पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका तीनको मृत्यु, दैलेखमा तीन घाइते


३ श्रावण २०७७, शनिबार
army resque2020 07 18 05 56 33

कास्की, ३ साउन । अविरल वर्षासँगै शुक्रबार बिहान आएको पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका– ८ खोराकोमुख पाखास्थित प्रेम विकको घर पुरिँदा उनका १६ वर्षमुनिका दुई नाति र एक नातिनीको ज्यान गएको हो ।

घरभन्दा दुई सय मिटरमाथिको पाखोबाट खसेको पहिरोले प्रेमको टिनले छाएको घरको एउटा कोठा पुरिएको थियो । त्यही कोठामा सुतेका १४ वर्षीय समीर, १६ वर्षीय कुशल र १६ वर्षीया रेजिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास हमालले बताए । अर्को कोठामा रहेका प्रेम, उनकी पत्नी र एक जना नातेदार भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरू बसेको कोठामा पहिरोले क्षति पुर्‍याएको छैन ।

मृत्यु भएका तीनजना प्रेमका तीन छोराका छोरा–छोरी हुन् । समीर खेमराजका, कुशल कृष्णका र रेजिना हिरालालकी छोरी हुन् । प्रेमका तीनै छोरा छुट्टाछुट्टै घरमा बस्छन् । समीर हजुरबुबा–हजुरआमासँगै बस्दै आएका थिए । कुशल र रेजिना केही दिनअघि मात्रै बाजेबाज्यैसँग बस्न आएका थिए । स्थानीय बासिन्दा र प्रहरीले पुरिएको अवस्थामा तीनै जनाको शव निकालेका थिए ।

दैलेखमा तीन गम्भीर घाइते

त्यस्तै, पहिरोले घर पुरिँदा दैलेखको ठाँटीकाँध गाउँपालिका–३ विशाला खुडखुडीका तीन जना गम्भीर घाइते भएका छन् । उनीहरूको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति आएको पहिरोले स्थानीय रंगबहादुर आलेको घर पुरिँदा उनीसँगै पत्नी चन्द्रा र करिब १६ बर्षिया छोरा घाइते भएका छन् । चन्द्राको ढाड भाँचिएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर शाहीले बताए । शाहीका अनुसार रत्नबहादुर र उनका छोराको अवस्था पनि गम्भीर छ ।

घाइतेको उद्धारका लागि प्रहरी टोली शुक्रबार दिउँसो ३ बजे मात्रै गाउँमा पुगेको थियो । वर्षात्ले सडक पूरै भत्किएका कारण एम्बुलेन्स आउन नसकेपछि घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ ।

पहिरोका कारण अन्य १३ घर पनि उच्च जोखिममा रहेको स्थानीय हेमन्त दशौदीले बताए । लगातारको वर्षाले ठाँटीकाँध–३ बाहाकोट बजारका पाँच घर पनि जोखिममा रहेको वडाध्यक्ष शाहीले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७