताउनु भयो’, ओली पक्षका अर्का एक नेताले भने । यसअघि असार १६ गते भएको स्थायी समिति बैठकमा ओली र प्रचण्डसहित १८ जनाले बोलेका थिए, जसमध्ये १७ जनाले ओलीको विपक्षमा धारणा राख्दै राजीनामा मागेका थिए ।

नेकपाको ४४ सदस्यीय स्थायी समितिमा ३१ जना प्रचण्ड–नेपाल पक्षमा र १३ जना ओलीको पक्षमा उभिएको मानिन्छ । प्रचण्ड–नेपाल पक्षका करिब आधा र ओली पक्षका प्राय सबै नेताले बोल्न बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७