दुई अध्यक्षबीचको संवादपछि स्थायी कमिटी फेरि रोकियो, आज सचिवालय बैठक


३ श्रावण २०७७, शनिबार
kp oli prachanda 1
फाइल फोटो

काठमाडौं, ३ साउन । तत्काल शक्ति संघर्ष टुंगिने अवस्था नदेखिएपछि नेकपा विवाद केन्द्रीय कमिटी बैठक र त्यसका एजेन्डातिर मोडिएको छ ।

यसैका लागि शुक्रबारको स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । त्यसअघि शनिबार दुई अध्यक्षबीच संवाद र त्यसपछि सचिवालय बैठक बोलाइएको छ ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लामो संवादपछि पनि सहमति नभएपछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसहितको बैठक बसेको थियो । त्यस बैठकमा पनि दुवै पक्षले आ–आफ्नो अडान राखेपछि कुनै सहमति जुट्न सकेको थिएन ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर आइतबारसम्मका लागि स्थगित भएको थियो । ओली र प्रचण्डबीच शुक्रबार बिहान भएको वार्तामा स्थायी कमिटी बैठक स्थगित गर्ने र शनिबार सचिवालय बैठक बस्ने सहमति भएको थियो ।

महासचिव विष्णु पौडेलले अहिले पार्टीभित्र देखिएका समस्या सहमतिबाटै समाधानका लागि थप प्रयास गर्ने समझदारीअनुसार शुक्रबार बोलाइएको बैठक दुई अध्यक्षको सहमतिमा स्थगित भएको जानकारी दिए ।

‘सहमतिबाटै समस्या समाधानको कोसिस गर्न स्थायी कमिटी बैठक स्थगित गरिएको हो,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘अध्यक्षहरूले आपसी छलफलबाट सहमति खोज्ने प्रयास गरिरहनुभएको छ ।’ उनले शनिबार ३ बजे सचिवालय बैठक बोलाइएको जानकारी दिँदै त्यसअघि दुई अध्यक्षले सहमतिका लागि कोसिस गर्ने जानकारी पनि दिए ।

ओली र प्रचण्डबीच स्थायी कमिटीमा प्रस्तुत गर्ने समसामयिक प्रस्ताव, कोरोना नियन्त्रण र प्राकृतिक प्रकोपको राहत तथा उद्धारका लागि पार्टीपंक्तिलाई परिचालन गर्ने, केन्द्रीय कमिटीमा लैजाने राजनीतिक प्रतिवेदनका सैद्धान्तिक विषयलगायत एजेन्डामा सहमतिका लागि प्रयास भइरहेको स्रोतको भनाइ छ ।

सचिवालयमा कुनै ठोस सहमति नभए आइतबार स्थायी कमिटी बैठक स्थगितको सम्भावना छ । सचिवालयमा सहमति जुटे अध्यक्षद्वय ओली र प्रचण्ड केन्द्रीय कमिटी बैठकको मिति तोक्नुअगावै छलफलका लागि लैजाने एजेन्डामा समझदारी खोज्ने प्रयासमा जुट्ने छन् ।

यद्यपि बिहीबार अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालबीचको छलफलमा शुक्रबारको स्थायी कमिटी बैठक नरोक्ने र भदौ पहिलो साताभित्र केन्द्रीय कमिटी बैठक बोलाउने समझदारी भएको थियो । त्यस लगत्तै बिहीबार साँझ अध्यक्ष ओलीले बालुवाटार तथा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले खुमलटारमा आफूनिकट सचिवालय र स्थायी कमिटीका नेताहरूलाई समझदारीबारे ब्रिफिङ गर्दै नयाँ रणनीति बनाएका थिए ।

स्रोतका अनुसार बालुवाटारमा भएको छलफलमा अधिकांश निकट नेताहरूले स्थायी कमिटीका प्रस्तावित एजेन्डा टुंगिएर केन्द्रीय कमिटीमा लैजाने प्रस्तावमा सहमति नभएसम्म शुक्रबार बोलाइएको स्थायी कमिटी बैठक राख्नुको औचित्य नै नहुने भन्दै रोक्दा उपयुक्त हुने सुझाब दिएका थिए ।

तर, खुमलटार भेलामा भने स्थायी कमिटी बैठक नरोक्ने र केन्द्रीय कमिटी तोक्ने विषयमा छलफल भएको थियो । केन्द्रीय कमिटी बैठकको मिति तोकिएपछि ओलीलाई दुईमध्ये एक पद स्वेच्छामा त्याग गर्न दबाब पर्ने खुमलटार बैठकले निष्कर्ष निकाले पनि बालुवाटारमा निकट नेताहरूको सुझाबपछि अध्यक्ष ओली पहिले प्रस्तावमा सहमति जुटेपछि मात्र बैठक बोलाउने निष्कर्षमा पुगेका थिए ।

आफ्नै निवासमा वरिष्ठ नेता नेपालसँगको परामर्शपछि बालुवाटार पुगेका प्रचण्डलाई स्थायी कमिटी बैठकअघि प्रस्तावहरूमा सहमति गर्नुपर्ने भन्दै ओलीले प्रस्ताव गरेका थिए । त्यसअनुसार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्म सारिएको थियो । साढे १० बजेपछि मात्रै बैठक स्थगनको सूचना पाएका अधिकांश नेता बाटैबाट कोही सिंहदरबार त कोही निवास फर्किएका थिए ।

ओली र प्रचण्डबीच प्रस्ताव तयारीका लागि समय अभाव भएको र पहिले सचिवालय बैठकमा छलफल गरेपछि मात्र स्थायी कमिटी बैठक बस्ने समझदारी भएपछि आइतबारसम्म बैठक स्थगित गरिएको थियो ।

तर, स्थायी कमिटी बैठक फेरि पनि स्थगित गर्नुपर्ने कारण र अध्यक्ष ओली र प्रचण्डबीचको छलफल तथा पछिल्लो समझदारीबारे आफूलाई कुनै जानकारी नभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘किन बैठक स्थगित गरियो मलाई जानकारी छैन,’ श्रेष्ठले भने ।

१० असारबाट सुरु भएको स्थायी कमिटी बैठक छैटौं पटकसम्म स्थगित भएपछि अधिकांश नेता असन्तुष्ट भएका छन् । उता, लामो समयदेखि स्थायी कमिटी अनिर्णयको बन्दी बनेको भन्दै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालनिकट केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी बैठक माग गर्नका लागि हस्ताक्षर अभियान चलाइरहेका छन् ।

डा. विजय पौडेल, जगन्नाथ खतिवडालगायत नेताको अगुवाइमा पाँच दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेर अभियान बढिरहेकै वेला स्थायी कमिटीका दोस्रो तहका नेताहरूले त्यस्तो अभियान स्थगित गर्न आग्रह गरेपछि अभियान तत्कालका लागि रोकिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७