यस्ता पनि छन् सुरक्षाकर्मी, बलात्कारको घटना इन्सपेक्टरले ‘मिलेमतो’ मा लुकाई दिए


१६ माघ २०७४, मंगलवार

काठमाण्डौं, १६ माघ : प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्दै, व्यक्तिको सुरक्षाका लागि हरदम सचेत र सजग रहन्छ । तर, यहि समाजमा यस्ता पनि प्रहरी छन्, जो आँखा अगाडि भएको अपराधलाई पनि नदेखे जस्तो मात्र होइन, अपराधीसँग पैसाको मोलमोलाई गर्छ ।
काठमाण्डौंको प्रहरी वृत्त दरबारमार्गमा यस्तै घटना भएको छ ।

रक्षक बन्नु पर्ने प्रहरी नै अपराधीका लागि ‘लिस्नो’ बनिदिएका छन् । प्रहरी वृत्त दरबारमार्गमा सोमबार यस्तै अनौठो दृष्य देख्न पाइयो । महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रमुख (एसएसपी) रविन्द्र धानुकको सोमबारको एक्सन अनौठो देखिएको थियो । अचानक प्रहरी वृत दरबारमार्ग पुगेका उनले त्यहाँ कार्यरत सबै प्रहरी इन्सपेक्टरलाई आँगनमा बोलाएर इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीतर्फ संकेत गर्दै भनिरहेका थिए–‘बलात्कारको घटना अपराध हो भन्ने थाहा थिएन, यस्तो अपराध कसरी पैसामा मिलायौं ?’

धानुकले संकेत गरेको घटना हो गएको माघ १० गतेको । घटना चलचित्रको कथा जस्तै लाग्छ । एक युवाले फेसबुकमा चिनजान भएकी युवतीलाई कमलादीको ल्याण्डमार्क होटलमा बेलाए । युवती होटलमा आउन राजी भएपछी उनले ४ वटा कोठा बुक गरे अनि उनका अरु तीन साथीलाई पनि बोलाए । प्रहरी स्रोतका अनुसार चार जना युवाहरु मिलेर ती युवतीलाई होटलमा रातभर बलात्कार गरेका थिए । युवती भोलिपल्ट बिहानै महानगरीय प्रहरी वृत कमलपोखरी पुगिन् । दरबारमार्ग एरियाको घटना भएकाले कमलपोखरीका डिएसपी कुलदीप चन्दले ती युवतीलाई दरबारमार्गमा गएर रिपोर्ट गर्न आग्रह गरे ।

चन्दको आग्रह अनुसार दरबारमार्ग पुगेकी युवतीले सामुहिक बलात्कारको जाहेरी दिइन् । प्रहरीले घटनामा संलग्न एक युवालाई नियन्त्रणमा लिएको थियो, तर मुद्दा शाखाका प्रमुख समेत रहेका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीले मुद्दा चलाउनुको साटो ती युवालाई छाडिदिए । ठकुरीले आर्थिक लेनदेन गरेर छाडेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीमाथि छानविन थालेको छ । अहिले उनको यो लेनदेनको कारोबार प्रहरी प्रधान कार्यालयले छानवीन गरिरहेको छ ।

एसपी रामदत्त जोशीको कमाण्डमा छानविन समिति बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुक भन्छन्–‘यो घटनालाई हामीले गम्भीर रुपमा लिएका छौं ।’ छानविन समितीले ठकुरीलाई नक्साल स्थित प्रहरी प्रधान कार्यालयको १ नम्बर गणमा राखेर इन्सपेक्टर ठकुरीमाथि छानविन शुरु गरेको छ । प्रहरी स्रोतका अनुसार ठकुरी आफैंले पनि आर्थिक लाभ लिएर जघन्य अपराधको अभियुक्तलाई उन्मुक्ति दिएका थिए । महानगरीय प्रहरी वृत बालाजु दरबन्दी भएका प्रहरी निरीक्षक ठकुरीलाई गएको असोजमा महानगरीय प्रहरी प्रमुख जय बहादुर चन्दले कालिमाटी वृत्तमा पठाएका थिए । पछि राजनीतिक शक्ति लगाएर उनी दरबारमार्गको मुद्दा शाखामा आउन सफल भएका थिए ।

बलात्कारका मुद्दा पैसा कमाउने माध्यम

इन्सपेक्टर ठकुरीले यो घटनामा मात्र नभई यसअघिका धेरै बलात्कारका मुद्दाहरु पैसामा मिलाएको पाइएको छ । राज्यले जघन्य मानेको बलात्कार जस्तो घटना ठकुरीका लागि भने कमाइ गर्ने माध्यम बनिरहेको घटनाहरु केलाउँदा खुलेको छ । गत शुक्रबारको यस्तै बलात्कारसम्बन्धी मुद्दाबाट पनि ठकुरीले ठूलै रकम लिएको खबर बाहिरिएको छ । एउटा धनाढ्य जोडी विगत पाँच बर्षदेखि लिभिङ टुगेदरमा थिए । पछिल्लो समय उनीहरुबीच सम्बन्ध बिग्रँदै गयो ।

ती पुरुष अर्को युवतीसँग नजिकिए । धनाढ्यसँग लामो समयदेखि रिलेसनमा रहेकी युवतीले ती पुरुष अर्को महिलासँग नजिकिएको थाहा पाएपछि पैसाको बार्गेनिङ गरिन् । उनले प्रहरी गुहारिन् । युवतीले बलात्कारको उजुरी प्रहरीमा हालिन् । उजुरी हातमा परेको केही घण्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लियो । तर, वृत्त इन्चार्ज डिएसपी तिलक भारती बिदामा गएको मौका छोपेर इन्सपेक्टर ठकुरीले दोस्रो घटनाको अभियुक्तलाई पनि मुद्धा नै दर्ता नगरी छाडिदिएको बताइएको छ ।

बलात्कार जस्तो जघन्य अपराधको दुवै अभियुक्तलाई आर्थिक लाभ लिएर छाडेको आशंकामा एसपी रामदत्त जोशी नेतृत्वको छानविन समितिले इन्सपेक्टर ठकुरीमाथि छानविन गरिरहेको छ । यी त भए प्रतिनिधि घटना मात्र । यसरी सतहमा नआएका घटनाहरुबाट ठकुरीले विगतमा पनि राम्रै रकम लिने गरेको उनी मातहतका सुरक्षाकर्मीहरु बताउँछन् । ठकुरी जस्ता सुरक्षाकर्मीहरुका कारण आज नेपाल प्रहरीको छवी समाजमा धमिलो बनिरहेको स्वयम् सुरक्षा निकायका उच्च अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७